काठमाडौं। वायुसेवा सञ्चालक संघ (आओन)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम तदारुकतासाथ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई आग्रह गरेको छ।
क्यानले स्तरोनन्तिका लागि त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द गर्न लागेको पृष्ठभूमिमा आओनले बुधबार प्रेस विज्ञप्ति जारी गरी लक्षित समयमा काम पूरा गर्न आग्रह गरेको हो। क्यानले ट्याक्सी वे विस्तारका लागि चैत १८ सम्म विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्ने यसअघि नै बताइसकेको छ।
विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत कटौती हुनेछन्। ‘उडान ३० प्रतिशत कटौती हुने भएपनि विमानस्थल विस्तारको विषयमा संघ सदैव सकारात्मक छ। पूर्वाधार निर्माणपश्चात आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा सहज हुनेछ,’ संघले विज्ञप्तिमा भनेको छ।
संघले सन् २०२५ को स्प्रिङ सिजनसम्म पनि विमानस्थल स्तरोन्नतिको काम नसकिए वायुसेवा कम्पनीहरु घाटा थेग्न नसकेर बन्द गर्नुपर्ने अवस्था आउनेतर्फ क्यानको ध्यानाकर्षण गराएको छ।