काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन्।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो।
इन्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको उक्त अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ। इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन्।
समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए। ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिका लागि काम गर्न थप प्रेरणा मिलेको बताए।
नेपाल र इन्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिसा फ्री सम्झौता भएकोमा दुवै देशका सरकारलाई ढकालले धन्यवाद दिए। सम्झौताले द्विपक्षीय कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, आपसी सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास उनले व्यक्त गरे।
इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुन: सुरु गर्न इन्डोनेसिया सरकारसँग उनले आग्रह गरे।
यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो। ढकाल सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत छन्। कार्यक्रममा विभिन्न देशका राजदूतहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।