
काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी करिब १० वर्षपछि फेरि मञ्चमा देखिने भएको छ। ‘मह जात्रा’ नामक प्रहसनमार्फत मह जोडीले प्रस्तुति दिने भएको हो। प्रहसनका लागि तयारी पुरा भएको आयोजकले जनाएका छन्।
मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा आज (बिहीबार)देखि सुरु हुँदैछ। प्रहसन कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते हुने तालिका छ।
प्रहसनमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायत कलाकारहरूको पनि प्रस्तुति रहने जनाइएको छ।
प्रहसनले हाँस्यव्यंग्यका माध्यमबाट समसामयिक सामाजिक समस्या र विविध मुद्दाहरूलाई उजागर गर्दै नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरीतिमाथि व्यंग्य गर्ने कलाकार किरण केसीले बताएका छन्।
मह जोडीका यसअघिका प्रहसनहरू यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता र सपथ ग्रहण स्मरणीय मानिन्छन्। हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए पनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन्। उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारितामा लागिरहने बताएका छन्।