हरित–वित्त प्रवर्धनको सान्दर्भिकता, नेपालले कसरी लिन सक्छ लाभ ?

अर्पण पौडेल
२०८१ मंसिर २ गते ०६:१९ | Nov 17, 2024
हरित–वित्त प्रवर्धनको सान्दर्भिकता, नेपालले कसरी लिन सक्छ लाभ ?


जलवायु परिर्वतनको दुष्परिणामबाट बच्न तथा बस्न योग्य पर्यावरणको संरक्षण एवं प्रवर्धन गर्न विश्वव्यापी तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित हुनुपर्ने गरि विज्ञानले स्पष्ट निर्देशन गरेको छ। सन् १८०० को पछिल्लो दशकलाई आधार मानेर पृथ्वीको तापक्रम तुलना गर्ने हो भने करिब १.२ डिग्रीले अधिक भई निर्दिष्ट सीमातर्फ अग्रसर हुँदै गर्दा विश्वका अधिकांश देशहरुले पूर्वसावधानीका कार्यहरु गर्ने ऐक्यबद्धता गरि सन् २०१५ पेरिस सम्झौता समेत भइसकेको छ।

Tata
GBIME
NLIC

जसमा कार्बन तथा हरितगृह ग्यास उत्सर्जनलाई सन् २०३० सम्म ४५ प्रतिशतले घटाउदै सन् २०५० सम्ममा कमसेकम कार्बन उत्सर्जन गर्ने तथा उत्सर्जित कार्वनलाई पर्यावरणमा छोडने क्रियाकलापलाई पनि शून्यमा झार्ने लक्ष्यका साथ नेट जिरोको अभियानसमेत थालिएको छ।

भर्खरै मात्रै पनि जैविक विविधता महासन्धि सम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन कोलम्बियाको कालीमा सम्पन्न भयो भने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा संलग्न राष्ट्रहरुको २९ औं सम्मेलन अजरबैजानको राजधानी बाकुमा सम्पन्न भएको छ।

यी पछिल्ला दुई सम्मेलनमा नेपालबाट पनि विभिन्न उच्च–पदस्थ व्यक्तिहरुले अनेकन एजेन्डासहित सहभागिता समेत जनाइसकेका छन्। यसै प्रसंगमा कार्बन उत्सर्जनबाट निम्तने प्रतिकूलतासँग सम्बन्धित विविध आयामहरुका आधारभूत पक्ष, प्रभाव तथा हरित वित्त प्रवर्धनका सान्दर्भिकताका बारेमा सक्षिप्तरुपमा चर्चा गर्न खोजिएको छ। 

पृथ्वीमा पाइने महत्त्वपूर्ण रसायनिक तत्वहरुमध्ये कार्बन पनि एक हो, जसले जीवनको महत्त्वपूर्ण एवं आधारभूत अंशका रूपमा समेत काम गरेको हुन्छ। जैविक अणुको मुख्य अंश मानिने कार्बनले समग्र जीवविज्ञानको संरचनालाई सम्भव बनाएको छ। प्रोटिन, कार्बोहाइडेट, लिपिड, डीएनए जस्ता न्यूक्लिक अम्ल आदि जस्ता जैविक रसायानिक यौगिकहरु पाइने कार्बनको प्रभाव जीवहरुको भौतिक संरचना तथा कार्यात्मकता समेतमा रहेको हुन्छ।

कार्बन आफैंमा खतरनाक वा हानिकारक नहुने भए तापनि मानिसका विभिन्न क्रियाकलापहरुका माध्यमबाट अक्सिजनको सम्पर्कमा पुग्दा कार्बन डाइअक्साइड, हरित ग्यास आदिको स्वरुपमा परिवर्तित भई प्रदूषण, तापमानमा वृद्धि (ग्लोबल वार्मिङ), हानिकारक विकिरणहरु सृजना, हरितगृह प्रभाव आदि जस्ता अनेकन प्रतिकूलताहरु उत्पन्न हुन पुग्छन्।

कार्बन डाइअक्साइड तथा अन्य ग्रीनहाउस ग्यासहरु उत्पादन गर्ने क्रियाकलापहरुलाई कार्बन उत्सर्जनका रुपमा बुझ्ने गरिन्छ। संसारमा अधिक कार्बन उत्सर्जन हुने मानवीय क्रियाकलापहरुलाई केलाउदा निम्नानुसारका गतिविधिहरुसँग साक्षात्कार हुन्छ।

  • ऊर्जा उत्पादनः पेट्रोल, डिजल, कोइला, प्राकृतिक ग्यास आदिको उपयोग गरेर ऊर्जा एवं ताप सृजना गर्दा संसारभरमा अत्यधिक मात्रामा कार्वन उत्सर्जन हुने गर्दछ।
  • परिवहनः पेट्रोल, डिजल, कोइला आदि जस्ता इन्धनहरुको खपत गर्ने कार, बस, ट्रक, रेल, विमान आदि जस्ता अनेक यातायातका साधनहरुलेको संचालनबाट पनि अत्यधिक कार्बन उत्सर्जन हुने गर्दछ।
  • औद्योगिकरणः सिमेन्ट, इस्पात, रसायानिक उद्योग, कलकारखानाहरु आदि जसले अधिकमात्रामा जैविक इन्धन उपभोग गर्ने तथा विविध रासायनिक यौगिकहरु उत्पादन गर्ने गर्दछन्, त्यहाँबाट पनि अत्यधिक मात्रामा कार्बन उत्सर्जन हुने गर्दछ।
  • कृषि तथा पशुपालनः इन्धनको प्रयोग, पशुपालनबाट उत्पन्न हुने मिथेन तथा खेतिपाती गर्दा प्रयोग हुने रासायानिक मल तथा जलाशय आदि बाट ग्रीनहाउस ग्यासको उत्सर्जन हुने गर्दछ।
  • आवासीय तथा व्यापारिक भवन निर्माण तथा गतिविधिहरुः निर्माणमा संलग्न हुने यन्त्र उपकरणहरुको इन्धनमा आधारित संचालन, भवनहरुमा वातानुकूलनका लागि प्रयोग हुने उपकरणहरु, भवनहरुमा ताप उत्पन्न गर्नका लागि प्रयोग हुने जैविक इन्धनको प्रयोग आदिहरुबाट पनि उल्लेख्य मात्रामा कार्बन उत्सर्जन हुने गर्दछ।
  • फोहोरः जथाभावी फोहोर व्यवस्थापन, फोहोर थुपार्ने स्थलहरुमा त्यसलाई गलाउने प्रक्रिया आदिबाट मिथेन जस्ता खतरनाक ग्यास उत्सर्जन हुन्छन् भने फोहोर जलाउदा अधिक कार्बन डाइअक्साइड उत्सर्जन हुने गर्दछ। औद्योगिक क्रियाकलापहरुबाट उत्पन्न विषाक्त रसायन वा फोहोरलाई नदि–नाला, समुन्द्र, जमिन तथा हावामा छोड्दा पनि कार्बन उत्सर्जन हुने गर्दछ।
  • जंगल विनासः रुखहरुले पर्यावरणमा रहेको कार्बनलाई नियमितरुपमा सोस्दै जीवनका लागि आवश्यक अक्सिजन प्रवाह गरिरहेका हुन्छन्। कृषि तथा आवासीय प्रयोजनका लागि बन विनास हुँदा होस वा डढेलोका कारणले होस कार्बन उत्सर्जनमा टेवा पुग्ने गर्दछ।

माथि उल्लेख्य गरिएका तथा अन्य मानवीय क्रियाकलापहरुबाट अनवरतरुपमा कार्बन तथा अन्य खतरनाक ग्रीन–ग्यासहरु उत्सर्जन भइरहेका हुन्छन्, जसबाट पर्यावरण र जीवजन्तुको स्वास्थ्यमा अत्यन्तै गम्भीर असरहरु देखापर्ने गर्दछन्। यस्ता असरहरु एक घर, समुदाय वा राष्ट्रमा मात्रै सीमित नभई समग्र संसारकै जैविक विविधता तथा जलवायु प्रणालीमा प्रतिकूलता निम्त्याउने भएकाले यस्ता प्रतिकूलता न्युनीकरणमा संसारलाई नै समग्रमा एक गाऊँको रुपमा व्यवहार गरिन्छ।

संयुक्त राष्ट्रसंघबाट पछिल्लो समयमा प्रकाशित प्रतिवेदनमा विश्वका देश तथा समूहहरुका विभिन्न समयको अन्तरालमा देखिएका कार्बन डाइअक्साइड उत्र्सजन (सीओ २ इमिसन), तापक्रम वृद्धिमा योगदान, वर्तमान उत्सर्जन तथा जनसांख्यिक अवस्था तलको तालिकाबाट स्पष्टरुपमा बुझ्न सकिन्छ।

प्रकाशित प्रतिवेदनहरु केलाउदा चीन, अमेरिका, भारत, यूरोपियन युनियन, रसिया, ब्राजिल आदि जस्ता क्षेत्रबाट  २०२३ मा ६३ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्ने गरेको देखिन्छ। ४७ वटा कम विकसित राष्ट्रहरुबाट केवल ३ प्रतिशत मात्रै कार्बन उत्सर्जन हुने गरेको छ।

जी-२० आबद्ध अर्थतन्त्रहरुले वैश्विक हरितगृह ग्यास उत्सर्जनको करिब ७७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। तथ्यहरुमा स्पष्टरुपमा देखिए जस्तै विकसित तथा विकासशील राष्ट्रहरुले आर्थिक समृद्धिका होडमा अत्यधिक मात्रामा कार्बन तथा हरित ग्यासहरु उत्सर्जन गरि पर्यावरणलाई विषाक्त बनाएका छन् भने अविकसित तथा कम विकसित देशहरु समेतले यसको लागत चुकाइरहेका छन्। त्यसैगरि न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्रहरुमा कम मात्रामा भएको कार्बन उत्सर्जनबाट वातावरणमा पर्ने सकरात्मक बाह्ताको लाभ अन्य देशहरुले समेत उठाइरहेका छन्। 

अधिक कार्बन उत्सर्जनबाट विशेषतः वातावरणीय तापमानमा वृद्धि, पानीको संकट, प्राकृतिक प्रकोपहरु, कृषि तथा उत्पादनमा प्रतिकूलता, जैविक विविधता संकट, स्वास्थ्य समस्याहरु लगायत विभिन्न सामाजिक प्रतिकूलताहरु सामना गर्नुपर्ने हुन्छ। समुद्री सतहमा भएको वृद्धि, खोला–नाला तथा समुद्रमा देखिएको अम्लियता, पग्लिदा हिमशिखरहरु, लोपोन्मुख जीव तथा वनस्पतिहरु, वैश्विक तापक्रममा देखिएको वृद्धि, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, खडेरी, जीव तथा जनावरहरुमा देखिएका नौला प्रकृतिका स्वास्थ्य संक्रमण आदि सबैलाई अधिक कार्बन उत्सर्जनबाट सृजना भएका प्रतिकूलताका रुपमा बुझ्न सकिन्छ।

त्यसैले अधिक कार्बन उत्सर्जनको असरबाट जल, वायु, पृथ्वी, वातावरणमा मात्रै होइन हरेक राष्ट्र एवं समुदायका सामाजिक, आर्थिक तथा साँस्कृतिक क्रियाकलापहरुमा प्रभावित हुने गर्दछन्। कार्बन उत्सर्जनबाट वर्तमान समयमा व्याप्त प्रतिकूलताहरु क्रमिकरुपमा बढदै जाँदा विभिन्न किसिमका अकल्पनीय परिणामहरु झेल्नुपर्ने हुन्छ।

वर्षौं पहिला हिन्दुहरुको धर्मग्रन्थ भविष्यपुराण र कल्कीपुराणमा कलियुगको अन्त्यका सन्दर्भमा गरिएका विभिन्न प्रकारका मानवीय तथा पर्यावरणीय प्रतिकूलताहरु यस्तै अधिक कार्बन तथा हरित–ग्यास उत्सर्जनबाट उत्पन्न हुने दुष्प्रभावहरुको अन्तिम स्वरुपहरुलाई आकलन गरि चित्रण गरिएको सहजै अनुमान लगाउन सकिन्छ। कार्बन उत्सर्जन कम गरि प्रतिकूलताहरु कम गर्नका लागि विभिन्न किसिमका सुरुवातहरु धेरै तहमा गर्न सकिन्छ, जसमध्ये केही यसप्रकार छन् –

  • ऊर्जा उपयोगमा मितव्ययिताः ऊर्जा उत्पादन तथा प्रयोगमा प्रभावकारिता बढाउने प्रयासबाट कार्बन उत्सर्जन घटाउन टेवा पुग्दछ। ऊर्जा बचतका लागि विभिन्न उद्योग तथा आवासीय क्षेत्रहरुमा प्रभावकारी प्रविधिहरु जस्तै लिड–बत्तिहरु, इन्भर्टर, उच्च क्षमता भएका उपकरणहरु आदि प्रयोग गर्ने। उद्योग, यातायात तथा अन्य अत्यधिक उर्जा खपत हुने क्षेत्र वा गतिविधिहरुमा सुधार ल्याउन प्रयास गर्ने।
  • नविकरणीय ऊर्जा प्रवर्धनः जलविद्युत, सौर्य तथा हावा जस्ता वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोगमा अधिकता ल्याई जैविक इन्धनको प्रयोग घटाउने।
  • कार्बन उत्सर्जन अनुगमनः कार्बन उत्सर्जनको इकाइ तहमै मापन र निगरानी गर्ने प्रणालीहरु स्थापना गरि नियमित अनुगमन गरि आवश्यकता सर्तकताका लागि संबन्धित निकायहरुमा सूचना आदानप्रदान गरि आवश्यक रणनीति बनाएर लागू गर्ने।
  • कार्बन क्रेडिट तथा व्यापारः उद्योग, कलकारखाना तथा व्यवसायीहरुलाई कार्बन उत्सर्जन कम गर्नका लागि अनिवार्य सर्त लागू गर्ने, जसका आधारमा न्यून उत्सर्जन गर्ने व्यवसायीहरुलाई तोकिएको सीमाभन्दा अधिक कार्बन उत्सर्जन गर्ने इकाइहरुलाई हर्जना लगाउने गरि नीति निर्माण गर्ने। यसबाट समग्रमा देशको कार्बन उत्सर्जन कम गर्नमा टेवा पुगी कार्बन क्रेडिट आर्जन भई अन्तर्राष्ट्रियस्तरमा अधिक कार्बन उत्सर्जन  गर्ने मुलुकलाई कार्बन क्रेडिट बिक्री गरि समग्र अर्थतन्त्रलाई सबल बनाउन सक्ने अवसर समेत सदुपयोग गर्न सकिन्छ।
  • हरित प्रविधिको प्रयोगः औद्योगिक प्रक्रियाबाट उत्पादन भएको कार्बन डाइअक्साइडलाई वातावरणमा जानबाट रोक्ने तथा सुरक्षित स्थानमा भण्डारण गर्ने, निजी साधनहरुको सट्टामा सार्वजनिक सवारीसाधनहरु प्रयोग गर्ने, इलेक्ट्रिक सवारीसाधनहरुको प्रयोगलाई बढावा दिने, जैविक इन्धनका सट्टामा विद्युतीय इन्धनको अधिकतम प्रयोग गर्ने आदि गर्न सक्दा कार्बन उत्सर्जन कम गर्न टेवा पुग्ने देखिन्छ।
  • फोहोर व्यवस्थापनः जैविक तथा अजैविक फोहोरलाई छुट्याइ यथोचित व्यवस्थापन गर्ने, औद्योगिक फोहरहरुलाई नदि–नाला तथा समुन्द्रमा नछाड्ने, फोहोर जलाउने प्रवृत्तिहरु निरुत्साहित गर्ने, पुनःप्रयोग गर्न मिल्ने सामानहरुको मितव्ययी व्यवस्थापन गर्ने आदि मात्रै गर्न सक्ने हो भने पनि कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी आउने छ।
  • वन संरक्षण तथा वृक्षरोपणः रुखहरुले कार्बन डाइअक्साइडलाई सोसी पर्यावरणमा ग्रीन–हाउस ग्यासहरुको सन्तुलन कायम राख्न एकदमै महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले अवैध काठ कारोबार र वन–जंगल अतिक्रमण रोक्दै वृक्षरोपण तथा वन–संरक्षणलाई अभियानकै रुपमा प्रोत्साहन गर्दा कार्बन उत्सर्जनलाई उल्लेख्यरुपमा घटाउन सकिन्छ।
  • जनचेतना प्रवर्धन तथा शिक्षाः कार्बन उत्सर्जन र यसको प्रतिकूलताका बारेमा सर्वसाधारणमा जनचेतना वृद्धि गर्दै जलवायु परिवर्तन तथा वातावरणीय संकटको विषयमा नियमितरुपमा समुदायस्तरमा नै अभियान चलाउदा प्रभावकारिता वृद्धि हुने देखिन्छ।

कार्बन तथा ग्रीन–ग्यास उत्सर्जन कम गर्नका लागि विभिन्न किसिमका रणनीतिहरु तर्जुमा गर्दै शून्य सहनशीलतासहितको कार्यान्वयनमा जोड दिंदा हाम्रो जस्तो कम कार्बन उत्सर्जन गर्ने देशले कार्बन व्यापारका माध्यमबाट पनि अर्थतन्त्रलाई समृद्ध बनाउन सक्ने देखिन्छ। जसका लागि एक भरपर्दो अस्त्र हरित वित्त बन्न सक्छ। दिगोरुपमा पर्यावरणको प्रवर्धन तथा अन्तर्निहित जोखिम व्यवस्थापनका क्षेत्रमा गरिने लगानी, सेवा तथा अन्य विविध वित्तीय गतिविधिहरुलाई मुख्यतः हरित वित्तअन्तर्गत बुझ्ने गरिन्छ।

हरित वित्तको परिचालनबाट कार्बन कम उत्सर्जन गर्न, उपलब्ध स्रोतहरुको समुचित प्रयोग एवं प्रभावकारिता बढाउदै समग्र आर्थिक अवस्थामा स्थायित्व ल्याउन टेवा पुग्छ। जलवायु परिर्वतनका कारणले कृषि, जलस्रोत तथा प्राकृतिक प्रकोपहरुका असरहरुका बारम्बार बढिरहेको वर्तमान परिप्रेक्ष्यमा हाम्रो जस्तो देशमा हरित वित्तले अझै विशेष महत्त्व राख्दछ, जसका लागि निम्नानुसारका क्षेत्रहरु पहिचान गरि लगानी विस्तार गर्न सकिन्छ।

  • सौर्य, वायु, जलविद्युत, बायोमास आदि जस्ता नवीकरणीय एवं वैकल्पिक ऊर्जाका परियोजनाहरु पहिचान गरि लगानी विस्तार गर्ने।
  • हरित भवन निर्माण, स्मार्ट ग्रीडहरु विस्तार, जैविक इन्धनको मितव्ययितामा आधारित यन्त्र उपकरण तथा उद्योगहरुमा लगानी विस्तार गर्ने।
  • जलवायु परिवर्तनका असरबाट बच्नका लागि सिँचाइ, बाढी नियन्त्रण, भू–स्खलन, भूकम्प प्रतिरोधी संरचना निर्माण आदि जस्ता पूर्वाधारहरुमा लगानी विस्तार गर्ने।
  • निजी तथा सामुदायिक वन संरक्षण तथा वृक्षरोपण जस्ता क्रियाकलापहरुमा लगानी विस्तार गर्ने।
  • उद्योग, व्यवसायहरुबाट उत्सर्जन हुने कार्बन तथा हरित ग्यासलाई पर्यावरणमा जान नदिई संरक्षण तथा भण्डारण गर्न सक्ने प्रविधिहरुमा लगानि विस्तार गर्ने।
  • मानवीय क्रियाकलापहरुबाट उत्सर्जन हुने कार्बन तथा यसले निम्त्याउन सक्ने प्रतिकूलताका बारेमा जनचेतना प्रवर्धनमा लगानी विस्तार गर्ने। 

नेपालमा प्रायः लगानी गर्ने भन्दा वित्तिकै बैंकहरुबाट प्रवाह हुने कर्जालाई सम्झने गरिन्छ। आफ्नो मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल सुनिश्चित गर्नुपर्न व्यवसायिक धर्मका कारण केबल बैंकिङबाट प्रवाहित हुने कर्जाबाट मात्रै हरित वित्तका सम्पूर्ण अभिष्टहरु पुरा नहुन सक्छन्। यसका लागि समुदाय, बैंक, सरोकारवाला तथा सरकारको संयुक्त सक्रियतामा मिश्रित वित्त परिचालन गर्नु अत्यन्तै उपयुक्त विकल्प हुन सक्छ, जसका लागि निम्न बमोजिमका वित्तीय उपकरण तथा अभ्यासहरु कार्यान्वयन गर्न सकिन्छ।

  • हरित बण्डः  हरित परियोजनाहरु प्रवर्धनका लागि लागतसहितको विस्तृत योजना तयार गरि आवश्यक वित्तीय स्रोत संकलनका लागि लामो समयको परिपक्व अवधि रहेका हरित बण्ड वा ऋणपत्रहरु निष्कासन गर्न सकिन्छ। यस्ता उपकरणहरुको बिक्रीबाट प्राप्त रकमलाई हरित परियोजनाहरुमा परिचालन गरि परियोजनाहरुबाट प्राप्त हुने परिमाणात्मक तथा गुणात्मक लाभका आधारमा वा कार्बन क्रेडिट संयन्त्रसँग जोड्दै लगानीकर्ताहरुलाई प्रतिफलको सुनिश्चितता गर्न सकिन्छ।
  • हरित कर्जाः सर्वप्रथम पर्यावरण अनुकूलनका सम्भावित क्रियाकलापहरुको पहिचान गर्ने, त्यसपछि  योग्य तथा प्रभावकारी परियोजनाहरुमा औपचारिक वित्तीय संयन्त्रबाट निश्चित मात्रामा लगानी गर्नैपर्ने व्यवस्था गर्न सकिन्छ भने यसरी प्राप्त हुने कर्जालाई ऊर्जाको प्रभावकारिता वृद्धि, नविकरणीय ऊर्जा विकास तथा प्रवर्धनमा हुने क्षेत्रमा परिचालन भए नभएको सुनिश्चित गर्न प्रभावकारी अनुगमन संयन्त्र विकास गर्न सकिन्छ। विद्यमान समयमा नेपाली बैंक तथा वित्तीय सस्थाहरुलाई ऊर्जाको क्षेत्रमा आफ्नो कुल कर्जाको निश्चित प्रतिशत रकम लगानी गर्नैपर्ने प्रावधानहरु लागू भइसकेका छन्, जसको दायरा अब क्रमिकरुपमा विस्तार गर्दै लैजानु श्रेयस्कर देखिन्छ।
  • सामाजिक तथा पर्यावरणीय जिम्मेवारीमा लगानीः केवल आर्थिक प्रतिफलका लागि मात्रै नभइ सामाजिक तथा वातावरणीय प्रभावलाई समेत महत्त्व दिई लगानी गर्नुपर्ने परिपाटी तथा रणनीतिहरु विकास गरी कार्यान्वयन गर्न सकिन्छ। जसका लागि अधिक कार्बन उत्सर्जनको सम्भाव्य आकारका आधारमा व्यवसाय, उद्योग, संघसंस्थाहरुलाई यसप्रकारका लगानीमा अनिवार्यरुपमा सहभागी हुनुपर्ने व्यवस्था गर्न सकिन्छ। वर्तमान समयमा विभिन्न उद्योग, संघसंस्थाहरुले छुट्याउनुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमको दायरा विस्तार गर्दै यस्ता प्रावधानहरु लागू गर्न सकिन्छ।
  • कार्बन क्रेडिट प्रणालीः कार्बन उत्सर्जन कम गर्न विभिन्न क्रियाकलापहरु सम्पादन गर्ने इकाइहरुलाई निश्चित क्रेडिट उपलब्ध गराउने तथा अधिक कार्बन उत्सर्जन गर्ने इकाइहरुले अरुसँग क्रेडिट खरिद गरेरै भए पनि निर्धारित स्तरसम्म कार्बन उत्सर्जन कायम गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न सक्दा पनि हरित वित्त प्रवर्धनमा टेवा पुग्छ। जसबाट समग्र राष्ट्रले समेत अन्तर्राष्ट्रियस्तरमा कार्बन व्यापार गरि वित्तको व्यवस्थापन गर्न सक्छ। कार्बन क्रेडिटलाई जलवायु परिर्वतनमा निम्तिने प्रतिकूलताको जोखिम व्यवस्थापनका लागि आवश्यक वित्तका रुपमा समेत तालमेल गर्न सकिन्छ। 

हरित वित्तले नेपालको सार्वाङ्गीण विकासका लागि वातावरणीय र आर्थिक दृष्टिकोणबाट महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले नियामक निकायले समेत यस सन्दर्भमा आवश्यक मार्गनिर्देशन विकास एवं कार्यान्वयनमा अभ्यासरत रहेको देखिन्छ। न्यून वा कम कार्बन उत्सर्जन गर्ने राष्ट्रकारुपमा समग्र आर्थिक क्रियाकलापहरुलाई ब्राण्डिङ गर्न सक्दा पनि उल्लेख्य मात्रामा विदेशी पर्यटक आर्कषण गर्ने थप विशेषता विकास हुन सक्छ।

नेपालमा वित्तीयरुपमा सम्भाव्य रहेका सबै जलविद्युत उत्पादनमा जोड दिने हो भने पनि कार्बन क्रेडिट तथा विद्युत निर्यातबाट प्राप्त वित्तीय स्रोतबाट देश समृद्धितर्फ उन्मुख हुन सक्छ। अधिक कार्बन उत्सर्जन गर्ने प्रमुख देशहरु मध्येमा पर्ने अमेरिकामा पछिल्लो निर्वाचनद्धारा निर्वाचित राष्ट्रपतिका कार्बन क्रेडिट तथा व्यापार बारेका प्रतिकूल वक्तव्यहरुका आधारमा वैश्विकस्तरमा विद्यमान कानुन तथा अभ्यासको निरन्तरतामा केही आशंकाहरु सृजना भएका देखिन्छन्।

तर, यदि हरित वित्तको अन्तर्य तथा अभिष्ट पुरा गर्न सहि तरिकाले लगानी विस्तार हुन सक्योे भने कार्बन उत्सर्जन कम गर्न, जलवायु परिवर्तनको प्रतिकूलता कम गर्न, प्राकृतिक स्रोत संरक्षण गर्न, समाजमा दिगो आर्थिक विकासको वातावरण निर्माण गर्न तथा समग्र ब्रम्हाण्ड एवं जैविकताको दीर्घकालीन संरक्षणमा टेवा पुग्ने छ। स्वस्थकर जीवनस्तरका लागि ५० भित्र रहनुपर्ने हावाको गुणस्तर सूचक लाहोर, दिल्ली, ढाका जस्ता सहरहरुमा २५० भन्दा पनि अधिक हुनुले अब हरेक घर, परिवार, समुदाय, राष्ट्रहरु रणनैतिकरुपमै पर्यावरण संरक्षणमा जुट्नुपर्ने संकेत गरेको छ। 

(उल्लिखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)