काठमाडौंमा रवि लामिछानेको बयान लम्बियो, स्वर्णलक्ष्मी सहकारीमा पनि इन्कारी जवाफ

बिजमाण्डू
२०८१ मंसिर १६ गते १६:४५ | Dec 1, 2024
काठमाडौंमा रवि लामिछानेको बयान लम्बियो, स्वर्णलक्ष्मी सहकारीमा पनि इन्कारी जवाफ
फाइल तस्बिर।


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लम्बिएको छ। आइतबार बयान सक्ने तयारी भए पनि पूरक प्रश्नको कारण बयान लम्बिएको हो।

Tata
GBIME
NLIC

शुक्रबारबाट बयान सुरु गरिएको थियो। तर शनिबार सार्वजनिक बिदा भएकाले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बिहानैदेखि उपस्थित गराएर बयान गरिएको हो। सोमबार भने बयान सकिने देखिएको छ।

‘आजको बयान सकियो। तर भोलिलाई केही बाँकी छ। सम्भवतः भोलि बयान सकिन्छ,’ सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र प्रसाद संजेलले भने।

अहिलेसम्मको बयानमा लामिछानेले सहकारी ठगीमा इन्कारी बयान दिएका छन्। गोर्खा मिडियामा आएको रकमबारे आफूलाई थाहा नभएको बयान दिएको बयानमा सहभागी एक कर्मचारीले बताए। गोर्खा मिडियामा आएको रकमबारे जीवी राईलाई थाहा हुने लामिछानेले बताएका हुन्।

लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको ठगीमा बयान गर्न बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीबाट रकम गएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेविरुद्ध पोखरामा सूर्य दर्शन सहरकीमा पूरक अनुसन्धान भइरहेको छ। त्यस्तै, बुटवलको सुप्रिम सहकारीको रकम पनि अपचलन भएको भन्दै बयानका लागि त्यहाँ लगिएको थियो। काठमाडौंबाट बयान सकिएर चितवनको सहारा सहकारीको रकम अपचलनमा बयान लिन त्यहाँ लैजानै तयारी भइरहेको छ।

लामिछानेभन्दा केही दिनअघि समातिएका गोर्खा मिडियाका अर्का संचालक पूर्वडीआइजी छविलाल जोशीलाई भने काठमाडौंमा ल्याएर बयान सकिएपछि पोखरा लगिएको थियो। सोमबार मात्र उनलाई चितवन लगिने छ। उनी पनि सहारा सहकारी ठगी प्रकरणमा अनुसन्धानमा तानिएका छन्।

वीरगंजमा रहेको सानो पाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम गएको देखिएको छ। तर त्यहाँ अहिलेसम्म लामिछानेविरुद्ध उजुरी परेको छैन। त्यसैले त्यहाँबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन।