घर किन्न/बनाउन चाहनेलाई स्थिर ब्याजदरमा कर्जा, कुन बैंकमा पाइन्छ सस्तो ऋण ?

आकाश बोगटी
२०८१ असोज ३० गते ०९:०२ | Oct 16, 2024
घर किन्न/बनाउन चाहनेलाई स्थिर ब्याजदरमा कर्जा, कुन बैंकमा पाइन्छ सस्तो ऋण ?

काठमाडौं । घर किन्न वा बनाउन चाहनेहरुलाई वाणिज्य बैंकहरुले अहिले धमाधम स्थिर ब्याजदरमा कर्जा दिइरहेका छन्।

Tata
GBIME

कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने गरि न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम १२.५० प्रतिशतसम्मको स्थिर ब्याजदरमा बैंकहरुले ऋण दिइरहेका हुन्।

अधिक तरलताका कारण बैंकहरुले लामो अवधिका लागि स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्। पछिल्लो समय निरन्तर ब्याजदर घट्‌दै आइरहेका कारण कर्जाको औसत ब्याजदर ९.९० प्रतिशतमा झरेको छ।

बैंकहरुले औसत ब्याजदरभन्दा तल झरेर अर्थात ७.९९ प्रतिशतसम्ममा घर कर्जा दिइरहेका छन्। अधिकांश बैंकले एकल अंकमा २० वर्ष अवधिका लागि यस्तो कर्जा दिइरहेका हुन्।

स्थिर ब्याजदरको घर कर्जा सबैभन्दा सस्तो ब्याजदरमा नबिल बैंकले दिइरहेको छ। सबैभन्दा सस्तो ७.९९ प्रतिशतमा घर कर्जा नबिल बैंकले दिइरहेको हो। घर कर्जाको ब्याजदर सबैभन्दा धेरै अर्थात १२.५० प्रतिशत हुने नेपाल एसबीआई बैंक हो।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली प्रणालीमा पर्याप्त तरलता रहेकाले बैंकहरुले स्थिर ब्याजदरमा घर कर्जा स्किम ल्याएको बताउँछन्। आम्दानी घटबढ नहुनेहरुका लागि स्थिर ब्याजदरको घर कर्जाको स्किम उपयुक्त हुने उनको भनाइ छ।

‘कर्जाको माग सुस्त हुँदा ब्याजदर घट्दै आइरहेको छ। ब्याजदर घटिरहने भन्ने हुँदैन,’ उनले भने, ‘कर्जाको डिमान्ड बढेपछि ब्याजदर माथि जान थाल्छ। त्यसकारण फिक्स्ड आम्दानी गर्नेहरुका लागि घर कर्जा लिन अहिले उपयुक्त समय हो।’

एनएमबि, नबिल, कुमारी, नेपाल, प्रभु, सिद्धार्थ, सिटिजन्स, एभरेष्ट र ग्लोबल आइएमई बैंकले एकल अंकको स्थिर ब्याजदरमा कर्जा दिइरहेका छन्।

त्यसैगरी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंकको घर कर्जा दोहोरो अंकमा छ।

सानिमा, कृषि विकास र नेपाल बैंकले भने बेसरेटमा स्थिर प्रिमियममा कर्जा दिइरहेका छन्। सानिमा बैंकले बेसरेटमा १.३ देखि साढे ३ प्रतिशत प्रिमियम जोडेर कर्जा दिइरहेको छ।

कृषि विकास बैंकले बेस रेटमा ५ वर्ष अवधिको घर कर्जामा साढे ३, १० वर्ष अवधिकोमा ४ र १० वर्षभन्दा बढी अवधिको कर्जामा साढे ४ प्रतिशत प्रिमियम तोकेको छ।

एकल अंकको स्थिर ब्याजदर घर किन्न/बनाउन चाहनेहरुका लागि उपयोगी स्किम भए पनि घर कर्जा उत्साहजनकरुपमा बढेको छैन। हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ९५ अर्ब रुपैयाँ २३ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका छन्। त्यसमध्ये ३ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेका हुन्।

गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ८७ अर्ब रुपैयाँ १ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका थिए। वाणिज्य बैंकहरुले दिएको यस्तो ऋण असार मसान्तमा ३ खर्ब १६ अर्ब ८ करोड रुपैयाँ थियो।

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेलले स्थिर ब्याजदरको स्किम ल्याउँदा पनि अपेक्षाजनक रुपमा घर कर्जा बढ्न नसकेको बताउँछन्।

‘ब्याजदर घटिरहेका कारण हामीले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जाको स्किम ल्याएका छौं। तर अपेक्षा गरेअनुसार कर्जाको माग छैन,’ उनले भने, ‘ब्याजदर सधैं घटिरहन्छ भन्ने हुँदैन। त्यसैले घर कर्जा लिन चाहनेलाई अहिलेजस्तो अवसर नआउन सक्छ।’

घर कर्जाको यस्तो छ ब्याजदर

बैंककर्जा अवधिब्याजदर
एनएमबि१० वर्ष९.९९
नबिल७ र १० वर्ष७.९९, ८.९९ र ९.४९
कुमारी७ वर्ष८.५९
नेपाल५, १० र १५ वर्षस्थिर बेसरेटमा २.५०, ३.५० र ४.५०
कृषि विकास५, १०, १५ र १५ वर्षमाथि स्थिर बेसरेटमा ३.५०, ४, ४.५० र ५
प्रभु५ वर्ष र ५ वर्षमाथि९.९९ र ११.९९
सानिमास्थिर बेसरेटमा १.५ देखि ३.५
प्राइम कमर्सियल११–१३
लक्ष्मी सनराइज८.९९ देखि ११.४९
एनआईसी एसिया११.९९
राष्ट्रिय वाणिज्य५, १० र १० वर्षमाथि९.७५, १० र १०.२५
माछापुच्छ्रे५, १० र १० वर्षमाथि१०, ११ र १२
ग्लोबल आइएमई५, १० र १० वर्षमाथि९.९९-१०.९९, १०.९९-११.४९ र ११.४९-११.९९
स्ट्यान्डर्ड चार्टर्ड५, १० र १० वर्षमाथि११, ११.७५ र १२.५०
नेपाल एसबिआई३, ५, १० र १० वर्षमाथि१२.५०, १२.५० र १२.५०
एभरेष्ट७ वर्ष९.५०
नेपाल इन्भेष्टमेन्ट मेगा७ वर्ष१२
सिटिजन्स७, १० र १६ वर्ष८.९९, १०.५० र ११
सिद्धार्थनारी घर कर्जा, ५, १० र १० वर्षमाथि ८.९९, ९.२४, ९.७४ र १०.२५
हिमालयन७ वर्ष१०