काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ। सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको विराटनगरले तेस्रो खेलमा २ विकेटको जित निकालेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्ता दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको लुम्बिनीले १९१ रनको विशाल स्कोर खडा गर्न सफल भयो। यो एनपीएलकै उच्च स्कोर बनेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो।
१९२ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरमै विराटनगरले पहिलो विकेट गुमाउन पुग्यो। रेमन सिमोन्डको बलमा विराटनगरका ओपनर इस्मात आलम रोहितकुमार पौडेलबाट क्याचआउट हुन पुगे।
अर्का ओपनर लोकेश बमसँग मिलेर ७.१ ओभरमा ६२-२ को सन्तोषजनक अवस्थामा पुर्याएर मार्टिन गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट हुन पुगे। त्यसपछि आएका राजेश पुलामी र निकोलस किर्टनले बमलाई क्रिजमा साथ दिन सकेनन्। किर्टन साद बिन जफरको बलमा गोल्डन डकआउट हुँदा पुलामीले १० बलमा ४ रन बनाए।
९.४ ओभरमा विराटनगर ७२-४ को अवस्थामा हुँदा क्रिजमा आएका बसीर अहमदले लोकेशसँग मिलेर स्कोर माथि लैजाने प्रयास गरे। यसक्रममा यी दुईले ७७ रनको साझेदारी गरे। बसीर १६.२ ओभरमा दुर्गेश गुप्ताको बलमा बेन कटिङबाट क्याचआउट भए।
विशाल लक्ष्य पछ्याएको विराटनगरको मोमेन्टम बनाएका लोकेश बम उत्कृष्ट इनिङ् खेल्दै १७.४ ओभरमा आउट भए। उनले ४७ बलमा ३ चौका र ६ छक्काको सहायतामा ७१ रन बनाए।
बमपछि आएका प्रतिश जिसी ३ बलमा ६ रन बनाउँदै गुप्ताबाटै बोल्ड आउट भए।
अन्तिम ओभरमा विराटनगरलाई जिताका लागि १५ रनको आवश्यकता थियो। जसमा सुरुका दुई बल विवेक यादवले वाइड फाले। १९.१ ओभरमा कप्तान सन्दीप लामिछाने यादवको बलमा क्याचआउट हुन पुगे। अर्को बल डट गयो। १९.३ ओभरमा क्रिस सोलले छक्का प्रहार गरे। यस्तोमा तीन बलमा ७ रनको आवश्यकता थियो। १९.४ ओभरमा सोलले चौका प्रहार गरे। अन्तिम दुई बलमा विराटनगरलाई तीन रनको आवश्यकता थियो। जसमा सोलले चौका प्रहार गर्दै विराटनगरको पहिलो जित सुनिश्चित गरे।
लुम्बिनीको इनिङ्स
सुरुवाती ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो। यो जारी एनपीएलकै ठूलो स्कोर हो। यसअघिको उच्च स्कोर सुदूरपश्चिमको नाममा थियो। सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १८२ रन बनाएको थियो।
विराटनगरले लुम्बिनीको चारवटा विकेट रनआउटबाट लिन सफल भयो। लुम्बिनीले पहिलो विकेट ३.१ ओभरमा गुमाएको थियो। क्रिजमा रहेका दुई ओपनर अर्जुन साउद र आशुतोष घिरैयाबीच असमझदारी हुँदा १५ रन बनाएका घिरैया रनआउट हुन पुगे।
त्यस्तै साउद १७ रन बनाएर इस्मात आलमको बलमा ७.२ ओभरमा बोल्डआउट हुन पुगे।
तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र टम मुर्सबीच ६७ रनको साझेदारी भयो। १२.५ ओभरमा पौडेल २९ बलमा सर्वाधिक ४६ रन बनाउँदै ठूलो सट खेल्ने सुरमा बाउन्ड्री लाइनमा क्याचआउट भए।
त्यस्तै मुर्स ३० रन बनाएर १३.४ ओभरमा रनआउट हुन पुगे। त्यसपछि आएका सुन्दीप जोरा पनि १२ रन बनाएर रनआउट नै भए।
१८.२ ओभरमा सन्दीप लामिछानेले साद बिन जफरलाई मार्टिन गुप्टिलबाट क्याचआउट गराए। जारी प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पुगेर लामिछानेले पहिलो विकेट लिएका हुन्। त्यसैको दुई बलपछि बेन कटिङ पनि ६ रन बनाएर रनआउट भए।
त्यसपछि आएका फिनिसर विकेट यादवले विस्फोटक इनिङ खेले। उनले ७ बलमा तीन छक्का प्रहार गर्दै १९ रन बनाएर अविजित रहे। त्यस्तै रेमन सिमोन्ड्स २ रनमा अविजित रहे।
विराटनगरका सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामीले समान १ विकेट लिए।