काठमाडौं। पछिल्लो केही समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातिको समयमा उडान भइरहेको छैन। गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राती १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेशनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको काम भइरहेको छ।
ट्याक्सी वे विस्तारको उद्देश्य विमानस्थलमा हुँदै आएको एयर ट्राफिक कन्जेशन २० प्रतिशतले कम गर्नु हो। जसका लागि अहिले रातिदेखि बिहानसम्म धमाधम काम भइरहेको छ।
रात्रीकालीन कामका लागि १०० जनाभन्दा बढी जनशक्ति परिचालन भइरहेको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले बताए।
‘अहिले तीन वटा काम एकैपटक भइरहेको छ। दक्षिण-पश्चिमतर्फ प्यारलल ट्याक्सी वेको काम भइरहेको छ। पूर्वतिर ह्याङ्गर डेभलोपमेन्टको काम भइरहेको छ,’ उनले भने,’उत्तर-दक्षिणतर्फ इन्टरनेशनल एप्रोन र ट्याक्सीवेको काम भइरहेको छ।’
यी तीन वटै काम रनवेबाट ७५ मिटर दुरी र अपरेशन एरियासँग जोडिएको उनले जानकारी दिए।
‘अहिले काम धमाधम भइरहेको छ। जमिन मुनिको काम हो। खनेर हेर्दा पानी निस्किएको अवस्थामा अतिरिक्त समयम लाग्ने हो। तर, अहिले सम्म त्यस्तो देखिएको छैन,’ उनले भने ,’१० फीटभन्दा बढी गहिरो खाल्डो खनेर विभिन्न चरणमा माटो हाल्दै पुर्दै कम्प्याक्सन गरिरहेका छौं। ट्याक्सी वेको अन्तिम चरणमा कालोपत्रे गरिन्छ, एप्रोनमा ढलान गरिनेछ।’
क्यानले एयर ट्राफिक कन्जेसन कम गर्नका लागि ट्याक्सी-वे विस्तार अगाडि बढाएको हो। धावनमार्गको मध्य भागबाट चारैतिर ७५ मिटर ट्याक्सी-वे विस्तारको काम भइरहेको छ। ७ वटा ट्याक्सी-वेलाई धावनमार्गसँग जोड्ने क्यानको तयारी छ।
ट्याक्सी वे विस्तारको काम एभिक इन्टरनेशनलले गरिरहेको छ। यो आयोजना सवा सात अर्ब लागतको हो। ट्याक्सी वे विस्तारको काम सकिएपछि धावन मार्गको क्षमता २० प्रतिशतले बढ्ने र एयर ट्राफिक कन्जेसन कम हुने भनिएको छ।
यही विस्तारको कामको अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल पुगे। उनले निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरे।
अनुगमनमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको बताउँदै निर्धारित समयमै काम सकिनेमा आशावादी रहेको बताए। उनले काम सम्पन्न भएपछि विमानस्थलको उडान प्रभावकारी र गुणस्तरीय हुने विश्वास व्यक्त गरे।
त्यस क्रममा पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।
‘विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिनेछ,’ उनले भने।