टिकटक नेपालमा करको दायरामा, मेटा र एक्सपछि टेलिग्रामलाई पत्राचार गर्दै सरकार

बिजमाण्डू
२०८१ कात्तिक २१ गते १२:५८ | Nov 6, 2024
टिकटक नेपालमा करको दायरामा, मेटा र एक्सपछि टेलिग्रामलाई पत्राचार गर्दै सरकार

काठमाडौं। भिडियो सेयरिङ प्लाटफर्म टिकटक नेपालमा दर्ता भएको छ। आन्तरिक राजस्व विभाग मातहतको कार्यालयबाट प्यान नम्बर लिएपछि टिकटक नेपालमा दर्ता भएको हो।

Tata
GBIME
NLIC

सामाजिक सञ्जाल दर्ता गर्न अनिवार्यरुपमा सम्बन्धित कम्पनीले प्यान नम्बर लिनुपर्छ। अब टिकटकले नेपालभित्र गर्ने कारोबारमा अनिवार्य कर तिर्नुपर्ने हुन्छ।

नेपालमा दर्ता हुन टिकटकले दिएको निवेदन सञ्चार तथा सूचना प्रविधि मन्त्रायलले तिहारअघि नै स्वीकृत गरेको थियो। स्वीकृत भएको पत्र टिकटकले मंगलबार बुझेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालको विद्यमान कानुनअनुसार आफ्ना गतिविधि सञ्चालन गर्न राजी भएको बताए। नेपाली भूभागभित्र नेपालको कानून अनुसार सञ्चालन हुने भएकाले त्यसविपरीतका गतिविधि भए टिकटकमाथि सरकारले कारवाही अगाडि बढाउन सहज हुने ठाकुरले बताए।

‘नेपालको कानूनविपरीतका कन्टेन्ट टिकटकमा आए नेपाल प्रहरीको साइबर ब्यूरोमार्फत कारवाही अघि बढ्छ। कारवाही गर्न सक्ने प्रविधि प्रहरीसँग छ। सरकारले तुरुन्तै चिठी लेखेर साइबर ब्यूरोमार्फत एकद्वार नीतिअनुसार कन्टेन्ट नियमन हुन्छ। कन्टेन्ट हटाउनु परे पनि यही विधि प्रयोग हुन्छ। त्यसमा टिकटकले सघाउँछ,’ ठाकुरले भने।

टिकटकको सिंगापुर कार्यालयले नेपाल हेर्नेछ। टिकटकले नेपालमा रामबहादुर थापालाई सम्पर्क व्यक्ति तोकेको छ।टिकटकसँग कुनै समन्वय गर्नुपरे सरकारले थापामार्फत संवाद गर्नेछ।   

त्यसैगरी, साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धान गर्न टिकटकले साइबर ब्यूरोलाई छुट्टै उपकरणसमेत उपलब्ध गराएको ठाकुरले जानकारी दिए। टिकटकले डिजिटल शिक्षा र नेपालको पर्यटन प्रवर्धननमा समेत सहयोग गर्नेछ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव बिथोलेको भन्दै गत वर्ष कात्तिक २७ गतेदेखि चिनियाँ भिडियो सेयरिङ प्लाटफर्म टिकटकमा लगाएको प्रतिबन्ध मन्त्रिपरिषद्‍ले भदौ ६ गते हटाउने निर्णय गरेको थियो। सर्त मान्न तयार भएपछि टिकटक भदौ २० गतेदेखि चल्न थालेको थियो।

यसअघि नेपालमा भाइबर र ह्वीटक दर्ता भएका थिए। सञ्चार मन्त्रालयले फेसबुकको माउ कम्पनी मेटा, एक्सलगायत सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ। टेलिग्रामलाई पनि छिट्टै पत्राचार गर्ने तयारीमा सञ्चार मन्त्रालय छ।