काठमाडौं। नेपाल टेलिकमको ५० र १०० रुपैयाँको रिचार्ज कार्ड अभावलाई संचार तथा सूचना प्रविधि मन्त्रालयले गम्भीर रुपमा लिएको छ।
रिचार्ज कार्ड अभावको जानकारी पाएलगत्तै संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले संचार सचिव राधिका अर्यालसहित टेलिकमका उच्च अधिकारीसँग छलफल गरेका छन्।
मन्त्रालय स्रोतका अनुसार मन्त्री गुरुङले रिचार्ज कार्ड अभावबारे छानबिन समिति गठन गर्न निर्देशन दिएका छन्। ‘दूरदराजमा सबैभन्दा बढी चाहिने कार्ड अभाव बनाएर कसलाई सहयोग गर्न खोजिएको हो?,’ मन्त्री सुब्बाको भनाई उद्धृत गर्दै एक कर्मचारीले भने, ‘यो हदैसम्मको लापर्बाही हो। तत्काल छानबिन समिति गठन गरेर यथार्थ बाहिर ल्याउने काम गर्नुस्।’
आइतबारको छलफलमा मन्त्री सुब्बाले ५० र १०० रुपैयाँको रिचार्ज कार्ड अभाव गराएर निजी सेवा प्रदायकलाई प्रत्यक्षरुपमा फाइदा पुर्याउने काम गरेको आशयको अभिव्यक्ति दिए।
मन्त्री गुरुङ कडा रुपमा प्रस्तुत भएपछि सचिव अर्यालले रिचार्ज कार्ड अभाव हुनुको कारण पत्ता लगाउने जवाफ दिएको स्रोतले बतायो।
टेलिकमका एक कर्मचारीका अनुसार रिचार्ज कार्ड अभाव हुने जानकारी उच्च व्यवस्थापनलाई तीन महिनाअघि नै भइसकेको थियो। तर, टेलिकमको संचालक समिति र उच्च व्यवस्थापनले रिचार्ज कार्ड अभाव हुने विषयलाई गम्भीररुपमा लिएन।
समयमै रिचार्ज कार्ड नछाप्दा अहिले दुर्गममा रहेका उपभोक्ता मर्कामा परेका छन्। समयमा रिचार्ज गर्न नपाएमा अर्को कम्पनीमा स्वीच हुने सम्भावना रहन्छ। त्यसले टेलिकमको व्यापार झन् घट्ने र निजी सेवा प्रदायकलाई प्रत्यक्षरुपमा फाइदा हुनेछ।
स्रोतका अनुसार अनलाइनमार्फत रिचार्ज गर्नेको संख्या बढेपनि टेलिकमको मात्र दैनिक सरदर ४ करोड रुपैयाँ बराबरको रिचार्ज कार्डमार्फत हुँदै आएको छ। ‘चार करोडमा पनि धेरै रिचार्ज ५० र १०० रुपैयाँको हुने गर्छ,’ ती कर्मचारीले भने, ‘अभाव हुनेबित्तिकै अर्को कम्पनीको सीम किनेर चलाउने सम्भावना बढी हुन्छ।’
टेलिकमका प्रवक्ता हरि ढकालले कार्ड अभाव रहेको स्वीकार गरेका छन्। उनले आपूर्ति गर्ने कम्पनीले अर्डर अनुसार उपलब्ध गराउन नसकेका कारण ५० र १०० रुपैयाँको कार्ड अभाव भएको बताए।
टेलिकमले रिचार्ज कार्ड छाप्ने जिम्मेवारी दिएका कम्पनी मिराज प्रिन्टिङ र स्प्रिन्ट प्रिन्टिङ हुन्। सुरुमा स्प्रिन्टले आफ्नो मेसिन बिग्रिएको बताएकामा अहिले मिराजले पनि मेसिन नै बिग्रिएको कारण देखाएर कार्ड कम संख्यामा उपलब्ध गराएको उनको भनाइ छ।
रिचार्ज कार्डकै एजेण्डामा बोर्ड बैठक
रिचार्ज कार्ड अभावका बारेमा छलफल गर्न टेलिकम संचालक समितिको बैठक अहिले केहीबेरमा बस्दैछ। संचार सचिव अर्यालले रिचार्ज कार्डको अभाव भएको जानकारी पाएलगत्तै बैठक डाकेकी हुन्।
‘मैले पनि तपाईंहरुबाट रिचार्ज कार्ड अभाव भएको जानकारी पाएँ। त्यसपछि टेलिकम व्यवस्थापनलाई बैठक राख्नुस् भनेको छु’, उनले बिजमाण्डूसँग भनिन्, ‘बैठकबाट सत्यतथ्य बाहिर आउला।’
स्रोतका अनुसार गाउँमा रिचार्ज कार्ड अभाव भएको १५ दिनभन्दा बढी भइसकेको छ। त्यो जानकारी आएपछि पनि टेलिकमले यसलाई गम्भिरतापूर्वक नलिएपछि प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारमा उजुरी परेको छ। उजुरी परेपछि मात्र संचार मन्त्रालयले यो मुद्दालाई गम्भीर रुपमा लिएको स्रोतले बतायो।
तत्काललाई सयभन्दा माथिकोमा बोनस
टेलिकमले ५० र १०० रुपैयाँको रिचार्ज कार्ड अभाव भएपछि ‘फेस सेभिङ’का लागि २०० रुपैयाँमा बोनस दिने बारेमा छलफल भएको छ।
स्रोतका अनुसार २०० रुपैयाँसम्मकोलाई बोनस दिनेबारेमा व्यवस्थापनमा छलफल भएको हो। ‘व्यवस्थापनको लापर्बाहीबाट भएको यस्तो गम्भीर विषयलाई डाइभर्ट गर्नका लागि बोनसको विषय अगाडि आएको छ,’ एक कर्मचारीले भने, ‘अहिलेको अभावलाई विषयान्तर गर्न खोजेर व्यवस्थापन उम्किन खोजेको देखिन्छ।’