
वैशाख १, २०८१ का दिन स्याङ्जा वालिङका दाजुभाई, इष्टमित्र कृष्ण गण्डकी, राम नदीघाट, पाल्पाका स्याङ्जाको सिमानामा मेष सक्रान्ति स्नानका लागि गए। म एक्लै दाजुको घरमा फेसबुक चलाउँदै थिएँ। स्टाटसमा नयाँ वर्षको शुभकामना दिने क्रममा एक जनाले ‘२०८० राम्रो रहेन २०८१ मा उत्साहजनक रहोस्’ भनी लेखेको पाएँ। त्यसको डेढ महिनापछि जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमार्फत अर्थव्यवस्थाका समस्या समाधानको लागि एक आयोग गठन गरिने, आर्थिक सुधारको लागि थुप्रै एजेण्डा संसदमा प्रस्तुत गरे।
बजेट कार्यान्वयन भएको पनि पहिलो त्रैमास बितिसकेको छ। बडादसैंको मुखैमा सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा अर्थतन्त्र सुधारको लागि सुझाव दिन एक आयोग गठन गर्यो। नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको भन्दै सामाजिक क्षेत्रमा आत्मविश्वास जगाउने गरी आर्थिक सुधारको वर्ष घोषणा गरियो।
तेस्रो लगानी सम्मेलन उत्साहजनक रुपमा सम्पन्न भएको दाबी गरिरहँदा चालु आर्थिक वर्षमा विश्व बैंकले ५.१ प्रतिशत र एसियाली विकास बैंकले झण्डै उस्तै आकारको आर्थिक वृद्धिको प्रक्षेपण गर्यो। बाह्य क्षेत्र मजबुत रहेको, निजी क्षेत्रमा जाने कर्जा वृद्धि भएको, अर्थव्यवस्थामा सुधारको संकेत दाबी सरकारले गरिरहेका बाबजुद नेपालमा दसैं अगाडि आएको बाढीले २५० जना भन्दा बढीको ज्यान लियो। वर्षे बालीको नोक्सानी, जलविद्युत आयोजना, विद्यालय भवन र सडकमा भएको क्षतिले आवतजावतमा रोकावटले अर्थव्यवस्थामा ठूलो धक्का पुर्यायो।
दसैं टीकाकै दिन खाली निधार लिएर युवाहरु रोजगारीका लागि विदेश जान बोर्डिङ पास लिँदै आफन्तबाट टाढिए। सरकारले स्वीकृति दिएका ऋण तथा बचत सरकारी संस्थाले आफ्नो सदस्यको बचत हिनामिना गरेको थुप्रै समाचारहरु सार्वजनिक भए। यसैबीच एक व्यापारी घरानाबाट झन्डै ११ रोपनी जमिन सत्तासिन पार्टीका अध्यक्षले दान स्वीकार गरे। त्यसैगरी गिरीबन्धु टीस्टेट, नक्कली भुटानी शरणार्थी र बालुवाटार जग्गा काण्डका कारण अर्थव्यवस्थाले व्यहोर्नु परेको अप्रत्यक्ष विश्वासघातको मूल्यांकन खनाल आयोगले पक्कै पनि गर्ने नै छ। निराशाको बादल नेपाली समाजमा यसैकारणले मडारिएको बुझ्न कठिन छैन। आयोगलाई प्राप्त कार्यादेश बजेटको पुस्तिकाको ८ र ९ नम्बर बुँदामा उल्लेख भएजस्तै हुने अपेक्षा छ।
नेपाली समाजले भोग्ने गरेको प्राकृतिक प्रकोपबाट नेपाली जनतामा निराशा उत्पन्न हुने गर्दछ। गत वर्ष कर्णाली प्रदेशमा गएको भूकम्पको पीडा अझै ताजै छ। निराशा नेपाली समाजमा उब्जिरहने गलत प्रवृत्ति हो। जुन नियमित आकस्मिकता जस्तै छ। व्यक्तिले अपेक्षा गरेको नतिजा प्राप्त गर्न नसक्दा निराशाको कारक बन्नु स्वाभाविक हो।
आधा खाली ग्लासको सोचलाई निराशाका संकेतको रुपमा हेर्न गरिन्छ। कुनै चिज कमजोर नभएपनि कमजोर देख्नु निराशा हो। जीवनको अर्थ छैन, यो बेकार छ भन्ने सोच नै निराशाका प्रतिबिम्ब हो। जोखिमले सधैं फाइदालाई उछिनीराख्ने प्रवृत्ति महसुस हुन्छ। हुनसक्छ नकारात्मक सोच वंशाणु वा अनुभव, सामाजिक, राजनीतिक वातावरणको परिवेशको उपज हो।
जर्मन दार्शनिक अर्थर सोपेनआवर भन्छन्, जीवन नै नरहनुमा कल्याण छ। हरेक नेपालीले आफ्नो बालबच्चाको भविष्य उज्वल देख्न चाहन्छन्। यो चाहना सामान्य हो। संसार पनि अपवाद छैन। तर, यो मुलुकमा केही हुँदैन भन्ने भाष्य व्यापक छ। त्यसो त बहुदल पुनर्स्थापना पछिका वर्ष विकास भए तर सुस्त गतिमा। विकासको परिणाम नेपाली जनता रोजगारीका लागि विदेश धकेलिए। राजनीतिज्ञ र सत्ताधारीको भ्रष्टाचारका कथा सुन्दासुन्दा जनता आजित छन्।
मुलुकमा रोजगारीका अवसर सिर्जना हुन्छन् सयमा, विश्वविद्यालयबाट दीक्षित हुन्छन् लाखमा। वैदेशिक रोजगारीले गरिबी निवारण भएको सूचना सरकारले प्रकाशित गर्ने गर्छ। तर, मुलुकभित्र आवधिक बेरोजगारीको संख्या प्रकाशन गर्न भने डराउँछ। आम नेपालीमा आफ्नो भविष्य नदेखेका कारण विमानस्थलमा विदेश जानेको लर्को, पासपोर्ट बनाउनेको लर्को र श्रम स्वीकृति लिनेको भीड यत्रतत्र छ। हाम्रो समस्या ज्यामितीय अनुपातमा बढ्दो छ। तर, समस्याको समाधानको बाटोमा सरकार निष्क्रिय छ। राष्ट्रिय मनोविज्ञानमा हिस्सात्मक दरार सृजना भएको आम नेपालीले महसुस गर्ने गरेका छन्।
आफ्नो जन्मघर स्याङ्जाको वालिङमा तीन महिना बिताउँदा आफन्तजन इष्टमित्र र छरछिमेकसँग उठबस गर्दा अब्बल दर्जाका विज्ञान, व्यवस्थापन, प्रविधि विषयका कक्षा १२ मा ए ग्रेड हासिल गरेका १९ वर्ष ननाघेका युवाहरु पढ्न छाडेर रोजगारीका लागि कोरियाको भाषा परीक्षाको तयारी गरिरहेको देखेँ। वालिङ क्याम्पसमा स्नातक तहको कार्यक्रम नै धरापमा परेको देखेँ। बन्द व्यापार ठप्प देखेँ।
कहिलेकाहीँ भेट हुने व्यापारीहरु यो मन्दीको अवस्था कति रहन्छ भनेर सोध्ने गर्थे। वालिङ बजार आसपासको जमिन बाझो छ। भारतबाट आयातित तरकारी र फलफूल बजारमा व्याप्त छ। जग्गा दलालहरु गरिबका जग्गा न्यून मूल्यमा खरिद गर्ने र उनीहरुको बास उठ्ठा गर्न उद्दत देखिन्छन्।
मनोवैज्ञानिक दबाब दिएर भात खाउँ कि थाल खाउँ बनाउने प्रवृत्ति देखियो। ‘खेती गरेर केही हुँदैन’ भन्दै सीमान्तकृत कृषकलाई दबाब दिएर आफ्नो थातथलो र बासस्थान छोड्न बाध्य पारिएको छ। जग्गाको मूल्य आकाशिएको बेला कोरियाबाट ल्याएको रेमिटेन्स कृषि भूमि खरिद गर्नभन्दा बजारको साँघुरो घडेरी किन्दा आफ्नो आर्जन जोखिममा परेको गुनासो मसँग उनीहरु गर्दैथे। खेतीयोग्य जमिन खरिदबाट उत्पादन र रोजगारी सृजना हुन्छ भन्ने ध्यान छैन, ११ हात र १३ हातका घडेरी करोडमा खरिद गरेर अहिले ती घडेरी बेच्न नसक्दा आफूलाई फसाएको भन्दै आत्मबल गुमाएका छन्।
निराशा पश्चिमा मुलुकहरुमा पनि छ। बेलायतको पिउ अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ६० प्रतिशत पश्चिमाहरु भावी सन्ततिको आम्दानी अहिलेका बाबुआमाको भन्दा न्यून हुन्छ भनेर चिन्तित देखिन्छन्। युरोपभर पनि भावी सन्ततिको भविष्य संकटमा रहेको भाव व्यक्त भइरहेको छ।
थोमस हब्सका अनुसार पछिल्लो पुस्ताको जीवन एकांकीपन, गरिबी, न्यूनस्तरको (न्यास्टी) हुन्छ भन्ने गर्छन्। आर्थिकरुपमा प्रताडित जो छन् तिनलाई निराशाले झन् जटिल बनाएको छ। जब नागरिकले आफ्नो उन्नति हुने विषयमा शंका गर्छ त्यतिबेला राज्यले गर्ने परिवर्तनलाई पनि उनीहरुले आत्मसात गर्दैनन्। परिवर्तनले अवसर सृजना गर्छ भन्ने विश्वास नहुँदा त्यसलाई स्वीकार्न चाहँदैनन्। रिसाहा निराशावादीहरु, प्रियतावादीहरु (पपुलिस्ट) प्राय: अर्थ व्यवस्थामा हुन लागेको परिवर्तनलाई भ्रष्टाचार भएको र दलाली गरेको भन्ने शंकाको दृष्टिले हेर्छन्। यथास्थितिलाई उनीहरुले ध्वस्त पार्न चाहन्छन्। त्यसबाट आफूलाई फाइदा छैन भन्ने उनीहरुले हेक्का राख्दैनन्। निराशावादीहरु शाश्वत (सेल्फ फुल्फिलिङ) पनि हुँदैनन्।
अर्थशास्त्रीसमेत निराश
जेएस मिल, जसले उपयोगितावादको सिद्धान्तको विकास गरे उनले मानव खुसीलाई असम्भव मान्दथे। जीवनी लेखमा (अटोबायोग्राफी) उनले आफ्नो जीवनको पूर्वार्द्धमा उपस्थितिको कुनै अर्थ नरहेको भन्ने पढ्न पाइन्छ। हुन सक्छ त्यो वैयत्तिक जीवनको कुराहरु होलान्। उपयोगितावादमा निराशाको सत्यता समावेश हुन्छ। तर, उपयोगितावाद र निराशावाद एकैपटक सत्य नहुन पनि सक्छ। सबैभन्दा उच्चतम जीवनको खुसी कहीँ न कहीँ खड्किन सक्छ।
प्रसिद्ध अर्थशास्त्री जोन मेनार्ड किन्स पनि सन् १९३० को मन्दी देखेर निराश थिए। आर्थिक निराशाले बेलायतलाई पिरोलिरहेको बेला नातिनातिनाहरुको आर्थिक सम्भाव्यताबारे सात पृष्ठ लामो निबन्ध लेखेका थिए। समाजमा बेरोजगारी समस्या चर्को थियो। प्रगतिको सुस्तता र प्रगति नहुनुमा उनले दुई वटा कारण औंल्याएका छन्। प्रविधिमा देखिने र महसुस हुने गरी परिवर्तन नहुनु र पुँजी निर्माणको सुस्तताले बेरोजगारीको समस्या सृजना भएको उनको भनाइ थियो।
उनी भन्छन्- आर्थिक निराशाले हामीलाई नराम्रोसँग आक्रमण गरेको छ। सर्वसाधारणबाट यो सुन्न पाइन्छ कि आर्थिक प्रगति अब समाप्त भएको र अवनतिको सम्भावना मात्रै हाम्रै अगाडि दशकौंसम्म रहने देखिन्छ। यसरी दुई प्रसिद्ध अर्थशास्त्रीहरुसमेत निराशापनको भाव व्यक्त गर्नुको अर्थ कुनै आर्थिक परिदृष्यले निरासापनको संकेत गरेको हुन्छ। अहिले नेपाली समाजले व्यहोर्नु परेको समस्याको संकेत पनि यही हो।
युनिसेफले सन् २०२१ मा गरेको एक सर्वेक्षणले जलवायु परिवर्तन, गरिबी तथा असमानता, सरुवा रोग (प्यान्डेमिक), बढ्दो सामाजिक अविश्वास र चर्को राष्ट्रिय भावले नै निराशा बढाएको देखाएको छ। यो वातावरणबाट नेपाल अछुतो रहन सक्दैन। यो विकासको सामाजिक पक्ष हो। त्यसैले राजनीतिज्ञहरु यसबाट पन्छिन सक्दैनन्। यसबाट सिर्जित निराशालाई कमी गराउन नेपाली राजनीतिज्ञसँग कुनै योजना छैन। उनीहरु त व्यावसायिक घरानाहरुसँग नगद वा जग्गा दान लिन उद्दत छन्। कुनै व्यावसायिक घरानाको के मुद्दा छ खोजतलास गर्न आफ्ना कार्यकर्तालाई गुप्तचरको काम गर्न अराई पठाउने गर्छन्। मुद्दा निस्केमा त्यसैलाई पहाड बनाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने अहिलेको वातावरण छ।
प्रधानमन्त्रीलाई साफ महिला फुटबल हेर्न रंगशालामा पुग्दा दर्शकले देखाएको हर्कत निराशाको उदाहरण नै हो भन्दा अत्योक्ति नहोला।
मुलुक विचार, मन्थन र योजनाबाट बिमुख छ। नयाँ विचार र नयाँ सोच दिने व्यक्तिहरु थाकिसकेका छन्। कतिपय कार्यक्रममा दर्शक भएर विचार सुनिरहँदा दिग्दारी लागेर आउँछ। यसको अर्थ विचार र सोच नै जाँगरविहीन भएको देखिन्छ। अवकाश पाएका उच्च ओहदाका कर्मचारीहरुले विचार दिँदा ‘पदमा रहुञ्जेल के गरिस्, अहिले अर्ती दिन्छस्, जो चोर उसैको ठूलो स्वर’ भन्ने गाली सुनिन्छ। पदमा बस्दा उसले दिएको विचार सुन्ने फुर्सद र बुझ्ने क्षमता त्यो राजनीतिज्ञमा थियो त? उसले पक्कै पनि भ्रष्टाचारी सोच र योजना प्रस्तुत गरेको थिएन होला। एउटा सचिव आफ्नो कार्यकालमा ११ पटकसम्म सरुवा हुनुपर्ने कारण त्यस्तो केही थिएन होला। अहिले सहकारी ठगलाई मौलाउन सहयोग गर्नेहरु राजनीतिज्ञबाहेक अरु कोही थिए जस्तो लाग्दैन।
युग पाठक लेख्छन्- ‘मान्छेको दिलदिमागमा निराशाको भाष्यले समात्यो भने त्यो देश र समाज क्रमश: ध्वस्त र निरस्त बन्दै जान्छ। एक दिन सपनातुल्य त्यो भूमि घर फर्केर आउने छोराछोरी र आफन्तलाई बास दिन नसक्ने जर्जर हुन्छ।’ यो भनाइको गहिरो अर्थ लाग्छ।
युवाहरुमा समेत निराशपनले छपक्कै छाएको छ। यसको उदाहरण सागर ढकालले विद्या चापागाईंको साझा सवालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राखेको प्रश्नमा झल्किन्छ। ढकालले देउवालाई प्रश्न गरे- ‘सिंगापुरलाई ली क्वान युले ढुंगाबाट हिरा बनाइदिए, तपाईंले नेपालजस्तो हिरालाई ढुंगा बनाइदिनु भयो?’
प्राध्यापक युजेन थाकरले हामीलाई यो पनि सम्झाएका छन् कि निराशाले समाजलाई ध्वस्त बनाउँछ।
जर्मन दार्शनिक अर्थर सोपेनआवरलाई निराशाको दार्शनिक ठानिन्छ। उनले हिन्दु र बौद्धका धर्मग्रन्थ पढ्थे। नेपाली पनि सामाजिक र आर्थिक प्रभावले बढी नै निराश भए वा नेपाली समाजको सामाजिक र नैतिक ह्रासले यस्तो परिणाम आयो। कसैले आर्थिक र सामाजिक पक्ष कमजोर हुनु नै निराशाको कारण ठान्छन्। सामाजिक निराशा परिणामविहीन हुँदैन। सामाजिक निराशाको बेला भएका निर्वाचनमा प्रियतावादलाई मतदान गरेको पाइन्छ, जुन घोर दक्षिणपन्थी हो। यसका उदाहरण थुप्रै मुलुकमा पाइन्छन्। अर्को अर्थमा जातीय, क्षेत्रीय दलहरु माथि उठ्न सक्छन्। यो राज्य व्यवस्था, न्याय प्रणाली र लोकतान्त्रिक प्रणालीका विरुद्ध जेहाद छेड्ने गर्छन्। त्यसैले निराशा देखिएमा समयमै त्यसको निराकरण गर्नु वाञ्छित हुन्छ।
निराशा पक्कै पनि सचेत छनोट होइन। रोजगारीको अवसर नहुनु, आर्थिक वञ्चितिकरण हुनु, आर्थिक असमानता हुनु निराशाका कारक मान्ने गरिन्छ। ओलिभर जेम्सले त आर्थिक विषमतालाई निराशाको कारण ठान्छन्। इटालीका दार्शनिक जुलियस इभोलाले विश्व नै नैतिकविहीन अन्धकारतिर वा कलियुगतर्फ उन्मुख भएको बताउँछन्।
स्वावलम्वन समूहमा आबद्ध युवाहरु नकारात्मक सोचमा आआफैं बाँधिएका छन्। पीडा र कष्टलाई कसैलाई नदेखाइकन सहेर बसेको अवस्था पनि छ। जसलाई स्टोइक दर्शन पनि भनिन्छ। सेनेका दर्शनशास्त्री भनेजस्तो गरी आफ्नो आँखा चिम्लेर आदर्श जीवनलाई अनुमान र प्रक्षेपण गर्न छाडी आँधीखोलाका किनारै किनार हिड्ने, बाँसघारी मुनि लुक्ने, क्याम्पस र स्कुलका पछाडिपट्टी जम्मा हुने, लागुऔषध सेवा गरी आफ्नो जीवन बर्बाद गरेको पनि प्रशस्तै उदाहरण छन्। समाजको पछिल्लो बेन्चमा बस्ने हतास मनोविज्ञानको स्वरुप वालिङ बजारमा प्रशस्त देख्न पाइन्छ।

निराशा र अर्थव्यवस्था
अर्थ व्यवस्थामा गतिशीलता ल्याउने कारकमध्ये उपभोक्ता, लगानीकर्ता र व्यावसायिक घरानाको अपेक्षालाई महत्त्वको रुपमा हेरिने गरिन्छ। भविष्य प्रतिको उनीहरुको आशाले उपभोग, लगानी र रोजगारी बढ्ने गर्छ। निराशाको असर ठिक विपरीत हुन्छ। व्यक्तिगत बचत बढ्ने गर्छ किनकि उपभोक्ताले खर्च गर्न तयार हुँदैनन्। व्यवसायीको अपेक्षा नकारात्मक हुँदा लगानी हुँदैन। त्यसैले यही परिस्थितिलाई जोन मेनार्ड किन्सले ‘एनिमल स्पिरिट’को संज्ञा दिए। यसको सही निधान सरकारी हस्तक्षेप हो।
शास्त्रीय अर्थशास्त्रीहरु दिगो आर्थिक वृद्धि र व्यवस्थित समाजलाई अर्थ व्यवस्थाको आशावादी ठान्दछन्। सरकारी हस्तक्षेपले निराशपनलाई हटाउने हुँदा सरकारको लगानी वृद्धिको अपेक्षा राख्छन्। नोबेल पुरस्कार विजेता अर्थशास्त्रीद्वय जर्ज एकरलफ र रोबर्ट शिलरले संज्ञानात्कम (कग्निटिभ) र मनोविज्ञानका आधारमा एनिमल स्पिरिटलाई पाँचवटा पक्षमा विभाजन गरेका छन्, आत्मविश्वास, भ्रष्टाचार, मौद्रिक भ्रम, स्वच्छता एवम् पारदर्शिता र विगतको इतिहास। आशा र निराशाको चक्र एवम् पृष्ठ सूचनाले बजारको इमान्दारितालाई बढावा दिन्छ।
भ्रष्टाचार वा सरकारी साधनको दुरुपयोगले समाजमा नकारात्मक सन्देश फैलाउँछ र बजारलाई इमान्दारिताबाट टाढा राख्छ। मौद्रिक भ्रमले ज्याला यथार्थ हुन सक्दैन र मूल्यवृद्धि भएको कुरा श्रमिकले थाहा पाउँदैन र उसको शोषण हुन्छ। विगतमा भएका राम्रा पक्षको प्रभाव राम्रो पर्ने र नराम्रोको प्रभाव नराम्रो पर्ने भएकाले विश्वसनीयता गुम्ने गर्छ। त्यसैले सरकारले आफ्ना नीति अख्तियार गर्दा यिनै कुराहरुलाई ध्यानमा राख्ने अपेक्षा समाजले गर्छ।