कार निर्माता कम्पनी स्टेलान्टिसका सीइओ कार्लोस ताभारेसले दिए राजीनामा

बिजमाण्डू
२०८१ मंसिर १७ गते १२:४८ | Dec 2, 2024
कार निर्माता कम्पनी स्टेलान्टिसका सीइओ कार्लोस ताभारेसले दिए राजीनामा
Photo: AP

कार निर्माता कम्पनी स्टेलान्टिसका सीइओ कार्लोस ताभारेसले पदबाट राजीनामा दिएका छन्। स्टेलान्टिसको अधीनमा क्रिसलर, भक्सहल, जीप, फियाट र पजो जस्ता ब्रान्डहरू छन्।

Tata
GBIME

ताभारेसले तत्काल लागू हुनेगरी राजीनामा दिएका हुन्। स्टेलान्टिसले नाफामा गिरावट आउने चेतावनी जारी गरेको दुई महिनापछि ताभारेसको आकस्मिक राजीनामा आएको हो।

गत हप्तामात्रै कम्पनीले लुटनस्थित आफ्नो भक्सहल भ्यान निर्माण कारखाना बन्द गर्ने योजना घोषणा गरेको थियो। जसबाट करिब १ हजार १०० जनाको रोजगारी जोखिममा परेको थियो।

स्टेलान्टिसका वरिष्ठ स्वतन्त्र निर्देशक हेनरी डे क्यास्ट्रिसले ताभारेसको राजीनामा घोषणा गर्दै भनेका छन्, ‘पछिल्ला केही हप्तामा विभिन्न विचारहरू उजागर भएका थिए, जसले बोर्ड र सीइओलाई आजको निर्णयसम्म ल्यायो।’

ताभारेसलाई विश्व मोटर उद्योगका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्येको एक मानिन्थ्यो। उनले पीएसए समूह र स्टेलान्टिसमा लागत कटौतीका लागि कठोर रणनीति अपनाएका कारण चर्चा पाएका थिए।

अटोमोटिभ न्यूजका एसिया सम्पादक हान्स ग्रीमेलले बीबीसीलाई भने, ‘उनी समस्यामा परेको कम्पनीलाई पुनःजागृत गर्न सक्षम व्यक्ति भनेर चिनिन्थे। तर आलोचकहरूले उनलाई अत्यधिक लागत कटौती गरेर उत्पादन ढिलाइ गरेको र गुणस्तरमा असर पुर्‍याएको आरोप लगाउँथे।’

ताभारेसले बेलायतमा भक्सहलको भविष्यमाथि पटक-पटक प्रश्न उठाएका थिए। उनले यसलाई ब्रेक्जिट र सरकारले विद्युतीय कार उत्पादनलाई अनिवार्य गर्ने योजनासँग जोडेर हेर्ने गरेका थिए।

लुटन प्लान्ट बन्द गर्ने योजनामा ताभारेसको राजीनामाले असर पार्ने/नपार्ने अझै स्पष्ट भइसकेको छैन।

हालैका महिनाहरूमा स्टेलान्टिसले बिक्री र नाफामा ठूलो गिरावट बेहोरेको छ। यो वर्षको सुरुदेखि हालसम्म कम्पनीको सेयर मूल्य ४० प्रतिशतले घटेको छ।

सेप्टेम्बरमा कम्पनीले ताभारेसको उत्तराधिकारी खोज्न थालेको बताएको थियो। यद्यपि, सन् २०२६ सम्म उनी पदमा रहने अपेक्षा गरिएको थियो।

कम्पनीले आगामी वर्षको मध्यसम्ममा नयाँ सीइओ नियुक्त गर्ने लक्ष्य राखेको छ। त्यतिन्जेलका लागि अध्यक्ष जोन एल्कानको नेतृत्वमा अन्तरिम कार्यकारी समिति गठन गरिने कम्पनीले जानकारी दिएको छ।