काठमाडौं। स्थानीय तहमा रिक्त ४१ पदहरुका लागि मुलुकका विभिन्न स्थानमा आइतबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।
निर्वाचन आयोग प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार चुनाव भइरहेका क्षेत्रमा २ लाख २६ हजार ७ सय ९९ जना मतदाता छन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षका लागि मतदान जारी छ। उक्त वडाको मतदान केन्द्रमा पुगेर उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन्।
हेटौंडा-१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ। मतदाता भोट खसाल्न उक्त वडाको प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेका छन्। सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
वडाध्यक्ष ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो। वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन्।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ। दुवै वडाबाट निर्वाचित वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो। वडा १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी–१ मा २ हजार ६ सय ३५ र वडा ४ मा १ हजार २ सय ८१ मतदाता छन्।
दैलेखको महावु गाउँपालिका अध्यक्षका पदका लागि दुई मतदान केन्द्रमा मतदान भइरहेको छ। ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गरेकी छन्। उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा छ। उक्त गाउँपालिकामा १२ हजार ६१४ मतदाता छन्।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान भइरहेको छ। सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावि, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्र छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा १ मा नौ र वडा ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन्।