
सांघाई । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए। चिनियाँ राष्ट्रपति सि चिनफिङ प्रधानमन्त्री लि छ्याङदेखि २०औं सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समिति र १४औं राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको अध्यक्ष चाओ लचीसँग भेटवार्ता गरे। भेटवार्ताका क्रममा चिनियाँ नेताहरुले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको दोहोर्याएका छन्।
दिउँसो स्टेट गेस्ट हाउसमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति नेपालसँगको सहकार्यको रणनीतिक साझेदारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, असल मित्र र असल साझेदार भएको तथा दुई देशले एकअर्कालाई सदैव इमान्दारीपूर्वक व्यवहार गरेको, सम्मान गरेको र एकअर्कालाई सहयोग गरेको तथा द्विपक्षीय सम्बन्धले स्वस्थ र स्थिर विकास कायम गरेको उल्लेख गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै आगामी वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ मनाइँदै गर्दा सहयोग तथा भ्रमण आदानप्रदान लाई अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
‘चीनले आफ्नो छिमेक कूटनीतिमा चीन-नेपाल सम्बन्धलाई महत्वपूर्ण स्थानमा राखेको छ,’ राष्ट्रपति सिको भनाइ उदृत गर्दै विदेश मन्त्रालयले भनेको छ, ‘कूटनीतिक सम्बन्ध स्थापना गर्ने, परम्परागत मित्रतालाई मजबुत बनाउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ।’
उनले विकास र समृद्धितर्फ उन्मुख हुने भावी पुस्ताका लागि मित्रताको चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारीको नयाँ र बृहत्तर विकासलाई प्रबर्दधन गर्ने आकांक्षा समेत ब्यक्त गरेका छन्।
राष्ट्रपति सीले नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको बाटो रोज्नुलाई चीनले सम्मान गर्ने समेत बताएका छन्। ‘राष्ट्रपति सिले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सहयोग गर्ने, रणनीतिक पारस्परिक विश्वासलाई निरन्तर सुदृढ तुल्याउन र एकअर्काको मूल हितसँग सम्बन्धित विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो,’ विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ।
उनले चीन–नेपाल ट्रान्स हिमालयन त्रिआयामिक कनेक्टिभिटी नेटवर्कको निर्माण क्रमिक रुपमा एउटा विचारबाट वास्तविकतामा परिणत हुँदै गएको भन्दै खुसी व्यक्त गरेका छन्। चीन नेपालसँग व्यवहारिक सहयोगलाई अझ प्रगाढ बनाउन, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोग निर्माण गर्न, बन्दरगाह, यातायात, पावर ग्रीड र दूरसञ्चारमा सहयोग सुदृढ गर्न, नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्न सहयोग गर्न तयार रहेको राष्ट्रपति सिले प्रतिवद्धता जनाएका छन्। साथै उनले नेपालको आर्थिक र सामाजिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने र चिनियाँ उद्यमीलाई नेपालमा लगानी तथा व्यापार गर्न प्रोत्साहित गर्न तयार रहेको बताएका छन्।
चीनले सन् २०२५ लाई चीनमा ‘नेपाल पर्यटन वर्ष’ का रुपमा घोषणा गरेको भन्दै उनले चीनमा व्यापार, पर्यटन र अध्ययन का लागि नेपालीहरुलाई स्वगत गरेको बताए। उनले विकासशील राष्ट्रहरूको साझा हितको रक्षाका लागि संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय तहमा नेपालसँग बहुपक्षीय समन्वय र सहयोगलाई सुदृढ तुल्याउन पनि चीन तयार रहेको समेत बताए।
त्यस्तै द्विपक्षीय भेटवार्ताका क्रममा चिनियाँ प्रधानमन्त्री लिले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणका क्रममा स्थापित रणनीतिक साझेदारीले दुई पक्षबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको सशक्त विस्तार भएको बताएका छन्।
दुई देशका नेताबीच भएका महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्न, राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ र प्रगाढ बनाउन, चीन–नेपाल सम्बन्ध र सहयोगको निरन्तर विकासलाई बढवा दिन र दुई देशका जनतालाई अझ बढी लाभ पुर्याउन साझा भविष्यसहितको घनिष्ठ चीन–नेपाल समुदाय निर्माण गर्न चीन नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको बताएको विदेश मन्त्रालयले जनाएको छ।
साथै उनले नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्ग पहिल्याउन चीनले दृढतापूर्वक साथ दिएको र नेपालसँग विकास रणनीतिको समन्वयलाई मजबुत बनाउन तयार रहेको बताएका छन्। उनले दुई देशबीच उच्चस्तरीय बेल्ट एण्ड रोड सहयोगको नेतृत्वदायी भूमिकालाई पूर्ण निर्वाह गर्न इच्छा व्यक्त गरेका छन्।
उनले राष्ट्रपति सिको घोषणा अनुरुप नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रुपान्तरण गर्न बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन र सञ्चारको कनेक्टिभिटीलाई सुदृढीकरण गर्न चीनले सहयोग गर्ने बताए। साथै उनले शक्तिशाली चिनियाँ उद्यमहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरी नेपालबाट थप उच्च गुणस्तरका उत्पादन आयात गर्न इच्छुक रहेको बताएको विदेश मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री लिले कूटनीतिक सम्बन्ध स्थापना को ७०औं वर्षगाँठको उपलक्ष्यमा दुवै पक्षले संयुक्त रूपमा स्मरणीय गतिविधिहरूको शृङ्खला आयोजना गर्नुपर्ने प्रस्ताव समेत राखेका छन्। उनले पर्यटन, शिक्षा र चिकित्सा सेवामा जनस्तरको आदानप्रदान र स्थानीय सहयोगलाई प्रगाढ बनाउँदै दुई देशका जनताबीच अझ बढी पारस्परिक समझदारी लाई बढवा दिनुपर्ने बताएका छन्।
उनले चीनले नेपाललाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा ठूलो भूमिका निर्वाह गर्न सहयोग गर्दै बहुपक्षीय क्षेत्रमा नेपालसँग समन्वय र सहयोगलाई मजबुत बनाउन तयार रहेको समेत बताए ।
यता प्रधानमन्त्री ओलीले दुबै नेतासँगको भेटमा चिनियाँ राष्ट्रपति सि र राजनीतिक नेतृत्वको प्रसंसा गरेका छन्। राष्ट्रपति सि चिनफिङको बुद्धिमत्तापूर्ण नेतृत्वमा चीनले अथाह विकास उपलब्धि हासिल गरेको र यसलाई मानव प्रगतिको इतिहासमा चमत्कार भन्न सकिने बताएका छन् ।
नेपाल र चीनबीच मित्रता मात्र छ, कुनै समस्या छैन र दुई देशबीचको सम्बन्ध मित्रता, समानता र सम्मानमा आधारित छ । नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित मुलुकमा रूपान्तरण गर्न सहयोग पुर्याएकोमा चीनलाई धन्यवाद दिए। उनले नेपाल बीआरआईमा सक्रिय सहभागिता जारी राख्न, नेपालमा लगानी गर्न थप चिनियाँ उद्यमहरूलाई स्वागत गर्न र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक भएको समेत बताए।
साथै तिब्बत र ताइवान दुवै चीनको भूभागका अविभाज्य अङ्ग हुन् र नेपाल एक चीन नीतिको अविचलित रूपमा पालना गर्ने प्रस्ट पारे। साथै उनले कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन र चीनको हितमा हानी पुर्याउन नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याए। ‘चीनको आन्तरिक मामिलामा कुनै पनि विदेशी हस्तक्षेपको विरोध गर्दछ,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ।
साथै ओलीले चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) र अन्य महत्वपूर्ण पहलहरूको शृङ्खला वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थिति र विश्वव्यापी चुनौतीहरूमा मानवजातिको संयुक्त प्रतिक्रियाका लागि अनुकूल रहेको बताए। साथै उनले नेपाल विश्वव्यापी दक्षिणको साझा हितको रक्षा गर्न चीनसँग बहुपक्षीय सहयोग सुदृढ गर्न तयार रहेको बताएको मन्त्रालयको वक्तव्यमा उल्लेख छ।