१६ वर्ष मुनिका लागि सामाजिक संजाल चलाउन रोक्ने विधेयक अस्ट्रेलियन सिनेटबाट पारित

बिजमाण्डू
२०८१ मंसिर १३ गते २०:०२ | Nov 28, 2024
१६ वर्ष मुनिका लागि सामाजिक संजाल चलाउन रोक्ने विधेयक अस्ट्रेलियन सिनेटबाट पारित
Photo : Getty Images

अस्ट्रेलियाको सिनेटले १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक संजाल प्रयोग गर्न नपाउने विधेयक पारित गरेको छ। बीबीसीले यो विधेयकलाई विश्वकै कठोर कानुन मध्ये एक भनेको छ।

Tata
GBIME
NLIC

यो विधेयक अहिले नै भने लागू हुने छैन। यसको कार्यान्वयनका लागि कम्तीमा १२ महिनाको समय दिइनेछ।

सिनेटमा आज भएको मतदानमा विधेयकको पक्षमा ३४ मत परेको थियो भने विपक्षमा १९ मत परेको थियो। अब यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा जानेछ। तल्लो सदनमा पनि सरकारसँग बहुमत छ। यसको अर्थ यो विधेयक त्यहाँबाट पनि पारित हुने निश्चित छ। र, त्यसपछि मात्रै कानुनको रुपमा लागू हुनेछ।

यो लागू भएपछि कानुन उल्लंघन गरेको पाइएमा टेक कम्पनीहरुलाई ५० मिलियन अमेरिकी डलर (अहिले करिब सवा ४ अर्ब रुपैयाँ) सम्मको जरिवाना हुन सक्छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेसले युवा पुस्तालाई सामाजिक संजालबाट हुने क्षतिबाट बचाउनका लागि यो कानुन आवश्यक भएको बताए। तर, यसको कार्यान्वनयन पक्षमा भने सरोकारवालाहरुले प्रश्न उठाइरहेका छन्।

यो विश्वमा बालबालिकाहरुलाई सामाजिक संजालको प्रयोग गर्न रोक्न पहिलोपटक भएको प्रयास होइन। तर, अहिलेसम्मकै बढी उमेर तोकेर रोक लगाउने पहिलो कानुन हो।

अहिले कुन कुन प्लेटरफर्ममाथि यो रोक लागू हुने भन्ने केही खुलाइएको छैन। यो निर्णय पछि त्यहाँको संचार मन्त्रालयले गर्नेछ।