केही वर्ष अघिसम्म मौद्रिक नीतिबार अनभिज्ञ जस्तै रहने सर्वसाधारण जनताले हिजोआज भने मौद्रिक नीति र यसका प्रत्येक त्रैमासिक समीक्षामाथि मिहीन नजर राख्न थालेका छन्। साथै, यस दस्तावेजले झल्काउने भविष्यको परिदृष्यबाट उनीहरूको आर्थिक क्रियाकलाप, जस्तैः लगानी, बचत, खर्च आदि धेर मात्रामा निर्देशित हुन थालेको आभास हुन्छ।
सेयर बजार मात्र नभएर २०८१ साउनको मौद्रिक नीतिपछि निर्माण क्षेत्र, व्यापार व्यवसाय, वित्तीय क्षेत्र, उत्पादन, सेवा, उद्योग क्षेत्र आदिमा तुलनात्मक रूपमा बढी उत्साह छाएको छ।
त्यसै अनुरूप, हालसालै विश्व बैंकले नेपाल विकास अपडेटमार्फत गरको प्रक्षेपणले आगामी दुई वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत र ५.५ प्रतिशत रहने देखाएको छ। यसरी मौद्रिक नीतिका पाठकहरू दिनानुदिन उल्लेख्यरूपमा बढ्दै गएका छन्।
कोभिडको समयमा नेपाल राष्ट्र बैंकद्वारा धेरै व्यक्ति र व्यवसायलाई कर्जा सहुलियत र छुटजस्ता प्रावधानमार्फत उल्लेख्य मात्रामा राहत प्रदान गरकाले पनि यसले ल्याउने नीतिगत दस्तावेजमा आमचासो बढ्दै गएको प्रतीत हुन्छ।
तसर्थ, नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मौद्रिक नीति भाषागत रूपमा कति सरल र सरस छन् भन्ने कुरा अध्ययन अनुसन्धानका निम्ति एउटा चाखलाग्दो विषय हो।
विकासक्रम
सन् १९९० पूर्व केन्द्रीय बैंकहरूले लिने नीतिहरू अति नै गोप्य राखिनुपर्छ भन्ने मान्यता स्थापित थियो। फलतः केन्द्रीय बैंकद्वारा सरोकारवालासमक्ष उति धेर सूचना सम्प्रेषण गरिँदैनथ्यो। ती दिनहरूमा केन्द्रीय बैंकरलाई उनीहरू रहस्य, गोपनीयता र अस्पष्टता रुचाउँछन् भनेर उपहास गरिन्थ्यो (भाइद, २०१३; व्लीन्डर इट अल, २००८)।
अझ सन् १९८७ मा फेडेरल रिजर्भका अध्यक्ष एलन ग्रीनस्पानले त सो विषयको व्याख्या नै गरिदिए – ‘म एक केन्द्रीय बैंकर भएपछि मैले असंगत ढंगले गनगन गर्न सिकेको छु। यदि तपाईंलाई लाग्छ कि तपाईं मलाई बुझ्दै हुनुहुन्छ भने सम्झनुस्
तपाईं मलाई गलत बुझ्दै हुनुहुन्छ।’
यहाँ उनले भाषिक युक्तिको प्रयोग र जनतासँग सञ्चार गर्दा केन्द्रीय बैंकद्वारा सीमित सूचना मात्र सम्प्रेषण गर्ने पहिलेका केन्द्रीय बैंकहरूको अभ्यासलाई जनाएका हुन्। तर, सन् १९९० को दशकमा केन्द्रीय बैंक स्वायत्तताको अभ्यासको थालनी भएपछि भने केन्द्रीय बैंकलाई पारदर्शी बन्नुपर्ने बाध्यात्मक स्थिति आयो।
वैधताको सिद्धान्त (लेजिटिमेसी थ्योरी) अनुसार केन्द्रीय बैंकमा स्वायत्तताको अधिकारसँगै यथेष्ट रूपमा पारदर्शी हुनुपर्ने
जिम्मेवारी पनि सिर्जना भयो। केन्द्रीय बैंकको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रणका लागि स्वायत्तताका साथै पारदर्शिता पनि कायम गर्नुपर्ने भयो र अध्येताहरूले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका निम्ति उचित सञ्चारको महत्त्व दर्शाए। यस पृष्ठभूमिमा केन्द्रीय बैंकहरूले मौद्रिक नीति सार्वजनिक गर्न थालेका हुन्।
सन् २००७/०८ मा विश्वले बेहोरेको वित्तीय संकटले पनि केन्द्रीय बैंकहरूको सुशासन र पारदर्शिताको सवाललाई अझ बल पुर्याएको छ। हालैको कोभिड महामारीमा विश्वका धेरै केन्द्रीय बैंकहरूले असामान्य उपकरणको प्रयोग गरे। यसकारण पनि केन्द्रीय बैंकका नीति र प्रयोग हुने गरेका उपकरणको सान्दर्भिकता जनतामाझ प्रष्ट पारिनुपर्ने कुरा वैद्यताको सिद्धान्तले प्रमाणित गर्दछ।
तसर्थ, यस शोधमार्फत गरिएको केन्द्रीय बैंकद्वारा जारी मौद्रिक नीतिका दस्तावेजमाथिको भाषिक शोध चाखलाग्दो विषय
छ। मौद्रिक नीतिको लम्बाइ, दायरा, भाव, भविष्यको विश्लेषण, भाषिक स्पष्टता अति सम्वेदनशील विषय हो। केन्द्रीय बैंकले
वास्तवमा कति मात्रामा सूचना सम्प्रेषण गर्नुपर्छ त? केन्द्रीय बैंकले भन्न खोजेका कुराको गलत अर्थ लागेमा यसले ठूलो आर्थिक क्षति निम्त्याउने भएकाले नीतिको भाषिक पक्षमा अत्यन्तै सजग रहनुपर्ने हुन्छ।
यही संवेदनशीलतालाई ध्यानमा राख्दै बैंक अफ इङ्गल्याण्डले आफ्ना नीतिको भाषिक बनोटलाई बैंकको शोधको एक प्रमुख
विषयमा राखेको छ। लुआङाराम र वोङ्गवाचारा (२०१७) ले सन् २००० देखि २०१५ सम्म २२ वटा केन्द्रीय बैंकको मौद्रिक नीति वक्तव्यहरूमा सञ्चारको प्रकृतिबारे बुझ्नका लागि कम्प्युटेसनल भाषाविज्ञानका उपकरण प्रयोग गरका थिए।
तीन प्रमुख पक्षहरू– पढ्न सजिलोपन, विषयवस्तुको सरलता र नीतिहरूको भाव अध्ययन गर्दा, केन्द्रीय बैंकको भाषा सामान्यतया उन्नत र पाठकलक्षित पाइयो। यसैगरी, बिनेट र चेबोटारभ (२०१९)ले बैंक अफ क्यानडाको मौद्रिक नीति प्रतिवेदनको पाठ्यविश्लेषण गरेका थिए।
त्यस अध्ययनले सार्वजनिक गरेका रिपोर्टहरू सामान्य क्यानडेली नागरिकका लागि बुझ्न अलि जटिल भएको औँल्यायो। कोएनन एट अल. (२०१८)ले एफके ग्रेड–स्तरको साङ्ख्यिकी प्रयोग गररे युरोपेली केन्द्रीय बैंकका मौद्रिक नीति वक्तव्यहरूको अध्ययन गरे। ती मौद्रिक नीतिहरू बुझ्न सजिलो भएको निष्कर्ष निकाले।
यसै पङ्क्तिमा, टुमाला र ओमोटोशो (२०१९), नाइजेरियाका केन्द्रीय बैंकका कर्मचारीहरूले, २००४–२०१९ अवधिका ८७
नीतिको विश्लेषण गर्न ‘टेक्स्ट माइनिङ’ प्रविधिको प्रयोग गरे। उनीहरूले मौद्रिक नीतिको पारदर्शिता समयक्रमसँगै वृद्धि भएको तर कोलम्यान र लियु (१९७५)को सूचकांकअनुसार नीति वक्तव्यहरूको शब्द र वाक्य संरचना जटिल हुँदै गएकाले नीतिको भाषिक सजिलोपन घटाएको देखियो।
अध्ययनले औसत १०.५ प्रतिशतको शुद्ध भावनात्मक स्कोर पत्ता लगायो, जसले नीति अनिश्चितताको स्तरलाई प्रतिबिम्बित
गर्छ। यसैगरी, जापानको केन्द्रीय बैंकको सञ्चालक समिति बैठकका माइन्युट्सको भाषिक बनोट र त्यसको वित्तीय बजारमा प्रभावको अध्ययन ओशिमा र मात्सुबायाशीले (२०१८) गरेका थिए।
यस अध्ययनले माइन्युट्समा उल्लेखित विषय र बजार प्रतिक्रियाबीच सम्बन्ध रहेको देखाएको छ। स्वीडेनका लागि एपेल र
ग्रिमाल्डी (२०१२)ले मौद्रिक नीति बैठकका प्रकाशित माइन्युट्सको विश्लेषण गरे। उनीहरूले पाठमा आधारित हकनेसको सूचकांक निर्माण गरी अध्ययन गर्दा स्वीडेनमा ब्याजदर बढ्ने कार्यहरू उच्च हकनेसको स्तरसँग सम्बन्धित भएको देखियो।
अध्ययन विधि
हालसालै मात्र प्रकाशित अनुसन्धान ‘ए टेक्सचुअल एनालाइसिस अफ मोनिटरी पोलिसी’मा आधारित यस लेखमा ‘टेक्स्ट माइनिङ’ प्रविधिको प्रयोग गरिएको छ। नेपाल राष्ट्र बैंकले सन् २००३ बाट २०२२ सम्म जारी गरेका २० वटा अङ्ग्रेजी भाषाका मौद्रिक नीतिका दस्तावेजमाथि पाइथन नेचुरल ल्याङ्गवेज टुलकिट प्रयोग गरी दस्तावेजको भाषिक संरचना विश्लेषण गरेको छ।
नीतिको भाव, दायरा, लम्बाइ, स्पष्टता मापन गर्नका लागि लग्रान–मेकडोनल्ड शब्दकोषलाई आधार मानिएको छ। यो प्रविधिको प्रयोग यसपूर्व विभिन्न अध्ययनमा अन्तर्राष्ट्रिय रूपमा नै गरिएको थियो। तर, अङ्ग्रेजी भाषामा मात्र आधारित भाषिक अध्ययन हुनु यस अध्ययनको सीमा छ।
नेपाली भाषामा प्रकाशित मौद्रिक नीतिको समेत अध्ययन गर्ने प्रयत्न गरिए तापनि विविध प्राविधिक कठिनाइले अध्ययनलाई अपूरो बनाएको छ। यद्यपि, अङ्ग्रेजी भाषामा प्रकाशित मौद्रिक नीतिको पाठकवर्ग बढ्दै गइरहेको परिप्रेक्ष्यमा यस अध्ययनको सान्दर्भिकता भने यथेष्ट देखिन्छ।
नतिजा विश्लेषण
सर्वप्रथम, नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरिएका मौद्रिक नीतिका पाण्डुलिपिहरू पठनको दृष्टिकोणले तुलनात्मकरूपमा सहज हुँदै गएको पाइएको छ। पहिले एक अङ्ग्रेजी वाक्यमा औसत २५ वटा शब्द रहने गरेकोमा हाल सुधार भई १८ वटामा झरेको छ।
यस्तै, मौद्रिक नीतिको लम्बाइ पहिले ९० पृष्ठभन्दा बढी हुने गरेकामा हाल औसत ४० पृष्ठको हाराहारीमा हुने गरेको छ। अमेरिकन प्रेस इन्स्टिच्युटको अध्ययनअनुसार एक वाक्यमा लगभग १४ वटा शब्द भयो भने पाठकले ९० प्रतिशतसम्म पढेका कुरा बुझ्दछन् र औसतमा ४३ वटा शब्द भयो भने १० प्रतिशतभन्दा पनि कम बुझ्छन्।
कुनै पनि दस्तावेज अधिक छोटो अथवा अधिक लामो हुनु राम्रो मानिँदैन। दस्तावेजहरू अधिक सानो भएमा सूचना पर्याप्त मात्रामा सम्प्रेषण नहुने जोखिम रहन्छ भने अधिक लामा नीतिहरू पठनका लागि असहज हुने भएर केही कुरा लुकाउनका निम्ति त्यसो गरिएको हुनसक्छ भनिन्छ। अर्थात्, धेर लामा नीतिहरू पाठकलाई झुक्याउन प्रयोग हुनसक्ने भनेर अध्ययनहरूले औँल्याएका छन्।
यस्तै, मौद्रिक नीतिको भावका सम्बन्धमा औसत दुई किसिमको प्रवृत्ति देखिएको छ। आर्थिकरूपमा संकटका वर्षहरूमा नीतिको औसत भाव नकारात्मक देखिएको छ। यहाँ भाव भन्नाले नीतिमा प्रयोग भएका सकारात्मक र नकारात्मक शब्दहरूको अनुपातको भिन्नतालाई लिइएको छ। आर्थिकरूपमा कमजोर प्रगति भएका वर्षहरूमा तत्तत् वर्षका नीतिको भाव
नकारात्मक रहेको देखिएको छ। जति धेरै आर्थिक शिथिलता भयो, उति नकारात्मक शब्दहरूको प्रयोग बढी रहेको पाइएको छ।
यस्तै, राम्रो आर्थिक वृद्धि हासिल भएका वर्षमा औसत भाव सकारात्मक रहेको पाइयो। अर्थतन्त्र समस्यासँग गुज्रिरहेको समयमा मौद्रिक नीतिले बढी सकारात्मक भाव प्रस्तुत गर्नुपर्दछ भन्ने स्थापित मान्यता छ। यो नेपाल राष्ट्र बैंकको हकमा मात्र नभएर बैंक अफ क्यानडाले गरेको अध्ययनमा समेत अर्थतन्त्रमा गहिरो चोट पुर्याउने गरी घटेका केही मुख्य आर्थिक घटनाहरू जस्तैः ‘सेप्टेम्बर ११ को आतंक’, विश्व वित्त संकटले विश्वभरका मौद्रिक नीतिहरूको भाव नकारात्मक बनाउने गरेको देखाएको छ।
अर्थतन्त्र शिथिल रहेको अवस्थामा आशाको सञ्चार गरेर अर्थतन्त्रलाई चलायमान बनाउने दायित्व केन्द्रीय बैंकको हुन्छ। थप, यस अध्ययनमा मौद्रिक नीति कति भविष्यमुखी छ भन्ने विश्लेषण गरियो। र, दस्तावेजको दूरदर्शिता मापन गर्ने सूचकांक निर्माण गरियो। सो सूचकांकअनुसार नेपालको मौद्रिक नीतिहरूको स्कोर ०.०१ देखि ०.०३३ को बीचमा रहेको पाइयो, जुन अन्तर्राष्ट्रिय रूपमा प्रचलित मानकको तुलनामा अलिक कम हो।
नीतिहरूमा भविष्यका बारेमा जति पछाडिसम्मको चर्चा र विश्लेषण गरिन्छ, लगानीकर्ताले भविष्यको बारेमा उति नै राम्रो भविष्यवाणी गर्न सक्छन् र जोखिम व्यवस्थापन चुस्त दुरुस्त हुन सक्छ। यस्तै, मौद्रिक नीतिको सङ्ख्यात्मक अनुपात, अर्थात् वाक्यहरूको अनुपातमा सङ्ख्याको प्रयोग, सन् २००३ मा ०.११ रहेकोमा सन् २०२२ सम्म आइपुग्दा ०.१७ भएको
छ।
सङ्ख्यात्मक सामग्री धेर भएका मौद्रिक नीतिहरू बुझ्न सजिला हुन्छन् भन्ने मान्यता स्थापित छ। यस अर्थमा, नेपालको मौद्रिक नीति सन्तुलित छ। आर्थिक र वित्तीय दस्तावेजहरू विश्लेषण गर्न प्रयोग गरिने गनिङ फग सूचकांकले हाम्रा मौद्रिक नीतिहरूको स्कोर १५.९६ बाट क्रमशः घट्दै हाल १२.१७ रहेको देखाउँछ।
सो सूचकांकका निर्माताका अनुसार पठनीयताको अंक ७ अथवा ८ रहेका लेखहरू बुझाइमा सरल हुन्छन्, तर १२ भन्दा धेरै अंक आउने दस्तावेजहरूको बुझाइमा समस्या रहन्छ। जसको अर्थ, अङ्ग्रेजी भाषामा अनुवादित नेपालको मौद्रिक नीतिमा केही मात्रामा जटिल शब्दहरूको प्रयोग गरिने भएकाले पठनमा कठिनाइ हुने देखिएको छ। यद्यपि, यो सुधारोन्मुख देखिन्छ।
निष्कर्ष
अन्त्यमा, सामाजिक सञ्जालहरूमा गलत सूचना, तोडमोड गरिएका सूचना र गलत उद्देश्यद्वारा सिर्जित सूचनाहरू व्याप्त रहेको आजको समयमा नेपाल राष्ट्र बैंकले आफ्नो विश्वसनीयतामा कहीँ कतैबाट प्रश्न चिह्न उठ्न नदिन आफ्ना प्रकाशनहरूको सञ्चार पक्षमाथि विशेष ध्यान दिइनुपर्दछ।
अङ्ग्रेजी भाषामा प्रकाशित मौद्रिक नीतिका पाठहरूको भाषिक बनोटमा समयक्रमसँगै केही सुधार हुँदै गए तापनि अझ केही सुधार गर्ने ठाउँहरू रहेको अध्ययनले देखाउँछ।
अङ्ग्रेजी भाषामा प्रकाशित मौद्रिक नीतिका अध्येताहरू दिनानुदिन बढ्दै गएको सन्दर्भमा बैंकले एक विज्ञहरू सम्मिलित सञ्चार टोली गठन गररे नीतिहरूको भाषिक संरचनाको मूल्यांकन गर्नु उपयुक्त हुने देखिन्छ।
(लेखक नेपाल राष्ट्र बैंकका सहायक निर्देशक हुन्। लेख नेपाल राष्ट्र बैंक समाचारबाट साभार गरिएको हो।)