युनाइटेड अजोड इन्स्योरेन्सका सीइओ रावलको निधन, हृदयाघात भएपछि थिए उपचाररत  

बिजमाण्डू
२०८१ कात्तिक ८ गते १०:१६ | Oct 24, 2024
युनाइटेड अजोड इन्स्योरेन्सका सीइओ रावलको निधन, हृदयाघात भएपछि थिए उपचाररत  

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको छ। मुटुमा समस्या भएपछि भक्तपुरको नागरिक अस्पताल भर्ना गरिएका ६१ वर्षीय रावलको बिहीबार बिहान निधन भएको हो।

Tata
GBIME

सोल्टी होटलमा बुधबार आयोजित अन्तर्राष्ट्रिय समावेशी बीमा बारेको कार्यक्रममा सहभागी भएर राति घर पुगेपछि उनलाई बिसञ्चो भएको थियो। लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। अष्ट्रेलियामा रहेका छोरा आएपछि बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

रावलको निधनले नेपालको बीमा क्षेत्रले एक कुशल व्यवस्थापक गुमाएको छ। निर्जीवन बीमा कम्पनी व्यवस्थापनको क्षेत्रमा उनी दुई दशकभन्दा बढीको अनुभवी थिए।

नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत भइसकेका रावल प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए। आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरपछि भने उनलाई कम्पनीले वरिष्ठ नायब प्रमुख कार्यकारी बनाएको थियो।

गत वर्ष युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्जरपछि मर्जर कमिटीले रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सिफारिस गरेको थियो। त्यसपछि उनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छाडेर युनाइटेड अजोडको व्यवस्थापन नेतृत्वमा आएका थिए।