
काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तीन दिन लगाएर रविको बयान लिएको हो।
उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम ठगीमा बयान लिन बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबार बयान सुरु गरिएकामा सोमबार बल्ल सकिएको छ।
सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद संजेलले बयान लिने काम सकिएको जानकारी दिए।
‘बयान लगभग सकिएको छ। अन्तिम चरणमा प्रुफ हेरिरहेका छौं। बयान कागजमा सहीछाप गराएपछि काम सकिन्छ ‘ संजेलले भने। रविलाई मंगलबार पोखरा पठाउने तयारी छ।
रविले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। उनले आफू गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेपनि अध्यक्ष जीबी राईले कहाँबाट रकम ल्याएको भन्नेबारेमा थाहा नभएको बयान दिएको एक कर्मचारीले बताए।
पोखराको सूर्यदर्शन सहकारी ठगी गरेको आरोपमा रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। प्रहरीले डेढ महिना भइसक्दा पनि अनुसन्धान सकेको छैन।
यो बीचमा रविलाई सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि भन्दै बयानका लागि बुटवल लगिएको थियो। उनीमाथि चितवनको सहारा सहकारीको पनि रकम अपचलन गरेको आरोप छ।
जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेका कारण उनलाई काठमाडौंबाट पोखरा पठाएपछि चितवन ल्याउने तयारी छ।
वीरगंजमा रहेको सानो पाइला सहकारीको रकम पनि गोर्खा मिडियामा गएको देखिएको छ। तर, त्यहाँ अहिलेसम्म रविविरुद्ध उजुरी परेको छैन।