‘पूर्णबहादुरको सारंगी’ का विजय, मुख्य पात्रसँगै अभिनय क्षेत्रमा दायरा विस्तार

बिजमाण्डू
२०८१ कात्तिक १७ गते ११:५४ | Nov 2, 2024
‘पूर्णबहादुरको सारंगी’ का विजय, मुख्य पात्रसँगै अभिनय क्षेत्रमा दायरा विस्तार
'पूर्णबहादुरको सारंगी' मा कलाकार विजय बराल ।

काठमाडौं। झण्डै ६ महिनाअघि अभिनेता विजय बराललाई एउटा फिल्मको प्रस्ताव राखेर फोन आयो। एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य हो। तर, त्यो दिन आएको फोन उनका लागि सामान्यभन्दा केही फरक थियो।

Tata
GBIME
NLIC

चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका उनका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो। उनलाई सहायक नभइ शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो। फिल्मको नाम थियो– ‘पूर्ण बहादुरको सारङ्गी ।’

उक्त प्रस्तावले विजय सुरुमा त अन्योलमा परे। केही दोधारको अवस्था भयो। उनले झट्ट टुंगोको जवाफ दिन सकेनन्। आफैंलाई मन्थन गरे। आफूभित्रको अभिनेतालाई प्रश्न गरे। ‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ। किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ। दुई सातासम्म कुनै निर्णय गरिन,’ उनले भने, ‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो। एउटा समय पनि भयो, अनुभव पनि भयो। अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ। त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर। खुशीसहितको शून्यता।’

यति भन्दैगर्दा कलाकार बन्ने सपना बुनिएका स्कुले जीवन र सोही सपना पछ्याउँदै काठमाडौं आएको उनले सम्झना गरे। काठमाडौं छिर्दा उनीसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए। काठमाडौं आउँदा उनलाई लाग्थ्यो त्यो बेलाका चर्चित हाँस्य कलाकारभन्दा उम्दा बनेर निस्किन सकिनेछ।

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कल गर्थे। कक्षा ८ मा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा देखाएका थिए। त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हाँस्य कलाकार नारद खतिवडाको हाँस्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हाँस्यप्रधान नृत्य समेत गरेका थिए।

शिक्षक र साथीभाइले उनको प्रशंसा गरे। ‘‘मेरो नाच र आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए। त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो। साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो। मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उनले बिगत स्मरण गरे।

जब उनी रंगमञ्चतर्फ मोडिए, तब आफ्नो पहिलेको सोचलाई निक्कै कमजोर भएको पाए। अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो। ‘जब क्यारीकेचर गर्न छोडेर रंगमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें। त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ,’ केही गम्भीर हुँदै उनले भने। उनी आफ्नो चेत खुलेको व्याख्या गर्छन्।

‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ। तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ,’ उनले भने, ‘सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ।’ भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउँछन्।

त्यो कार्यशाला उनका लागि जीवनको कोसे ढुंगा हुनपुग्यो। त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्नुहुने एमके रैनाबाट उनी प्रशिक्षित भएका थिए। ‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ। यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ। समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ। सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय। त्यहाँबाट बल्ल मेरो चेत खुल्यो,’ उनले भने।

बीचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो। बुबा बैंकको जागिरे। कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिरहेका थिए। यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भनेका थिएनन्। हजुरबुबा भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहन्थे।

उनले पढाइलाई निरन्तरता दिदैं आफ्नो रंगमञ्च सक्रियता जारी राखे। थुप्रै नाटकमा अभिनय गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन्। उनले खेलेको पहिलो फिल्म ‘छड्के’ थियो। ‘कबड्डी’ फिल्म खेलेपछि भने छोराको अभिनयबारे थाहा पाएर बाबु खुसी भए।

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च माग्नु परेको छैन। ‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन। नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन। कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो,’ बरालले भने।

‘कबड्डी’ पछि उनी त्यसका तीन शृंखलासहित दर्जनौं चलचित्रमा अभिनेता भइसकेका छन्। आजको मितिमा उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसकेका छन्। उनले अधिकांश सहायक भूमिका नै गरे। ‘कबड्डी’ को शृंखलाबाट उनले राम्रै चर्चा बटुलर। उनी त्यसमा ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन्।

‘कबड्डी’ को जबरजस्त सफलताका कारण हाँस्यप्रधान भूमिकामा व्यस्त विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ ले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको छ। यो चलचित्रमा उनी एकल बाबुको भूमिकामा छन्।

‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसंगमा फर्कदा उनलाई सहायक भूमिका सजिलो लाग्छ। तर यो चलचित्रको भूमिका फरक र गम्भीर छ। शीर्ष भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनीमाथि नै छ। यसका लागि धेरै मिहिनेत परेको उनी सुनाउँछन्।

‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न उनले झण्डै १० दिन तयारी गरेका थिए। गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे। सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके।

‘हामीजस्ता दोस्रो रोजाइका कलाकारका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ। यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे। त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहिनेत गरेको छु। मैले राम्रो प्रतिक्रिया पाएको छु,’ उनले भने।

पूर्णबहादुरको सारंगीको कथाले बाबुलाई छोरा बुझ्न र छोरालाई बाबु बुझ्न गम्भीर बनाउने उनी बताउँछन्। ‘बाबुहरू आफ्नो पुरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटि बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ। बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’, उनले भने, ‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ। बाबुसँग सम्बन्ध खुलेर जान्छ। हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ।’

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन्। लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रप्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी छन्। ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ। रासस