ग्रीनल्याण्ड भन्ने बित्तिकै तपाईंलाई के विचार आउँछ? धेरैलाई त्यहाँको चिसो र हिउँ याद आउँला। केहीलाई लाग्ला वैश्विक संजालबाट निकै टाढाको देश।
ग्रीनल्याण्डको राजधानी नुकमा २ हजार २०० मिटर रनवे भएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल खुल्दैछ। यो नयाँ विमानस्थलले आकर्टिक क्षेत्रमा रहेको ग्रीनल्याण्डलाई बाँकी विश्वसँग जोड्ने काम गर्नेछ। यसको अर्थ ग्रीनल्याण्डको राजधानी अब केही घण्टाको विमान यात्रामा नै पुग्न सकिन्छ।
ग्रीनल्याण्डमा यसअघि पनि क्रुज सिप र विमानबाट मानिस पुग्ने गरेका थिए। हरेक वर्ष करिब १ लाख ३० हजार पर्यटक पुग्ने गरेको तथ्याकं छ। अब पर्यटकका लागि खुला भएसँगै यो संख्या बढ्ने अनुमान गरिएको छ।
यसअघि विमानबाट यात्रा गरेर ग्रीनल्याण्ड पुगे पनि साना सहरहरुमा मात्रै जान पाइन्थ्यो। कन्गरलुगुवाग र नरसरगुवागमा दोस्रो विश्व युद्ध बनेको मिलिटरी बेसमा विमानहरु अवतरण गर्न सक्षम थिए। अब भने नयाँ विमानस्थले ग्रीनल्याण्ड विश्वकै लागि नयाँ गन्तव्य बन्न सक्छ।
नयाँ विमानस्थलमा एयर ग्रीनल्याण्डले एयरबस संचालन गर्नेछ। डेनमार्कको कोपेनहेगनदेखि सो विमान कम्पनीले उडान गर्नेछ। विमानस्थल संचालनमा आएसँगै त्यसले आइसल्याण्डसँग पनि ‘लिंक’ हुनेछ।
ग्रीनल्याण्ड विमानस्थलका प्रमुख कार्यकारी अधिकृत जेन लाउरिडसेन नयाँ विमानस्थल संचालनले त्यहाँको पर्यटन र अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने बताउँछन्। प्रत्येक उडानले ग्रीनल्याण्डको अर्थतन्त्रमा २ लाख अमेरिकी डलर थप्ने अनुमान उनको छ।
उनी यहाँ आउने पर्यटक ‘स्ट्यान्डर्ड टुरिजम’को चाहना राख्न नहुने बताउँछन्।
‘हामी आर्टिकमा अवस्थित छौं। यहाँ आउँदा एड्भेन्चरको लागि तयार हुनुपर्छ,’ उनले भने।
नुक विमानस्थल संचालनमा आउने पहिलो दिनमा त्यसमा यात्रा गर्ने तयारीमा छिन् कुपनुक ओलसेन। ग्रीनल्याण्कै प्रसिद्ध कन्टेन्ट क्रिएटर ओलसेन भन्छिन्, ‘म धेरै उत्साहित छु। म पहिलो उडानमा हुनेछु र नयाँ विमानस्थलमा अवतरण गर्नेछु।’
पर्यटन नियामक भिजिट ग्रीनल्याण्डका प्रमुख कार्यकारी अधिकृत एने निभाका ग्रोडेन नयाँ विमास्थनलले पर्यटक क्षेत्रको विस्तार हुने र समाजमा पनि त्यसको असर देखिने बताउँछन्।
‘पर्यटक क्षेत्रले सकारात्मक परिवर्तन ल्याउँछ भन्ने विश्वास छ। त्यसका लागि स्थनीय अवसर, बजारको ट्रेन्ड र मानवीय उत्प्रेरणा चाहिन्छ,’ उनले भनिन्।
ग्रीनल्याण्डमा अर्को दुईवटा विमास्थल पनि संचालनमा ल्याउने तयारी भइरहेको छ। सन् २०२६ को अन्त्यसम्म ती विमानस्थल संचालनमा ल्याउने गरि काम भइरहेको छ। यी विमानस्थले उत्तरी र दक्षिणी ग्रीनल्याण्डलाई जोड्नेछ।
ग्रीनल्याण्डमा हाल करिक ९० किलोमिटरमात्रै पक्की सडक छन्। जसकारण ग्रीनल्याण्ड पुग्नेले धेरै ठाउँ घुम्न चाहे विमान र डुंगाको प्रयोग गर्नुपर्छ। अब बन्ने नयाँ विमास्थलले भने त्यहाँको पर्यटकीय ट्रेन्ड नै परिवर्तन हुने विश्वास लिइएमको छ।
‘ग्रीनल्याण्ड केवल घुम्न पुग्ने गन्तव्यमात्रै होइन। यहाँ पुगेपछिको अनुभवले तपाईंले संसारलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनेछ,’ ग्रोडेम भन्छिन्, ‘पर्यटकहरु खुला मन र साहसिक भावना बोकेर यहाँ आउनुपर्छ। यहाँको शान्त र चेतनशील संस्कृतिले प्रकृति र आफैसँग पुन: जोड्ने अवसर दिनेछ।’