क्यानका डीजी र कतार एयरवेजका प्रतिनिधिबीच सवाल जवाफ, ‘भाडा नघटाए उडान बन्द गर्नुस्’

बिजमाण्डू
२०८१ कात्तिक २४ गते १७:२१ | Nov 9, 2024
क्यानका डीजी र कतार एयरवेजका प्रतिनिधिबीच सवाल जवाफ, ‘भाडा नघटाए उडान बन्द गर्नुस्’

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हवाई भाडा ६ गुणासम्म बढाएको भन्दै कतार एयरवेजका प्रतिनिधिसँग आक्रोशित भएका छन्।

Tata
GBIME
NLIC

अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरूसँग शनिबार भएको बैठकका क्रममा महानिर्देशक अधिकारी आक्रोशित सुनिएका हुन्।

बैठकमा अधिकारीले काठमाडौं-दोहा-बाकु टिकट ३ लाख ६४ हजार रुपैयाँमा बिक्री गर्नुको कारण सोधेका थिए। जवाफमा नेपालका लागि कतार एयरवेजका कमर्सियल म्यानेजर सारिक बोगटीले एउटै उडान हुँदा महँगो हुन पुगेको बताएका छन्।

तर सोही रुटमा इण्डिगोले ७६ हजार रुपैयाँ भाडादर लागू गरेको महानिर्देशक अधिकारीले सम्झाएका थिए।

बोगटीले यही नै कतारको हाइफेयर रहेको र राष्ट्रपतिलाई पनि यही भाडादर लागू हुने बताएका छन्।

‘कतार ठूलो वायुसेवा कम्पनी हो। यसो भन्दैमा ६ गुणा बढी हवाई भाडादर लागू गर्न मिल्छ?,’ महानिर्देशक अधिकारीले प्रश्न गरेका छन्, ‘हामीले ५ महिना अगाडि नै विमानस्थल बन्द हुने जानकारी गराएका थियौं। अनि ६ गुणा भाडादर लागू गरेर यात्रुमा ह्याभोक क्रिएट गर्ने?’

कतार एयरवेजको यतिखेर ३ वटा उडान काठमाडौंबाट र एउटा उडान भैरहवाबाट हुने भएपछि नेपालतर्फ दैनिक ४ वटा उडान हुने उनले बताए।

उनका अनुसार गत वर्ष यही समय टीआइएमा दैनिक ३ वटा उडान गरेको थियो। टीआइएबाट उडान गर्न नदिने भएपछि यसपटक कतार एयरवेज भैरहवा जान लागेको महानिर्देशक अधिकारीले एयरवेजका कमर्सियल म्यानेजर बोगटीलाई जानकारी गराए। बोगटीले भने गत वर्ष जहाज कम भएका कारण भैरहवाबाट उडान गर्न नसकेको बताएका छन्।

‘भैरहवामा कतारलाई एउटा उडान दिइएको छ। घटेको उडान संख्या जम्मा एउटा हो। पोहोर साल यो सिजनमा ३ वटा मात्र उडान थियो। डेटामा जानुपर्‍यो नि,’ महानिर्देशक अधिकारीले भने, ‘अहिले आएर कतारले गरेको गल्तीको भागीदार हामी हुनुपर्ने?’

बोगटीले ८५ प्रतिशत उडान बुक भइसकेको बताउँदै गर्दा महानिर्देशक अधिकारीले ५ महिना अगडि नै गराएको जानकारी किन पालना नभएको भन्दै प्रश्न गरे। यसको जवाफमा कतारका कमर्सियल म्यानेजर बोगटीले गत ५ जुनमै अप्लाइ गरेको र अक्टोबरमा पर्मिसन पाएको बताए।

१० घण्टा विमानस्थल बन्द हुने जानकारी गराउँदा पनि कतारले मनलाग्दी टिकट बिक्री गर्नु अस्वाभाविक रहेको महानिर्देशक अधिकारीले बताए।

उनले कतार एयरवेजलाई कि त सामान्य भाडादर लागू गर्ने कि उडान बन्द गर्ने विकल्प दिएका छन्। कतार एयरवेजले उडान नगर्ने हो भने स्लट अर्को वायुसेवालाई दिने चेतावनी उनले दिए।

यसको जवाफमा कतारका कमर्सियल म्यानेजर बोगटीले आफ्नो मुख्यालयमा यो विषयमा पत्राचार गर्ने बताए। ‘प्रिमियर एयरलाइनले ६ गुणा भाडादर लिन नहुने’ विषयमा कतारका कमर्सियल म्यानेजर बोगटीले कम्पनीको व्यावसायिक रणनीति अनुसार भाडादर लिएको दाबी गरेका छन्।

‘कस्ट हाम्रो हातमा हुँदैन। हामी ग्लोबल हौं। बीड प्राइस हुन्छ। जुन कम्पनीले बढी पैसा दिन्छ उसैलाई सिट दिन्छौं,’ बोगटीले भने।