भरतपुरमा श्री एयरलाइन्सले ‘मोनोपोली’ तोडिदिएपछि दबाबमा बुद्ध एयर, कसको योजना कस्तो?



वसन्तराज उप्रेती
२०८१ असोज ३० गते ०६:११ | Oct 16, 2024
भरतपुरमा श्री एयरलाइन्सले ‘मोनोपोली’ तोडिदिएपछि दबाबमा बुद्ध एयर, कसको योजना कस्तो?

काठमाडौं। भरतपुर उडानमा बुद्ध एयरको ‘मोनोपोली’ तोडिएसँगै त्यसको लाभ यात्रुले पाएका छन्। बुद्ध एयरले भरतपुरमा दैनिक १० वटा नियमित उडान गर्दै आएकामा श्री एयरलाइन्सले सेवा सुरु गरेर एकाधिकार तोडिदिएपछि यात्रुले कम भाडामा ओहोरदोहोर गर्न पाएका हुन्।

Tata
GBIME
Zonsen

श्रीले ठूलो जहाजमार्फत उडान सुरु गरेपछि बुद्ध एयरमाथि भाडा घटाउन दबाब परेको छ। बुद्धले काठमाडौं-भरतपुर उडानको भाडा करिब ५ हजार रुपैयाँ लिने गरेकामा श्रीले ४ हजार ६०० रुपैयाँमा सेवा दिइरहेको छ। एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले उडान संख्या थपिएपछि भाडा अझै घट्ने बताए।

परीक्षण उडानको तीन महिनापछि असोज १८ गते चार्टर्ड उडान गरेको श्री एयरलाइन्सले भरतपुरमा अहिले नियमित व्यावसायिक उडान गरिरहेको छ। एयरलाइन्सका प्रवक्ता मानन्धरले २ वटा नियमित उडानको अनुमति पाएकामा अहिले दैनिक एउटा उडान गरिरहेको जानकारी दिए।

‘हामीले अहिले दैनिक एउटा नियमित व्यावसायिक उडान गरिरहेका छौं। अनुमति पाए अनुसार चाँडै नै अर्को उडान थाल्छौं,’ उनले भने, ‘उडान संख्या थपिएपछि भाडा केही सस्तो हुनेछ। यात्रु आकर्षित गर्नका लागि भाडा घटाउने योजना छ।’

कम्पनीले काठमाडौंबाट भरतपुरमा दैनिक ५ वटा नियमित उडान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सामु प्रस्ताव गरेको थियो।

एकाधिकार तोडिएको मात्र होइन, बुद्ध एयरलाई श्री एयरलाइन्स ठूलो चुनौती बन्ने देखिएको छ। बुद्धले एटीआर-४२ सिरिजको ४२ सिटे जहाजमार्फत उडान गर्दै आएकामा श्रीले ८० सिट क्षमताको जहाजमार्फत सेवा सुरु गरेको हो। श्रीले एक पटकको उडानमा काठमाडौंबाट ७० यात्रु लाने गरेको छ।

श्रीले हाल बम्बार्डियरको ७ वटा क्यू ४००-८, दुईवटा सीआरजे-२०० र दुईवटा सीआरजे-४०० गरी ११ वटा जहाजमार्फत विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ।

श्री एयरलाइन्सले आफ्नो बजार खोसेपछि बुद्धले पनि ७२ सिट क्षमताको एटीआर-७२ सिरिजको जहाजमार्फत व्यावसायिक उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि बुद्धले क्यानमा निवेदन दिइसकेको छ। क्यानको प्रक्रिया पूरा गरेपछि भरतपुरमा एटीआर-७२ सिरिजको जहाजमार्फत व्यावसायिक उडान गर्ने कम्पनीले जनाएको छ।

त्यसो त भरतपुरमा उडान गर्दै आएका एटीआर-४२ सिरिजका २ वटा जहाजको फ्लाइङ साइकल पूरा हुने समय नजिकिएकाले पनि बुद्धले ७२ सिटे जहाज उडाउन योजना अगाडि बढाएको हो।

बुद्धले फ्लाइङ साइकल सकिएका कारण एटीआर-४२ सिरिजको एउटा जहाजलाई एक महिनाअघि बिदा गरेको थियो। बुद्धले २ वटा एटीआर-४२ र १५ वटा एटीआर-७२ मार्फत मुलुकका विभिन्न सुगम गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।

७ वटा एटीआर-७२ जहाज मार्फत सुगम गन्तव्यमा उडान गर्दै आएको यती एयरलाइन्स भने भरतपुरमा तत्काल सेवा दिने पछमा छैन। यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले तत्कालका लागि भरतपुरमा उडान गर्ने योजना नरहेको बताए।

‘हामीले भरतपुरमा एटीआर-७२ जहाज व्यावसायिकरुपमा उडान गर्न सकिन्छ कि भनेर २ वर्ष अगाडि नै अध्ययन गरेका थियौं। तर, प्राविधिक जोखिम धेरै हुने प्रतिवेदन आएका कारण उडान गरेनौं। अहिले उडान गर्ने योजना छैन,’ बर्तौलाले भने, ‘विमानस्थल विस्तार भएपछि भने भविष्यमा उडान गर्न सकिन्छ।’

भरतपुर विमानस्थल अहिले विस्तारको क्रममा छ। तर, नेपाली सेनाले घोडा प्रजनन् केन्द्र स्थानान्तरण नगरेकाले धावनमार्ग विस्तारको काम अगाडि बढ्न सकेको छैन। भरतपुर विमानस्थलको धावन मार्ग अहिले १२०० मिटरको रहेकामा विस्तार गरेर १७०० मिटरको बनाउने योजना छ।

तर, त्यसका लागि क्यानलाई सेनाले घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर जग्गा दिनुपर्छ। विमानस्थल विस्तारको काम तीन वर्षभित्र सक्ने गरी डेढ वर्षअघि नै केसी-क्षमादेवी-प्रतीक्षा देवी जेभीलाई करिब २ अर्ब रुपैयाँमा ठेक्का दिइएको थियो।