काठमाडौंं। ऊर्जा मन्त्रालयका केही कर्मचारी सोमबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगे। ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा ती कर्मचारी प्राधिकरण पुगेका थिए।
उनीहरु प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग परामर्श गर्न गएका थिएनन्। ती कर्मचारी ऊर्जामन्त्रीको कार्यकक्ष बनाउनका लागि कोठा हेर्न पुगेका थिए।
ऊर्जामन्त्री खड्काले आफ्ना लागि प्राधिकरणमा कार्यकक्ष बनाउन चाहेका छन्। उनको त्यही चाहना अनुसार मन्त्रालयका कर्मचारी कोठा हेर्न पुगेका हुन्।
ऊर्जामन्त्री प्राधिकरण संचालक समितिका अध्यक्ष हुन्। तर, कार्यकक्ष नै बनाएर ऊर्जामन्त्री प्राधिकरणमा बस्न खोजेको यो इतिहासमै पहिलो पटक हो।
ऊर्जामन्त्रीका लागि कार्यकक्ष बनाउन भन्दै मन्त्रालयका कर्मचारी कोठा हेर्न आएपछि प्राधिकरणका कर्मचारी आश्चर्यमा परे। उनीहरु एकछिन मन्त्रालयका कर्मचारीको कुरा सुनेर अलमलमा परेका थिए।
‘प्राधिकरण स्थापना भएको ४० वर्षको अवधिमा यसरी ऊर्जामन्त्रीको कार्यकक्ष राख्ने भनेर सुनेका थिएनौं,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘एकाएक मन्त्रालयको टोली आएर मन्त्रीज्यूलाई कोठा चाहियो भनेपछि हामी एकछिन अक्क न बक्क भयौं।’
मन्त्रालयबाटै कर्मचारीको टोली आएपछि मन्त्रीको कार्यकक्ष निर्माणका बारेमा छलफल भएको स्रोतले बतायो। मन्त्री खड्काका लागि कोठाको प्रबन्ध गरेर कार्यकक्ष भव्य बनाउनेबारेमा छलफल भएको छ।
किन बस्न खोज्दैछन् प्राधिकरणमा ?
ऊर्जामन्त्री खड्काले सुरुदेखि नै कुलमानलाई चेक गर्न खोजिरहेका छन्। खड्काले आफूले ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेको केही समयमै ऊर्जा विज्ञको रुपमा प्रवल अधिकारीलाई ल्याएका थिए।
उनले अधिकारीमार्फत कुलमानलाई चेक गर्न खोजे। तर, अधिकारीमार्फत प्राधिकरणमा खड्काले गर्न खोजेको चेक सम्भव भएन। प्राधिकरणका कुनैपनि कर्मचारीले अधिकारीलाई पत्याएनन्।
त्यसपछि ऊर्जामन्त्री खड्काले कुलमानसँग मिलेरै काम गर्ने योजना बनाए। मिलेर काम गर्ने भनेको केही समयमै खड्काले कुलमानलाई प्राधिकरणभित्रका कर्मचारीको सरुवाको लिस्ट थमाए। त्यो लिस्ट अनुसार कुलमानले कर्मचारी सरुवा गर्न मानेनन्। आफ्नो लिस्ट अस्वीकृत भएपछि खड्काकुलमानप्रति आक्रोशित बने।
आफ्नो सचिवालयले तयार पारेको सूची अनुसार खड्काले सिंचाईका कर्मचारी सरुवा गरे। सरुवासँगै सिंचाई अन्तर्गतका ठेक्कापट्टामा समेत खड्काले राम्रै रुची राखे।
सिंचाईमा जस्तै प्राधिकरणमा पनि सरुवा गर्ने मनसुबामा खड्का थिए। सिंचाई अन्तर्गतका कर्मचारीको सरुवा सजिलै हुने तर प्राधिकरणमा आफूले भनेअनुसार नहुने भन्दै खड्काले कुलमानविरुद्ध जेहाद नै छाड्न थाले।
त्यसपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा कुलमानलाई हटाउने तयारी ऊर्जा मन्त्रालयमार्फत नै भयो। विज्ञ अधिकारीको सुझावमा ऊर्जामन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण सोध्ने काम भयो।
तर, राजनीतिकरुपमा बलिया कुलमानसामु खड्काको केही चलेन। स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुलमानलाई तत्काल नचलाउँ भनेपछि खड्का पछि हट्न बाध्य भए।
खड्काले कुलमानलाई चेक गर्ने योजना भने अगाडि बढाए। त्यही योजना अनुसार उनी प्राधिकरणमा आफ्नो कार्यकक्ष बनाएर बस्न खोजेका हुन्।
स्रोतका अनुसार उनले प्राधिकरणमा साताको केही दिन केही घण्टा बसेर कुलमानलाई देखाउन चाहेका छन्। तर, कुलमानलाई देखाउन खोज्ने नाममा उनी आफैं विवादमा तानिएका छन्।
‘मन्त्रीज्यू एकपछि अर्को गर्न नहुने काममा लाग्नुभएको छ। मन्त्रालयका सचिव सुरेश आचार्य र ऊर्जा विज्ञ अधिकारीको सल्लाहमा आफूलाई सक्ने काम गरिरहनुभएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘यसले स्वयं उहाँको र नेपाली कांग्रेस पार्टीको साख गुम्छ।’