पाँच महिनालाई टीआईए १० घण्टा बन्द, अब आन्तरिक र अन्तर्राष्ट्रिय उडानको यस्तो हुनेछ तालिका

वसन्तराज उप्रेती
२०८१ कात्तिक २३ गते १२:२२ | Nov 8, 2024
पाँच महिनालाई टीआईए १० घण्टा बन्द, अब आन्तरिक र अन्तर्राष्ट्रिय उडानको यस्तो हुनेछ तालिका

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका क्रममा शुक्रबार राति १० बजेबाट दैनिक १० घण्टा बन्द हुने भएपछि त्यसको असर हवाई सेवामा परेको छ। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको सेवामा असर परेको हो।

Tata
GBIME
NLIC

त्रिभुवन विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ करिब २० र अन्तर्राष्ट्रियतर्फ ३० प्रतिशत उडान कटौती गरिएको छ। सबै वायुसेवाको उडान कटौती गरिएको हो।

ट्याक्सी वे विस्तारका लागि विमानस्थल राती १० बजेदेखि बिहान ८ बजेसम्म ५ महिनाका लागि बन्द गरिंदैछ। त्रिभुवन विमानस्थल यसअघि दैनिक २१ घण्टा सञ्चालन हुने गरेकामा अब १४ घण्टा मात्र खुल्ने भएकाले उडान कटौती गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

टीआईए १० घण्टा बन्द हुने भएपछि आन्तरिकतर्फ कुल १२८ र अन्तर्राष्ट्रियतर्फ ३६ वटा उडान हुने भएको छ। बुद्ध एयरको १५ वटा उडान कटौतीमा परेको छ। बुद्धले पोखरामा तीन तथा सुर्खेत भद्रपुर र भैरहवामा २/२ उडान कटौती गरेको हो। बुद्धले ८८ वटा उडान गर्ने भनेपनि दैनिक सरदर ७२ वटा गर्दै आएको थियो।यती एयरलाइन्सको १२ वटा उडान कटौती भएको छ। कम्पनीले अब दैनिक २३ वटा उडान गर्नेछ।

श्री एयरलाइन्सले पोखरा, भैरहवा र नेपालगंजमा १/१ उडान घटाएको छ। यो कम्पनीले यसअघि विभिन्न गन्तव्यमा दैनिक २४ उडान गर्दै आएकामा शुक्रबारदेखि २१ उडान गर्ने भएको छ। विमानस्थलले सन् २०२३मा गरेको उडान तालिकालाई आधार बनाएर आन्तरिक हवाई कम्पनीको उडान सेड्युल दिएको हो।

काठमाडौंबाट आन्तरिकतर्फ कुन वायुसेवाको कति उडान?

वायुसेवा  कम्पनीको नामउडान संख्या
बुद्ध एयर६९
यती एयरलाइन्स२३
श्री एयरलाइन्स१८
सीता एयर
समिट एयर
तारा एयर
नेपाल वायुसेवा निगम
स्रोत : त्रिभुवन विमानस्थल कार्यालय

अन्तर्राष्ट्रियतर्फ शुक्रबार ३३ वटा नियमित र ३ वटा चार्टर्ड उडानको तालिका रहेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

दोहा, दुबई, नयाँ दिल्ली, कोलकत्ता, बैंगलोर र मुम्बईमा हुने उडान संख्या कटौती भएको छ। दोहा, दुबई र भारतका विभिन्न गन्तव्यमा सातामा २८/२८ हुँदै आएकामा त्यो संख्या ५० प्रतिशतले घटाइएको छ।

निरौलाले समग्रमा आन्तरिकतर्फ करिब २० र अन्तर्राष्ट्रियतर्फ ३० प्रतिशत उडान कटौती भएको बताए। क्यानले सन् २०२३ मा लागू गरिएको उडान तालिकालाई आधार मानेर संख्या घटाएको हो। उडान संख्या कटौती भएपनि आन्तरिक उडानमा खासै असर नपर्ने क्यानको दाबी छ। यसअघि पनि स्वीकृत तालिका अनुसार सबै उडान हुने गरेको थिएन।

स्तरोन्नति चैतसम्म सकिएला ?

क्यानका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले लक्षित समयभन्दा अगाडि नै ट्याक्सी वे विस्तार गर्ने बताए। 

‘ट्याक्सी वे विस्तारका लागि ५ महिनाको समय तोकिएको छ। हामी सकेसम्म ५ महिना पूरा समय लिने पक्षमा छैनौं। विमानस्थल बन्द गर्नुपर्दाको असर उडान कटौती भएकाले चैत अगावै काम सक्ने योजना छ,’ उनले भने, ‘दिउँसो पनि काम भइरहेको छ।’

आयोजना निर्देशक श्रेष्ठका अनुसार ट्याक्सी वे विस्तारको कामका लागि ३०० जनशक्ति परिचालित छन्। रातिको समयमा करिब एक सय जनशक्ति परिचालन गर्ने योजना रहेको उनले बताए।

क्यानले एयर ट्राफिक कन्जेसन कम गर्नका लागि ट्याक्सी-वे विस्तार अगाडि बढाएको हो। धावन मार्गको मध्य भागबाट चारैतिर ७५ मिटर ट्याक्सी-वे विस्तारको काम हुनेछ। ७ वटा ट्याक्सी-वेलाई धावनमार्गसँग जोड्ने क्यानको तयारी छ।

ट्याक्सी वे विस्तारको काम एभिक इन्टरनेसनलले गरिरहेको छ। यो आयोजना सवा सात अर्ब लागतको हो। ट्याक्सी वे विस्तारको काम सकिएपछि धावन मार्गको क्षमता २० प्रतिशतले बढ्ने र एयर ट्राफिक कन्जेसन कम हुने भनिएको छ।