अन्तर्राष्ट्रिय गन्तव्यमा मंसिरसम्मका लागि छैन सस्तो हवाई टिकट, भाडा ४ गुणासम्म वृद्धि

वसन्तराज उप्रेती
२०८१ कात्तिक १६ गते २०:०५ | Nov 1, 2024
अन्तर्राष्ट्रिय गन्तव्यमा मंसिरसम्मका लागि छैन सस्तो हवाई टिकट, भाडा ४ गुणासम्म वृद्धि

काठमाडौं । दुई सातापछि काठमाडौंबाट नयाँ दिल्ली जानुपर्ने छ भने तपाईँले हवाई भाडा अहिलेभन्दा चार गुणासम्म महँगो तिर्नुपर्ने भएको छ। ठीक दसैंको मुखमा काठमाडौं-धनगढीभन्दा काठमाडौंबाट दिल्लीसम्मको हवाइ यात्रा सस्तो थियो।

Tata
GBIME
NLIC

तर, अबको सातादेखि अन्तर्राष्ट्रिय उडान अप्रत्यासित महँगिएको मात्र होइन, महँगो दरमा समेत टिकट नपाइने अवस्था छ। मंसिरसम्मका लागि सस्तो टिकट नै उपलब्ध छैनन्।

नयाँ दिल्ली जाने हो भने कात्तिक १८ गते आइतबार २७ हजार रुपैयाँमा केही सिट उपलब्ध देखिन्छ। तर, त्यसपछिका दिनमा प्रति सिट कम्तिमा पनि १० हजार रुपैयाँ महँगो भइसकेको छ। हवाई टिकट किन्न मिल्ने अनलाइनहरुमा उपलब्ध मूल्य अनुसार २३ गते सबैभन्दा सस्तो टिकट छ – ६१ हजार रुपैयाँको।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा ट्याक्सी-वे विस्तारका लागि कात्तिक २३ गतेबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत कटौती गर्ने भएपछि हवाई भाडादर अकासिएको हो। दिल्लीमात्र होइन, नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा हुने उडानको भाडा ४ गुणासम्म बढेको छ।

दैनिक ४ वटा उडान गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको ५० प्रतिशत उडान क्यानले कटौती गरेसँगै हवाई यात्रा महँगो बन्न पुगेको हो। उडान सीमित हुनासाथ विमानसेवा कम्पनीहरुले मूल्य अधिक गराउन थालेका छन्। यसले हवाई यात्रा धेरैको बुताबाहिर बन्न पुगेको छ।  

भारतमात्र होइन, दुबइ र कतारतर्फको हवाई भाडादर पनि अत्याधिक वृद्धि भएको छ। नेपालतर्फ दुईतर्फी उडान गर्दै आएका एयर इण्डिया, एयर इन्डिगो, फ्लाइ दुबइ, एयर अरेबिया र कतर एयरवेजले गर्दै आएको उडानमा भाडादर ह्वात्तै बढेको छ। यतिखेर तिनै गन्तव्यको यात्रा महँगो भएको छ जहाँ सबैभन्दा धेरै यात्रुको चाप हुने गर्छ।

हवाई भाडादर वृद्धि हुँदा भारतका विभिन्न शहरमा शैक्षिक, व्यापार र स्वास्थ्य परीक्षणका लागि आउजाउ गर्नेहरु प्रत्यक्ष प्रभावित हुनेछन्।

तीन गन्तव्यको भाडादर कति ?

गन्तव्यसामान्य अवस्थाको भाडादरकात्तिक २३ गतेको सुरुवाती भाडाकात्तिक २३ गतेको अधिकतम भाडा
काठमाडौं-दिल्ली९,०००/-४५,०००/-६७,०००/-
काठमाडौं-दोहा३०,००० /-६५,०००/-१,८९,९९१/-
काठमाडौं-दुबइ३०,००० /-७९,१८८/-२,०२,६५९/-

हाल काठमाडौं दिल्लीतर्फ नेपाल वायुसेवा निगम, एयर इण्‍डिया, एयर इण्डिगो र भिस्ताराले सिधा उडान गर्दै आएका छन्। एयर इण्डिया र इण्डिगोको उडान कटौतीका कारण सुरुवाती भाडादर नै ४५ हजार रुपैयाँ कायम भएको हो।

दोहामा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र कतार एयरवेजले नियमित सिधा उडान गर्दै आएका छन् भने दुबइमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, फ्लाइ दुबईले सिधा उडान गर्ने गरेका छन्।

कम उडान हुने वित्तिकै यात्रुको माग धेरै भएपछि सीमित र महँगो टिकट मात्र उपलब्ध रहेको वायुसेवा कम्पनीले जनाएका छन्।

‘उडान संख्या कटौती भएलगत्तै माग वृद्धि हुनु स्वाभाविकै हो। अन्तर्राष्ट्रिय उड्डयन उद्योगको प्रचलन अनुसार माग धेरै भएको अवस्थामा भाडादर स्वचलित रुपमा वृद्धि हुने गरेको छ,’ एक वायुसेवा कम्पनीका प्रतिनिधिले भने।    

महँगो टिकट पनि छैन

कात्तिक २३ गते दिल्ली यात्राका लागि सबैभन्दा सस्तो टिकट हो – ६१ हजार। यो समाचार तयार पारिरहँदा त्यही मूल्यमा जम्मा ९ सिटमात्र उपलब्ध देखिन्छ। नन रिफन्डेबल मूल्य नै यति हुनु र त्यसमा पनि सिट कम देखिनुले हवाई यात्रा आर्थिक हिसाबले महँगो हुने प्रष्ट्याउँछ।

डिमान्ड र सप्लाइका आधारमा मूल्य निर्धारण हुने भएकाले यात्रु भएनन् भने मूल्य केही कम हुनसक्छ। तर, आधा उडान कटौतीको अवस्थामा मूल्य घटे पनि सामान्य अवस्थामाभन्दा महँगो नै हुने निश्चित छ।

टीआईएबाट कम उडान हुँदा र महँगो पर्दा भैरहवा वा भद्रपुर हुँदै भारतीय विमानस्थल पुगेर अन्तर्राष्ट्रिय उडान गर्ने चलन पहिलेदेखि नै छ। एक ट्राभल एजेन्सीका प्रतिनिधिले अब त्यही प्रवृत्ति दोहरिने जानकारी दिए।

‘अहिले दिल्ली जान नै एकतर्फी भाडादर झण्डै ५० हजार रुपैयाँ पुगिसकेको छ। सीमा क्षेत्र हुँदै जाँदा १७ हजारमा दिल्ली जान सुरु गरिसकेका छन् नेपालीहरु,’ उनले भने, ‘यता दुबइ र कतार पनि एयर इण्डिया, इण्डिगो लगायत वायुसेवामार्फत ३०-३५ हजार रुपैयाँमै कनेक्टिङ फ्लाइट गर्न सक्ने भएपछि उतै डाइभर्ट भएका छन्।’