प्रधानमन्त्री ओलीको चीन भ्रमण टोली जम्बो, राणा बाहेकका मन्त्री नलाने, टोलीमा को-को ?

बिजमाण्डू
२०८१ मंसिर १३ गते २०:०४ | Nov 28, 2024
प्रधानमन्त्री ओलीको चीन भ्रमण टोली जम्बो, राणा बाहेकका मन्त्री नलाने, टोलीमा को-को ?

काठमाडौं। ८७ सदस्यीय जम्बो टोलीको नेतृत्व गरेर चीन जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा बाहेकका मन्त्री भने नलाने भएका छन्।

Tata
GBIME
NLIC

ओलीले टोलीमा मन्त्रीहरुबाट परराष्ट्रमन्त्री राणालाई मात्र समावेश गरेका हुन्। ओलीको भ्रमणको तयारीका लागि राणा बिहिबार नै चीन गएकी छन्। उनी मंसिर १५ गते स्वदेश फर्किएर ओलीसँग फेरि जानेछिन्।

टोलीमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधि रहेको एक मन्त्रीले जानकारी दिए। बिहीबार साँझ बसेको बैठकले ओलीले मंसिर १७ गतेदेखि गर्न लागेको चीन भ्रमण स्वीकृत गरेको छ।

ओलीसँग उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा पनि जाने तय भएको अर्का मन्त्रीले बताए। ओलीको सचिवालयका सदस्य पनि भ्रमण टोलीमा छन्। प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि चीन जानेछिन्।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठलगायत व्यवसायी छन्। ‘निजी क्षेत्रका प्रतिनिधिको खर्च सरकारले बेहोर्दैन,’ ती मन्त्रीले भने। उनका अनुसार बैठकमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भने छलफल भएन।

‘बैठकमा बीआरआईबारे छलफल भएन। यसबारेमा कांग्रेस र एमालेबीच छलफल चलिरहेको कारण हुनसक्छ प्रधानमन्त्रीले बैठकमा प्रवेश नै गराउनुभएन,’ ती मन्त्रीले भने।

ओलीले चीन पुगेको भोलिपल्टदेखि उच्चस्तरीय वार्तामा सहभागी हुने जानकारी गराएका छन्।