तिहार अर्थात झिलिमिली, मिठाई र उपहारको पर्व। दसैंसँगै दिपावलीमा पनि अग्रिम उपहार पठाउने चलन विगत केही वर्षमा ह्वात्तै बढेको छ। हरेक पाँच वर्षको ‘सिफ्ट’लाई हेर्ने हो भने नेपाली समाजमा उपहार लिनेदिने प्रचलनमा धेरै नै बदलाव महसुस गर्न सकिन्छ।
कुनै बेला उपहार दिन चाहेको व्यक्तिका लागि आफैं धाएर सामान किन्नुपर्थ्यो। अनि त्यसलाई प्याकिङ गर्नुपर्ने झण्झट अर्कै। अहिले अनलाइन खरिदारी र डेलिभरी सिस्टमले त्यो सबै प्रक्रियालाई सहज बनाइसकेको छ। त्यसमाथि उपहार रोज्ने छान्ने गरिरहनै नपर्ने गरि अहिले यस्ता प्लाटफर्महरु पनि उपलब्ध छन् जसले आफ्नो बजेट र उपहार दिनुपर्ने मानिसका लागि उपयुक्त उपहार घरसम्मै पुर्याइदिन्छ। सेवाग्राही त्यसका लागि केबल पैसा भुक्तान गरिदिए मात्रै पुग्छ!
नेपालमा विभिन्न अवसरहरुका लागि उपहार र सुन्दर प्याकेजिङको जिम्मा लिएर काम गरिरहेको कम्पनी हो र्यापिफाइ नेपाल।
कर्पोरेट क्षेत्रमा उपहार लिनेदिने चलन दसैंमा बढी हुन्छ भने दिपावलीमा पारिवारिक रुपमा उपहार पठाउनेको संख्या बढी रहेको र्यापिफाइ नेपालकी संस्थापक दिव्या केडियाको अनुभव छ।
दिव्याको कम्पनीले हरेक अवसरका लागि ग्राहकको बजेट, आवश्यकता र रोजाइ अनुसारका उपहार किन्ने र त्यसलाई ग्राहककै चाहाना अनुसारको प्याकेजिङ गरिदिने काम गर्छ।
यतिबेला सानेपा स्थित उनकै कार्यालयमा पनि बिहान ७ बजेदेखि राती ११ बजेसम्म प्याकिङ र डेलिभरीको काम धमाधम चलिरहेको छ।
‘टाइम कार्डमा चल्नुपर्ने बिजनेस हो। दिपावलीमा पठाउनुपर्ने गिफ्ट एक दिन ढिला भइदिए त्यो अर्थ के नै रहन्छ र? त्यसैले हामीलाई यतिबेला भ्यानभ्याई जस्तै छ,’ उनले भनिन्।
दिव्या उनको सातजनाको टिमसँग यतिबेला दिपावलीका उपहारहरुको अर्डर समयमै पुर्याउनका लागि खटिरहेकी छिन्। ‘क्लाइन्ट’को अर्डर अनुसार फूलहरु राखेर सजाइएका किस्तीहरु, त्यसमा गरिने सजावट र प्याकिङका काम हेर्दै रमाइलो अनि हरेक प्याकेटमा सिर्जनशीलता। ‘क्रियटिभ’ कामका रुपमा लिन्छिन् दिव्या उपहार छान्ने र प्याकिङ गर्नुलाई।
दसैं तिहार जस्ता अवसरमा गरिने उपहार आदानप्रदानमा उनको कम्पनीले ग्राहकलाई छनौटदेखि आकर्षक प्याकेटको डेलिभरीको समेत जिम्मा लिएर सजिलो पारिदिएको छ।
दसैंमा पनि यस्तै नै थियो उनको व्यस्तता। अवसर र पर्व हेरेर हुने काम हो उपहारको। ठूला चाडबाट मात्र नभई जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ अनि अचेल त बेबी सावर जस्ता नयाँ अवसरहरुका कारण उपहारको आदानप्रदान बढेको छ। दिव्याको कम्पनीले हरेक अवसरका लागि ग्राहकको बजेट आवश्यकता र रोजाइ अनुसारका उपहार किन्ने र त्यसलाई ग्राहककै चाहना अनुसारको प्याकेजिङ गरिदिने काम गर्छ।
यसबाट खरिदकर्ताको समयको बचत हुने मात्र नभई व्यावसायिक रुपमै अर्थपूर्ण उपहार दिन सकिनेमा ढुक्क बनाउने काम पनि कम्पनीकै हो।
+++
लकडाउनको समयमा घरभित्रै सुरु भएको दिव्याको यो काम यसरी व्यावसायिक रुपमै विस्तार होला र यति चाँडै घरबाट निस्केर चल्तीको कम्पनी बन्ला भनेर उनले सोचेकी पनि थिइनन्। उनी त केवल सिर्जनशील बनिरहनुपर्छ भनेर काम गरिरहिन्। ग्राहकलाई नयाँपन दिँदै आकर्षक सामानहरु उपलब्ध गराउँदै जाँदा उनको क्रियसनप्रति धेरैको रुची बढ्यो।
‘वर्ड अफ माउथ’ पब्लिसिटीले चलिरहेको उनको व्यवसाय सोसल मिडियामा आएपछि अझै चल्न थाल्यो। त्यसो त र्यापिफाइ अघि दिव्याले होम डेकोरका साथै इभेन्ट म्यानेजमेन्ट कम्पनी चलाइसकेकी हुन्। उनले जायरा इभेन्ट्समार्फत तीन साथीहरु मिलेर वर्षमा तीनपटक लाइफस्टाइल एक्जिविसन गर्न थालेको सात वर्ष अघि देखि नै हो। त्यबाहेक होम डेकोरको व्यवसाय उनले १४ वर्ष अघि देखि नै गरेकी हुन्।
लकडाउनको अफ्ठेरो परिस्थितीमा दिव्याले दिएको साथ र उनको क्रियटिभ शैलीलाई धेरैले मन पराए। मुखकै प्रचारको भरमा ‘हाइ इन्ड’ सर्कलमा उनको प्रडक्टको माग बढ्न थाल्यो।
राजस्थानमा जन्मिएकी दिव्या १२ वर्षअघि नेपालको केडिया परिवारमा बुहारी बनेर भित्रिदाँ उनले साथै ल्याएको व्यवसाय नै भन्न मिल्छ ‘डेकोर’ बिजनेसलाई।
कानुन पढेपनि व्यावसायिक परिवारकी दिव्याको सौख सानैदेखि थियो होम डेकोर तथा गिफ्ट आइटमहरुमा थियो। रियल स्टेट बिजनेसमा दरिएका बुवा अशोक कुमारले दिने उत्साहका कारण उनले पढ्दापढ्दै होम डेकोरको व्यवसाय थालेकी थिइन्। कानुनको पढाइ पूरा भएपछि उनको मागी विवाह भयो नेपालको केडिया परिवारमा। विवाह गरेर वीरगंज आएपछि उनले तीन वर्ष वीरगंजमै लाइफस्टाइल र डेकोर बिजेनस चलाइन्।
त्यसबखत वीरगंज सानो सहर अनि त्यति धेरै चर्चा पनि भएन उनको कामको। जसै उनी सन् २०१६ मा काठमाडौं आइन् यहाँ आएपछि भने उनले आफ्नो कामलाई विस्तार गर्दै लगिन्।
जायरा इभेन्ट्स्मार्फत होम डेकोर र एक्जिविसनको काम चल्दै थियो अचानक कोभिड-१९ महामारीका कारण लकडाउन भयो। घरभित्रै बसिरहँदा उनलाई आफन्त तथा साथीभाइले सहयोग माग्न थाले। कतिको विवाह समारोह तय भइसकेको थियो जसलाई रोक्न नमिल्ने। अनि कति अवसरहरु लकडाउनकै समयमा पर्दा आफन्तहरुलाई गिफ्ट र त्यसको प्याकिङ गर्ने काममा सहयोग चाहिएको थियो।
‘मैले सानो लगानीबाट घरभित्रै थालेको काम अहिले बाहिर अफिस राखेर नियमित ७ जना कामदारको सहयोगबाट निरन्तर गरिराखेकी छु। कति कमाएँ वा कति प्रतिशत बढी कारोबार हुन थाल्यो भन्नु भन्दा पनि मेरो कामको दायरा कति फराकिलो भयो भन्ने हो।
त्यस्तो बेला लाइफस्टाइल र डेकोरको राम्रै ज्ञान भएकी र परिवार आफन्तजनलाई यस्ता काममा पहिलेदेखि नै सघाउँदै आएकी दिव्याको सोधीखोजी हुन थाल्यो। एक त घरमै बसेर गर्न सकिने अनि आफन्त साथीभाइका समस्यामा साथ पनि दिन मिल्ने। खुशीसाथ दिव्याले यसलाई व्यावसायिक लय दिइन् र लागिन् डेकोर गिफ्ट र प्याकिङको काममा।
‘लकडाउनको समयमा अप्रिलदेखि जुनसम्म मलाई जसरी अफर आयो त्यो तीन महिनामै मैले महसुस गरिसकेको थिएँ कि अब यो क्षेत्रमा रहेको ग्याप मैले पूरा गर्नेपर्छ,’ उनले सुरुवाती दिनबारे सुनाइन्।
जुन लकडाउनले हजारौंका हुँदा खाँदाका रोजगारी गुमे, घरभित्रै सिमित हुन बाध्य भए, दिव्याले भने त्यही लकडाउनमा नयाँ व्यवसाय सुरु गरिन् जसले आयआर्जनको ध्येय भन्दा पनि सेवा क्षेत्रमा केही सिर्जनशील काम र सहयोगको भाव बढी राख्थ्यो।
अफ्ठेरो परिस्थितीमा उनले दिएको यो साथ र उनको क्रियटिभ शैलीलाई धेरैले मन पराए। मुखकै प्रचारको भरमा ‘हाइ इन्ड’ सर्कलमा उनको प्रडक्टको माग बढ्न थाल्यो। चिनजानका साथीभाइले गर्ने सरहाना र दिव्याको नयाँपन तथा प्याकिङ शैलीका कारण नै सामाजिक संजालमा पनि उनको खोजी हुन थाल्यो। घरभित्रबाट चिनजानका साथीभाई र आफन्तसम्म र त्यो घेराबाट अझ बाहिर निस्केर सोसल प्लाटफर्ममा समेत उनको व्यवसाय विस्तार हुँदै गएको छ।
उनी भन्छिन्- ‘मैले सानो लगानीबाट घरभित्रै थालेको काम अहिले बाहिर अफिस राखेर नियमित ७ जना कामदारको सहयोगबाट निरन्तर गरिराखेकी छु। कति कमाएँ वा कति प्रतिशत बढी कारोबार हुन थाल्यो भन्नु भन्दा पनि मेरो कामको दायरा कति फराकिलो भयो भन्ने हो। इन्स्टामार्फत पनि मसँग धेरै क्लाइन्टहरु जोडिनुभएको छ जसले मलाई विश्वास गरेर काम रिपिट गराइराख्नुभएको छ।’
+++
दिव्याका बुवाआमा पारिवारिक कनेक्सनका कारण धेरै पहिलेदेखि नै नेपाल आउनेजाने गरिरहन्थे। त्यसैले नेपाल, पशुपतिनाथ, सोल्टी होटल र होटल अन्नपूर्णको नाम सुनेरै हुर्किएकी हुन् उनी। विवाह भएर नेपाल आउने चाहिँ कुनै अनुमान थिएन उनलाई। तर, मागी विवाहले उनलाई नेपालकै बुहारी बनाइदियो।
एकल परिवारमा हुर्किएकी दिव्या यता आएपछि ठूलो संयुक्त परिवारभित्र पसिन् जहाँ असाध्यै पारिवारिक मेल र सद्भाव थियो। काम गर्न एकअर्कालाई हौसला दिने वातावरण पनि। त्यसैले उनले परम्परागत बुहारीको भूमिकामा सिमित रहनुपरेन। उनलाई श्रीमान मयंक र परिवारका सबैले सधैँ काम गर्न प्रोत्साहित गरे। त्यसैले विवाहपछिका तीन वर्ष वीरगंजमा नै उनले पहिलेदेखि गरिरहेको कामलाई निरन्तरता दिइन्।
पहिले दिव्या बजेट अनुसारको स्याम्पल बनाएर क्लाइन्टलाई पठाउँछिन्। ‘ओके भएपछि किनमेल र प्याकिङको तयारी सुरु हुन्छ। कुनै सेटअप वा वर्गलाई टार्गेट गरेर प्याकेज नबनाएकी उनले अहिलेसम्म ग्राहकले भनेको रकम अनुसारको प्याकेज तयार गरिदिन्छिन्।
सन् २०१६ मा काठमाडौं छिरेपछि भने उनको कामले राम्रै गति लियो। होम डेकोर र इभेन्ट म्यानेजमेन्टको कामबाट र्यापिफाइतर्फ सिफ्ट भएपछि भने अचेल कामको चापले उनले सेलेक्टेड क्लाइन्टका लागि मात्र इभेन्ट गर्छिन्।
भन्छिन्, ‘हाम्रो काम अवसर हेरी मानिसको स्वभाव र रुचीलाई ध्यानमा राखी उपहार छान्ने क्लाइन्टको जिम्मा हामीले लिइदिने हो। यो सबै कामका लागि बजारमा देखिएको ग्यापलाई ब्रिज गरिदिँदा पैसा खर्च गरेर मात्र हुँदैन अर्थपूर्ण सामान पनि होस् भन्नेमा मेरो ध्यान केन्द्रित रहन्छ।’
उनका अनुसार स-सानो चीजलाई पनि कसरी आकर्षक तरिकाले प्रिजेन्ट गर्ने भन्ने थ्योरी यसमा लागू हुन्छ। पहिले दिव्या बजेट अनुसारको स्याम्पल बनाएर क्लाइन्टलाई पठाउँछिन्। ‘ओके भएपछि किनमेल र प्याकिङको तयारी सुरु हुन्छ। कुनै सेटअप वा वर्गलाई टार्गेट गरेर प्याकेज नबनाएकी उनले अहिलेसम्म ग्राहकले भनेको रकम अनुसारको प्याकेज तयार गरिदिन्छिन्। क्याटेगोराइज गरेर आफ्नो मूल्य राखेर प्याकेज बनाउनुभन्दा जुनसुकै वर्गका लागि उपलब्ध हुनु उनको चाहाना हो।
‘कस्टमर बेस्ड उद्योगमा ग्राहकले चाहे अनुसारको सेवा दिनुमै सन्तुष्टि हुनुपर्छ। निकटका हरुबाटै नेटवर्क बन्ने हो तर उनी सबै वर्गका लागि उपलब्ध हुन चाहन्छु। यो इन्नोभेटिभ काम हो त्यसैले मलाई चाँडो कतै पुग्ने हतारो छैन,’ उनले भनिन्।
उपहारको ट्रेन्ड विदेशी बजारमा के कस्तो छ भनेर रिसर्च गरिरहने दिव्या सामान खोज्दा भने स्थानीय उत्पादनलाई महत्व दिन्छिन्। काठको जतिपनि सामानहरु छन् उनले यही डिजाइन दिएर बनाउन लगाउँछिन्। तिहारका लागि माटाका आकर्षक दियो र पालाहरु पनि उनले यही बनाइन्। प्रिन्टिङ, कपडा, ड्राइफ्रुट, खानाका परिकार स्थानीय बजारबाटै लिन्छिन्। मिठाइ र चकलेट कुकिज उनले खरायो बेक्स र हर्मन बेकरीबाट मगाइन्।
‘किनभने म लोकल सोर्सलाई नै महत्व दिन्छु। यहीँ बनाउन सकिने सामान किन आयात गर्ने? यहाँ उपलब्ध नहुने सामान मात्र आयात गर्नुपर्ने बाध्यता हो,’ उनले भनिन्।
दिव्याले काम गरिरहँदा ८ वर्षका छोरा छेउमा बसेर हेरिरहेका थिए। र्यापिफाइ सुरु गर्दा उनी ३ वर्षको मात्र त थिए। सँगै लिएर हिँड्दा उनको काम कस्तो हो भनेर जान्ने उत्सुकता उनमा पैदा भैसकेको छ।
‘अब त उसले पनि बुझ्छ बुवाको काम मात्र होइन की आमाहरुको काम पनि उत्तिकै कडा परिश्रमको हुन्छ भनेर,’ उनले सुनाइन्।
अक्सर बच्चाहरुले आमाको कामलाई महत्व नदिने गरेको तथ्यलाई चिर्न उनले छोरालाई पनि यो वातावरणमा सानैदेखि घुलमिल गराइरहेकी छिन्। किनभने घरपरिवार ‘ब्यालेन्स’ गरेर काम गर्न पुरुषलाई भन्दा महिलालाई अझ बढी गाह्रो हुन्छ।
‘कहिले १०० किमी प्रतिघण्टाको रफ्तारमा कुद्नुपर्छ कहिले स्लो डाउन गर्दै २० किमी प्रतिघण्टामा पनि सिमित रहनुपर्छ। काममा कन्सिस्टेन्सी हुनुपर्यो,’ उनी भन्छिन्, ‘महिलाले भुल्नै नहुने मन्त्र के हो भने हामी एम्बिसनको यात्रामा कतै रोकिनु चैं हुन्न।’
काम गर्दै जाँदा दिव्यालाई महसुस भएको छ पुरानो पुस्ताको भन्दा अहिलेको लाइफस्टाइल ‘फास्ट’ हुँदै गएको छ।
विदेशको लेटेस्ट ट्रेन्ड फलो गर्ने, देशी विदेशी सामाग्रीले घर सिगार्ने, कुनै न कुनै बाहानामा उपहार लिनेदिने नेपाली लाइफस्टालको अंग नै भइसक्यो। उपहार लिनुदिनु कुनै वर्ग, समाज वा समुदाय विशेषको मात्र होइन हरेक मानिसको रोजाइ हो। यसका लागि सामाजिक संजालले पनि बढावा दिएको जस्तो दिव्यालाई लाग्छ।
‘पहिले त्यति एक्सपोजर थिएन मानिसको डिफरेन्ट कन्सेप्ट अफ लाइफ हुन्छ भन्ने सोसल मिडियाको बहावसँगै आएको हो। सोसल मिडियाले नै मानिसलाई यति एक्सपोज गरिदियो कि पेरिसमा केही नयाँ आयो भने तत्काल पोखराका मानिसले थाहा पाउने भए। यो त निरन्तर चलिरहने प्रक्रिया हो।’
अब ५ वर्षमा अर्को तरिकाको लाइफस्टाइल आउँछ। त्यसैले नयाँ आइडिया र इन्नोभेसनसँगै अघि बढ्नुपर्छ।
उनको काममा दुई दिन अघिको आइडिया दुई दिन पछि नै बासी हुन्छ। अस्ति भन्दा अलि फरक केही छैन भन्छन् क्लाइन्टले। सँधै क्रियटिभ भैरहनुपर्यो, नयाँपन दिइरहनुपर्यो।
उनले हाँस्दै भनिन्,’ म त सपनामा पनि नयाँ आइडिया र नयाँ नयाँ डिजाइन फुराइरहेको हुन्छु।’