काठमाडौं। सञ्चालनमा आएको अढाइ वर्षसम्म नियमित व्यावसायिक उडानले निरन्तरता पाउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब भने गुल्जार हुने भएको छ। काठमाडौंबाट हुँदै आएका अन्तर्राष्ट्रिय उडानहरुले विकल्प छनोट गर्नैपर्ने बाध्यता भैरहवाले बिजनेस पाउने बाटो बनेको हो।
जजिरा एयरवेजले केही समय उडान गरेर सेवा बन्द गरेको यो विमानस्थलमा अहिले पाँच वटा वायुसेवा प्रदायक कम्पनीले नियमित व्यावसायिक उडान गर्ने पक्का भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी-वे विस्तारका लागि दिनमा १४ घण्टा मात्रै सञ्चालन हुने भएपछि वायुसेवा कम्पनीहरु एकपछि अर्को गरी भैरहवा जान थालेका हुन्।
त्रिभुवन विमानस्थलमा ३० प्रतिशतसम्म उडान कटौती भएपछि वायुसेवा प्रदायक कम्पनीहरुले विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जानैपर्ने भएको हो। वायुसेवा प्रदायकका लागि यो बाध्यताले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको संख्या बढाएको छ।
थाइ एयर एसियाले कात्तिक १८ गतेबाट भैरहवा-बैंकक उडान थालिसकेको छ भने जजिरा एयरवेजले शनिबारबाट भैरहवामा सेवा सुरु गरेको छ। फ्लाइ दुबइ र नेपाल वायुसेवा निगम शनिबारदेखि भैरहवामा उडान गर्दैछन्।
कतार एयरवेज पनि भैरहवाबाट उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिने प्रक्रियाको अन्तिम चरणमा छ।
नेपाल वायुसेवा निगमले शनिबारबाट काठमाडौं-भैरहवा-दुबई उडान गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए।
उनका अनुसार निगमले सातामा ४ दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार दुबईतर्फ उडान गर्नेछ। शुक्रबार नै गर्ने भनिएको उडान कारणवश शनिबारका लागि सारिएको उनले बताए।
निगमले यसअघि सातामा मंगलबार क्वालालाम्पुरबाट काठमाडौं फर्किने क्रममा यात्रु झार्न भैरहवामा जहाज अवतरण गर्दै आएको थियो।
कतार एयरवेजले आगामी मंगलबारदेखि भैरहवाबाट उडान गर्ने तयारी गरेको छ। उसको अनुमति प्रक्रिया अन्तिम चरणमा रहेको रावतले जानकारी दिए। त्रिभुवन विमानस्थलबाट सातामा २८ उडान गर्दै आएको कतार एयरवेज १५ हजार वटा टिकट बिक्री गरिसकेका कारण भैरहवाबाट उडान गर्न हतारिएको छ।
त्रिभुवन विमानस्थलमा ट्याक्सी वे विस्तारका कारण यो वायुसेवाका आधा उडान कटौतीमा परेका छन्। त्यसैले कम्पनीलाई भैरहवाबाट उडान गर्नुको विकल्प छैन।
गत आइतबारदेखि गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु गरेको थाइ एयर एसियाले अर्को साताबाट सोमबार र बिहीबार उडान गर्ने तालिका छ।
जजिरा एयरवेजले शनिबारदेबाट भैरहवामा उडान सुरु गरेको छ। जजिराको जहाज कुवेतबाट बिहान ७:३० बजे भैरहवा आइ बिहान ८:३० बजे कुवेतका लागि उडेको छ।
यो वायुसेवाले २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि भैरहवाबाट उडान थालेकामा प्राविधिक कारण देखाउँदै १० महिनामा सेवा बन्द गरेको थियो।
फ्लाई दुबईले दुबई-भैरहवा–काठमाडौं उडान गर्ने गरी टिकट बिक्री सुरु गरिसकेको छ। फ्लाई दुबईको जहाज दिउँसो १:४५ मा भैरहवा र २:४५ मा काठमाडौं आउनेछ। काठमाडौंमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर जहाज दुबई उड्ने तालिका छ।
कम्पनीले हप्तामा सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो। यो उडान भैरहवा-दुबईसँगै कोड सेयरिङ अन्तर्गत गर्ने तयारी कम्पनीको छ। कम्पनी नोभेम्बरभित्रै भैरहवा-दुबई सिधा उडान थप गर्ने तयारीमा छ।
विभिन्न वायुसेवा प्रदायक कम्पनीले उडान गरेपछि भैरहवा क्षेत्र गुल्जार हुनेछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर खुलेका होटलले ठूलो राहत पाउनेछन्।
यसअघि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा होटलहरु निक्कै अप्ठेरोमा परेका थिए। त्यहाँ अब होटलसँगै अरु क्षेत्र व्यवसाय पनि चलायमान हुनेछ।