
काठमाडौं। निर्जीवन बीमा कम्पनीको व्यवसाय सवारीसाधन र सम्पत्ति बीमाले धानेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ कम्पनीले तीन महिनामा आर्जन गरेको प्रिमियममा मोटर बीमाको हिस्सा सर्वाधिक ३०.५१ प्रतिशत छ।
कम्पनीहरुले यव आर्थिक वर्ष असोज मसान्तसम्म मोटर बीमाबाट ३ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। आर्थिक शिथिलताका बाबजूद कम्पनीहरुले व्यवसाय वृद्धि गरेका हुन्। पोहोर तीन महिनाको तुलनामा मोटर बीमाबापत प्रिमियम संकलन ७.७५ प्रतिशतले बढेको छ।
यस्तै, कम्पनीहरुले चालु वर्ष तीन महिनामा सम्पत्ति बीमाबापत ३ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। निर्जीवन बीमा व्यवसायमा यो हिस्सा २८.०५ प्रतिशत हो।
गत वर्ष पहिलो त्रैमासको तुलनामा यसपालि सम्पत्ति बीमा २०.७२ प्रतिशतले वृद्धि भएको छ। प्राधिकरणको नीतिले सम्पत्ति र सवारीसाधन इन्स्योरेन्सको व्यवसाय बढ्दै गएको हो।
मोटर बीमामा तेस्रो पक्षको इन्स्योरेन्स अनिवार्य गरिएको छ भने सम्पत्ति बीमामा गत कात्तिकदेखि हुलदंगा र आतंकवादको जोखिम अनिवार्य गरिएको छ।
निर्जीवन बीमातर्फ हवाई इन्स्योरेन्सको प्रिमियम संकलन भने ८.७५ प्रतिशतले घटेको छ। निर्जीवन बीमा व्यवसायमा हवाई इन्स्योरेन्सको हिस्सा ४.७३ प्रतिशत छ।
कुल निर्जीवन बीमा व्यवसायमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाको योगदान १२.२२ प्रतिशत छ। यो बीमाबापतको प्रिमियम संकलन यसपालि तीन महिनामा पोहोर सोही अवधिको तुलनामा ७.४७ प्रतिशतले बढेको छ।
सरकारले प्रिमियममा ८० प्रतिशत अनुदान दिंदा पनि कृषि तथा बाली बीमाको हिस्सा भने ५ प्रतिशतमा सीमित छ। कृषि तथा बाली बीमाको प्रिमियमबापत सरकारले वार्षिक २ अर्ब रुपैयाँ हाराहारी अनुदान दिने गरेको छ।
त्यति हुँदा पनि यो वर्ष पहिलो तीन महिनामा कृषि तथा बाली बीमाको प्रिमियमबापत ५८ करोड ३८ लाख रुपैयाँ मात्र प्रिमियम संकलन भएको छ।
लघुबीमाको हिस्सा सबैभन्दा न्यून १.६५ प्रतिशत छ। निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ११ अर्ब ५७ करोड रुपैयाँको व्यापार गरेका छन्।
निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको व्यापार (रु लाखमा)
बीमा लेख | २०८१/८२ | २०८०/८१ | वृद्धि % | कुल निर्जीवन बीमा व्यवसायमा योगदान % |
सम्पत्ति | ३२४६२.२१ | २६८९१.५९ | २०.७२ | २८.०५ |
सामुन्द्रिक | ६२९२.८७ | ६१६१.९९ | २.१२ | ५.४४ |
हवाई | ५४७१.०१ | ५९९५.८२ | -८.७५ | ४.७३ |
मोटर | ३५३०६.९६ | ३२७६८.८३ | ७.७५ | ३०.५१ |
इन्जिनियरिङ तथा ठेकेदार | १४१३८.३२ | १३१५५.५६ | ७.४७ | १२.२२ |
कृषि तथा बाली | ५८३८.६७ | ५३११.०९ | ९.९३ | ५.०४ |
लघु | १९१२.५१ | १५३.९९ | ११४१.९७ | १.६५ |
विविध | १४३१३.६७ | १४१०८.५० | १.४५ | १२.३७ |
कुल बीमा शुल्क | ११५७३६.२२ | १०४५४७.३७ | १०.७ | १०० |