नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाले रद्द, अमेरिका सिरिजको ४ खेलबाट नेपाललाई तीन अंक

बिजमाण्डू
२०८१ कात्तिक २० गते ०६:४६ | Nov 5, 2024
नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाले रद्द, अमेरिका सिरिजको ४ खेलबाट नेपाललाई तीन अंक
डल्लासस्थित ग्राण्ड प्रेइरी स्टेडियम। तस्बिर: क्यान

काठमाडौं । नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको गएराति निर्धारित नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएको हो।

Tata
GBIME
NLIC

अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेइरी स्टेडियममा सुरुवाटै मौसम प्रतिकूल हुँदा खेल सुरु गर्न बाधा पुगेको थियो। यसका बाबजुद् स्कटल्याण्डले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले सातौं ओभरसम्म खेल्दा २६ रन बनाएर एक विकेट गुमाएको थियो। यस्तोमा खेल फेरि सञ्चालन हुन सकेन र रद्द हुन पुग्यो।

योसँगै नेपाल र स्कटल्याण्डले अंक बाँडेका छन्। यसरी अमेरिका त्रिकोणात्मक सिरिजमा नेपालले चार खेल खेल्दा दुईवटामा हार ब्यहोर्दा एउटामा जित र एउटा खेलमा अंक बाँड्न पुग्यो।

लिग-२ मा नेपालको यो तेस्रो त्रिकोणात्मक सिरिज हो। यसअघि नेपालले क्यानडामा त्रिकोणात्मक सिरिज खेल खेलेको थियो। उक्त सिरिजमा नेपालले ४ मध्ये तीनवटामा हार ब्यहोरेको थियो भने एउटा खेल रद्द भएको थियो। नेपालले घरेलु मैदानमा खेलेको लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा तीन हार र एक जितको नतिजा निकालेको थियो।

लिग-२ को अंकतालिकामा समान १६ अंक बनाएका अमेरिका र क्यानडा शीर्ष दुईमा छन्। त्यस्तै १४ अंक जोडेको स्कटल्याण्ड तेस्रो, १२ अंक जोडेको नेदरल्याण्ड्स चौथो र १० अंक बनाएको नामिबिया पाँचौँ स्थानमा छ। छैटौं स्थानमा ८ अंक बनाएको ओमन छ। नेपाल ६ अंक बनाउँदै तालिकाको सातौँ स्थानमा छ भने पुछारको यूएईसँग ४ अंक छ।