काठमाडौं । आज धन त्रयोदशी व्रत अर्थात धनवन्तरी जयन्ती। आज धातु, गहना, भाडाकुँडा खरिद गर्ने चलन छ।
आज बिहानैदेखि बबरमहलस्थित टक्सार महाशाखामा पनि सिक्का र असर्फी किन्नेको भिड लागेको छ। धनतेरसको अवसरमा तिहारका लागि सिक्का र असर्फी किन्नेको लाइन लागेको हो।
लक्ष्मी पूजामा नयाँ सिक्का र असर्फी चढाउने परम्परा छ। त्यसैले महाशाखामा सुन र चाँदीको असर्फी किन्न बिहानैदेखि व्यापारी र सर्वसाधारणको लाइन छ।
महाशाखाले सुन र चाँदीको सिक्का किन्नका लागि कोटा निर्धारण गरेको छ। यसपटक एकजनाले ५१ हजार मूल्यको सिक्का मात्र खरिद गर्न पाउनेछन्।
एकजनाले २.५ ग्रामको सुनको असर्फी किन्न पाउनेछन्। चाँदीबाट बनेका ५ किसिमका सिक्का लिन पाइनेछ।
टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको हो।
अरु बेला सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दसैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।