काठमाडौं। दशक अघिसम्म बालुवाको डाँडाले भरिएको दुबईको पाम जुमेराह आज विश्वकै सर्वाधिक महँगो रियल इस्टेट बजारमध्येको एक बनेको छ।
मरुभूमिमा बनेको कृत्रिम टापुको यो क्षेत्रमा बर्सेनी अर्बौं डलरको कारोबार हुन्छ। यो कथा केवल पाम जुमेराहको मात्र होइन।
विदेशी लगानी खुला गरेपछि दुबईको समग्र अर्थतन्त्र नै फड्को मारेको छ। सन् २००२ मा यहाँको सरकारले विदेशीलाई सम्पत्ति खरिदबिक्रीको अनुमति दियो। त्यसयता यहाँको विकासले फड्को मारेको हो।
आज पाम जुमेराह र आसपासका क्षेत्रमा ४ हजारभन्दा बढी विलासी भिल्ला छन्। यहाँ मूलतः बेलायत, भारत, चीन र रसियाका धनाढ्य व्यक्तिहरूको लगानी छ।
यो केबल भवन र भिल्लाको कथा मात्र होइन। विदेशी लगानीले पैसासँगै प्रविधि र विश्वस्तरीय व्यवस्थापन पनि ल्यायो। त्यसको प्रभाव सबै क्षेत्रमा पर्यो।
पाम जुमेराह र वरपरका क्षेत्रमा मात्र दुई लाखभन्दा बढीले रोजगारी पाएका छन्। होटल र रेस्टुरेन्टको संख्या ह्वात्तै बढेको छ। बैंक तथा वित्तीय संस्थाको कारोबार आकाश छुँदैछ। गत वर्ष मात्र यहाँ १ करोड ७० लाख पर्यटक पुगेका थिए।
+++
कपनस्थित एक चिया पसलमा अमन चालिसे आफ्नो स्मार्टफोनमा पुराना तस्बिरहरू पल्टाउँदै छन्। चार वर्ष पुराना ती तस्बिरहरूमा उनी र उनका साथीहरू ग्राहकसँग घरजग्गाको साइट भ्रमणमा छन्।
‘त्यो बेला त खाना खाने फुर्सद पनि थिएन,’ उनी मुस्कुराउँदै सम्झन्छन्, ‘अहिले भने दिनभरि बसेर एउटा ग्राहक भेट्न पनि गाह्रो छ।’
चालिसेको यो अनुभव एक्लो व्यक्ति मात्रैको होइन। यो काठमाडौं उपत्यकाको घरजग्गा बजारको वर्तमान अवस्थाको प्रतिनिधि कथा हो।
२०७७ को पुसतिर घरजग्गा व्यवसायीदेखि ब्रोकरसम्मलाई भ्याइनभ्याइ थियो। बुढानीलकण्ठदेखि धापाखेलसम्म, इमाडोलदेखि आरुबारीसम्म घरजग्गा किन्न चाहनेहरूको भीड लाग्थ्यो। तर, आज त्यो दृश्य इतिहास बनेको छ।
‘एउटै घरमा तीन-चार जना किन्न इच्छुक हुन्थे,’ इमाडोलका घरजग्गा व्यवसायी सन्तोष राजभण्डारी सम्झन्छन्, ‘कसैले बढी मूल्य प्रस्ताव गर्यो भने उसैलाई बैना गराइन्थ्यो।’
उनी आफ्नै कार्यालयमा बसेर एउटा पुरानो घटना सुनाउँछन्- इमाडोल सितल हाइटमा एउटा घरको लागि चार जना ग्राहकबीच बोलकबोल भएको थियो।
पढ्नुस इमाडोलको स्टोरी : एक दशकमा इमाडोलले फेरेको रुप, लामाटारको पाखासम्म घरैघरै
तर, आज परिदृश्य फेरिएको छ। वाणिज्य बैंकहरूबाट दुई खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी रकम घरजग्गामा अड्किएको छ।
सहकारी संस्थाहरूबाट ऋण लिएर घरजग्गामा लगानी गरेकाहरू बिक्री गर्न नपाउँदा त्यहीँ थन्किएका छन्। यो अवस्थाले देशको समग्र आर्थिक अवस्था नै ‘सिज’ भएको छ।
घरजग्गामा पैसा अड्किँदा अन्य आर्थिक गतिविधि ठप्प छन्। निर्माण क्षेत्रको हालत सबैभन्दा खराब छ। सिमेन्ट, डण्डीजस्ता कच्चापदार्थ त प्रयोग हुन्थे नै यो क्षेत्रमा अदक्ष, अर्धदक्षदेखि दक्ष सबै खालका जनशक्ति प्रयोग हुन्थे। यो क्षेत्र सुक्दा बेरोजगारी दर बढेर गएको छ।
आयआर्जन सुक्दा उपभोग माग घटेको छ। यसले गर्दा अन्य उद्योगधन्दाहरु पनि माग नआएका कारण क्षमताको ३० प्रतिशत मात्र चलिरहेका छन्। आयात निरन्तर घटेर गएको छ।
‘अहिलेको समस्याको समाधान त छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल भन्छन्, ‘दुबई, भियतनाम, टर्कीए जस्ता देशले जे गरे, त्यही गर्नुपर्छ – घरजग्गामा विदेशी लगानी खोल्नुपर्छ।’
पौडेलको तर्क छ- बर्मा, भुटान, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारत, चीनजस्ता छिमेकी मुलुकका नागरिकलाई नेपालमा घरजग्गा किन्न दिनुपर्छ।
‘राजनीतिक अस्थिरता भएका देशका नागरिकलाई नेपाल आकर्षक गन्तव्य बन्न सक्छ,’ उनी भन्छन्।
तर, यो विषयमा सबैको एउटै धारणा छैन। केही विज्ञहरू विदेशी लगानी खुला गर्दा राष्ट्रिय सुरक्षामा चुनौती थपिने चिन्ता व्यक्त गर्छन्। तर, पौडेल यसमा असहमत छन्।
‘विदेशी आउँदैमा देश मासिँदैन,’ उनी भन्छन्, ‘निर्णायक शक्ति त नेपाली नागरिक नै हुन्।’
जग्गा कारोबारमा सक्रिय व्यवसायीहरु पनि अब नयाँ सोच नभए अगाडि बढ्न नसकिने तर्क गर्छन्।
सरकारले भर्खरै अर्थविज्ञ तथा पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा अर्थतन्त्र सुधारका लागि सुझाव दिन आयोग बनाएको छ। आयोगमा केही विज्ञहरुले घरजग्गा क्षेत्रमा विदेशी लगानीका लागि बाटो खोल्नुपर्ने सुझाव दिन थालिएका छन्।
‘कसैले नेपालको रियल इस्टेट वा हाउजिङ, अपार्टमेन्टमा लगानी गर्छ भने दिनुपर्छ’ पौडेल भन्छन्, ‘त्यसो गर्दा विदेशी लगानी पनि आउँछ। अहिले त्यो क्षेत्रमा फसेको पैसा बाहिर निस्किँदा अर्थतन्त्र पनि चलायमान हुन्छ।’
नेपालले रियल इस्टेटमा विदेशी लगानी खोले ऊ पहिलो देश हुने छैन। विश्व बजारमा प्रयोग भइसकेकाले रियल इस्टेटमा विदेशी लगानीको बाटो खोल्नुपर्छ।