काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु भएर काठमाडौंबाट उडान-अवतरण समय कटौतीसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नेपाल आउजाउको हवाई भाडादर चार गुणाभन्दा बढीले चर्को बनाएका छन्। कम्पनीहरुले भाडा अचाक्ली बढाउँदा नेपाल आउजाउ गर्ने पर्यटकसँगै वैदेशिक रोजगारीका श्रमिक मर्कामा परेका छन्।
भाडादर चर्को बनाइएपछि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीको आधिकारिक जीएसएलाई छलफलका लागि बोलाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीका आधिकारिक जेनरल सेल्स एजेन्टलाई शनिबार दिउँसो छलफलका लागि बोलाएका हुन्।
प्राधिकरणका एक कर्मचारीका अनुसार महँगो भाडादर निर्धारण गर्ने वायुसेवालाई कार्बाही गर्ने तयारी छ।
‘टीआइएको ट्याक्सीवे स्तरोन्नति गर्नका लागि १० घण्टा विमानस्थल सेवा बन्द हुने कुरा ५ महिना अगाडि नै सूचना जारी गरिएको थियो,’ ती कर्मचारीले भने, ‘टीआइएको उडान भैरहवा र पोखराबाट गर्नका लागि विशेष छुटसहितको विकल्प दिइएको थियो। तर, अहिले उडान कटौती भएर भाडादर महँगिएको तर्क राख्दै यात्रुलाई अप्ठ्यारो हुने काम भइरहेको छ।’
अस्वाभाविक रूपमा भाडादर बढाइएको विषयमा प्राधिकरणलाई जानकारी आएपछि वायुसेवा कम्पनीसँग छलफल राखिएको उनले जानकारी दिए।
हवाई भाडावृद्धि भएको विषयमा शुक्रबार वैदेशिक रोजगार व्यवसायीले परराष्ट्रमन्त्री आरजु राणा, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाइसकेका छन्। उनीहरुले शुक्रबारको भेटघाटमा वायुसेवा कम्पनीहरुले त्रिभुवन विमानस्थल सञ्चालनको समय केही घण्टा घटेको बहानामा भाडा मनपरीरूपमा बढाएको गुनासो राखेका छन्।
त्रिभुवन विमानस्थल ट्याक्सीवे विस्तारका कारण शुक्रबारदेखि दैनिक १४ घण्टा मात्र संचालन हुने भएपछि अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत कटौती भएको छ। उडान कटौतीलाई कारण देखाएर वायुसेवा प्रदायक कम्पनीहरुले विभिन्न गन्तव्यको भाडा पाँच गुणासम्म बढाएका छन्। कतिपय गन्तव्यमा टिकट नै नपाइने अवस्था छ।
महँगो हवाई भाडादरको प्रत्यक्ष प्रभाव श्रम गन्तव्यमा आउजाउ गर्ने नेपाली र नेपाल भ्रमणका लागि आउजाउ गर्ने पर्यटकमा पर्न गएपछि आकस्मिक बैठक डाकेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।
‘४ वटा उडान गर्ने वायुसेवाको एउटा उडान कटौती गर्दा एकैपटक कसरी र किन ४ गुणाले हवाई भाडा वृद्धि गराइयो?,’ उनले भने, ‘नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको उडान यथावतै छ। यो अवस्थामा पनि हवाई भाडादर बढ्नु गम्भीर विषय हो। त्यसै कारण आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिलाई आकस्मिक बैठक डाकिएको हो।’
यो पनि पढ्नुस् – अन्तर्राष्ट्रिय गन्तव्यमा मंसिरसम्मका लागि छैन सस्तो हवाई टिकट, भाडा ४ गुणासम्म वृद्धि