दुई मास्टरमाइन्ड जसले दिलाए अनिल अम्बानीलाई व्यवसायमा नाटकीय कमब्याक, रिलायन्स पावरको शक्ति फर्कियो

बिजमाण्डू
२०८१ कात्तिक २८ गते ०६:५१ | Nov 13, 2024
दुई मास्टरमाइन्ड जसले दिलाए अनिल अम्बानीलाई व्यवसायमा नाटकीय कमब्याक, रिलायन्स पावरको शक्ति फर्कियो


एक समय व्यवसायमा चरम घाटा र निराशा बोकेर बसेका अनिल अम्बानीले आफ्नो व्यवसायमा नाटकीय कमब्याक गरेका छन्। हाल उनको रिलायन्स पावरको सम्पत्तिमा अचम्मैसँग वृद्धि भएको छ।

Tata
GBIME
NLIC

रिलायन्स पावर अब ऋणमुक्त भएको छ भने रिलायन्स इन्फ्रास्ट्रक्चरको ऋण पनि ८७ प्रतिशतले घटिसकेको छ जसले अनिल अम्बानीका कम्पनीहरुप्रति लगानीकर्ताको आत्मविश्वास फर्काइदिएको छ।

वर्षौं वित्तीय संकट झेलेको रिलायन्स पावर ऋण मुक्त मात्र भएको छैन यसको बजार पुँजीकरण १६७.०४ अर्ब भारुमाथि पुगिसकेको छ।

दाजु मुकेशको सम्पत्ति उकालो लागिरहँदा भाई अनिल अम्बानीका लागि विगत लामो समय वित्तीय संकटका वर्षहरु रहे। उनले यति धेरै संकट झेले कि संचारमाध्यमहरुमा समेत उनको बारेमा निराशाजनक मात्र समाचार आउने गर्थे। तर उनको कम्पनी रिलायन्स पावरले पुनर्जीवन पाएको छ।

गत बिहीबारमात्रै रिलायन्स पावरले घोषणा नै गरेर आफू ऋण मुक्त भएको बतायो। उसको सहायक कम्पनी रोजा पावर सप्लाइले सिंगापुरबेस्ड वर्डे पार्टनर्सको ४८५ करोड भारु ऋण पूरै चुक्ता गरेको जनाएको छ। कम्पनीका अनुसार उसले कुल १३१८ करोड भारु प्रि-पेमेन्ट गरेको छ र अब रोजा पावर सप्लाइ जिरो-डेट युनिट भएको छ। अर्थात कम्पनीले पूरै कर्जा भुक्तान गरिदिएको छ। रोजा पावर सप्लाइले गत सेप्टेम्बरमा ८३३ करोड भारुको ऋण भुक्तान गरेको थियो।

रोजा पावर उत्तर प्रदेशमा १२०० मेगावाटको कोलबेस्ड थर्मल पावर प्लान्ट संचालन गर्छ। कम्पनीले सन् २०२२ मा वर्डे पार्टनर्ससँग करिब १००० करोड भारु ऋण लिएको थियो।

विगत चार वर्षमा रिलायन्स पावरको सेयरमा १३७३ प्रतिशतको उछाल आएको छ। कम्पनीको सेयर सन् २०२० को  नोभेम्बरमा ३.१० भारु थियो। रिलायन्स पावरको सेयर सन् २०२४ को नोभेम्बर ७ मा ४५.६४ भारु पुग्यो। विगत एक वर्षमा मात्र कम्पनीको सेयरमा १२१ प्रतिशतको तीब्र वृद्धि देखिएको छ।

कम्पनीको सेयर सन् २०२३ को नोभेम्बर ७ मा २०.७० भारु थियो भने त्यसको ठिक एक वर्षमा ४५ रुपैयाँ पार गर्‍यो। यसै वर्षको मात्र डेटा हेर्ने हो भने अहिलेसम्म रिलायन्स पावरको सेयरहरुमा ९० प्रतिशतभन्दा बढी उछाल आइसकेको छ। कम्पनीको सेयरहरुको ५२ हप्तामा हाइ लेभल ५२.२५ रुपैयाँ भएको देखिन्छ।

रिलायन्स पावरको रिभाइभलका पछाडि दुई मास्टरमाइन्डको हात छ। ती मास्टरमाइन्ड अरु कोही नभएर अनिलकै दुई छोराहरु हुन्।

जसै अनिल अम्बानीका दुई छोरा जय अनमोल र जय अन्सुल अम्बानी बुवाको पारिवारिक व्यवसायमा प्रवेश गरे उनीहरुले नै कम्पनीको रुपान्तरण गर्दै व्यवसायलाई नयाँ लयतर्फ डोहोर्‍याए। पारिवारिक व्यवसायमा दुई छोराको  रणनीतिक प्रवेशले लगानीकर्ताहरुको मनोबल बढ्यो। खासगरी जय अनमोल अम्बानीको नेतृत्वले रिलायन्स क्यापिटल लिमिटेडको सेयरमूल्यमा दीगो र उल्लेख्य वृद्धितर्फ अग्रसर हुँदै कम्पनीको पुनरागमन सम्भव भएको मानिन्छ।

को हुन् जय अनमोल

अनिलका जेठा छोरा जय अनमोलले १८ वर्षकै उमेरमा पारिवारिक व्यवसाय सम्हालेका थिए। उनले रिलायन्स क्यापिटलाई उत्कृष्ट बनाउन लक्षित भएर काम गरे। उनैले जापानको निप्पोन फर्मसँग साझेदारी गर्दै रिलायन्स निप्पोन लाइफ एसेट म्यानेजमेन्टमा सेयर हिस्सा बढाउन काम गरेका थिए।

उनकै नेतृत्वमा रिलायन्स लाइफ इन्स्योरेन्स र रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्ट कम्पनीले बजारमा राम्रो हैसियत बनायो।

यतिबेला जय अनमोल राइजिङ स्टार बनेका छन्। आफ्नो तेज ब्यापारिक दक्षताका कारण उनले रिलायन्स ग्रुपको पुनरागमनलाई सम्भव बनाएका हुन्।

उनले सन् २०१४ मा रिलायन्स म्युचुअल फण्ड ज्वाइन गरेका थिए भने सन् २०१७ मा रिलायन्स क्यापिटलको कार्यकारी निर्देशक बनेका थिए। उनले जापानी कम्पनी निप्पोनसँगको साझेदारी बढाएर रिलायन्स निप्पोन लाइफ एसेट म्यानेजमेन्ट कम्पनीको मूल्य बढाउन सके।

उनकै प्रयासका कारण अनिलका अन्य व्यवसायहरुमा पनि स्थिरतामात्र आएन बरु अझै विस्तार हुँदै गयो। यसले जय अनमोलको व्यक्तिगत सम्पत्तिमा पनि योगदान गर्‍यो। हाल जयको व्यक्तिगत सम्पत्ति २००० करोड भारु छ।

बिलासी लाइफस्टाइलका अन्सुल

जय अन्सुल अम्बानी अनिलका कान्छा छोरा हुन् जो शिक्षाका साथै व्यावसायिक क्षेत्रको उल्लेख्य ज्ञान हासिल गरेपछि पारिवारिक ब्यापारमा आएका हुन्। जसरी एक जमानामा बुवा अनिलको लाइफस्टाइल चर्चामा हुने गर्थ्यो अहिले कान्छा छोरा अंशुल उसैगरी उनको लग्जरीयस लाइफस्टाइलका कारण चर्चामा रहन्छन्।

अन्सुलले विद्यालयको पढाइ अमेरिकन स्कुलबाट पूरा गरे अनि न्यूयोर्क युनिभर्सिटीको प्रसिद्ध स्टर्न स्कुल अफ बिजनेसबाट कलेज शिक्षा लिए।

उनको लग्जरीयस लाइफस्टाइल अन्तर्गत पर्छन् उनको हवाइजहाज र कार कलेक्सन। उनको कार कलेक्सनमा हाइ इन्ड गाडीहरु जस्तै मर्सिडिज जिएलके ३५०, ल्यामबोर्गिनी गलार्ड, रोल्स रोयस फ्यान्टम, रेन्ज रोभर भोग र लेक्सस एसयूभीको कलेक्सन छ।

यस्तै उनीसँग हवाइजहाजको फ्लिट नै छ जसमा बम्बार्डियर, ग्लोबल एक्सप्रेस एक्सआरएस, बेल ४१२ हेलिकोप्टर र दुई फाल्कोन छन्।

आफ्नो सम्पत्ति र पारिवारिक बिरासतका वावजुद अंशुल लो प्रोफाइलमा रहन मन पराउँछन्। उनी मिडियाबाट पनि परै बस्न रुचाउँछन् र सकेसम्म आफ्नो प्राइभेसी मेन्टेन गर्छन्।

अनिलका लागि हाल दुई छोराहरुको साथ यति प्रभावकारी बनेको छ कि बुवा अनिलको बिलेनियर स्टाटस फर्काउन र बिजनेस लिडरका रुपमा उत्कृष्ट कमब्याक पाउनका लागि छोराहरुले नै आधार खडा गरिदिएका छन्।

अनिल अम्बानीले आफ्नो कम्पनीको अवस्था सुधार भएसँगै नयाँ विस्तारको योजना बनाउन थालिसकेका छन्। उनले आफ्नो समूहलाई नवीकरणीय उर्जाका परियोजनाहरुतर्फ अघि बढाइरहेका छन्।

हालै रिलायन्स ग्रुपले भुटानमा १२ सय ७० मेगावाटको सोलार र हाइड्रोइलेक्ट्रिक परियोजनाहरुको घोषणा गरिसकेको छ। यसकालागि उसले भुटानको ड्रुक होल्डिङसँग साझेदारी गरेको छ। अम्बानीको यो परियोजना कम्पनीलाई  नवीकरणीय उर्जाको क्षेत्रमा विस्तार गर्ने अनिलको प्रतिवद्धताप्रतिको एक कडी हो।