
काठमाडौं । व्यवसाय विस्तारको होडबाजीले बीमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ। उच्च प्रिमियम संकलन र न्यून दाबी पर्ने ‘प्रडक्ट’ बेच्न कम्पनीहरुबीच प्रतिस्पर्धा बढेको हो।
कम्पनीहरु बीमा बजार विस्तारभन्दा चल्तीका प्रडक्टकै व्यवसाय खोसाखोस गर्न केन्द्रित छन्। कम्पनीको संख्या वृद्धि र शाखा सञ्जाल विस्तार अनुसार इन्स्योरेन्सको व्यावसायिक दायरा बढ्न सकेको छैन।
जीवन र निर्जीवन बीमा कम्पनीहरु सजिलो व्यवसायको खोजीमा छन्। न्यून लागतमा उच्च प्रिमियम प्राप्त गर्न सकिने र दाबी भुक्तानी कम पर्ने व्यवसायको खोजीले कम्पनीहरुबीच ‘कर्पोरेट वार’ देखिएको हो।
इन्स्योरेन्सबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले निर्देशिकाहरु संशोधन गरेर सामूहिक बीमा कोष (पुल)मार्फत बीमा गराउने रणनीति लिन थालेको छ।
प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमामा गत साउनदेखि पुल लागू गरेको छ। वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य गरिएको छ।
चालु आर्थिक वर्ष भदौ मसान्तसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमाले कुल जीवन बीमा व्यवसायमा १.६३ प्रतिशत हिस्सा ओगटेको छ।
दुई महिनामा जीवन बिमकले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँको व्यवसाय गर्दा वैदेशिक रोजगार म्यादी जीवन बीमाबापत ४९ करोड २६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
पुलमार्फत इन्स्योरेन्स गराउँदा बीमा लेखबापत प्राप्त हुने बीमा शुल्क र दाबी व्यवस्थापन गर्न बीमकले सामूहिक बीमा कोष स्थापना गर्नुपर्छ।
कोषमा जम्मा हुने रकम सोही निर्देशन अनुसार बाँडफाँट र व्यवस्थापन गरिन्छ। प्राधिकरणले जीवन मात्रै नभएर निर्जीवन बीमा कम्पनीको व्यवसाय हवाई इन्स्योरेन्समा समेत सामूहिक बीमा कोष लागू गर्ने तयारी गरेको छ।
कम्पनीबीच व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि प्राधिकरणले निर्देशिका संशोधनको तयारी गरेको हो।
पछिल्ला केही वर्षयता अर्थतन्त्रमा देखिएको शिथिलताका कारण इन्स्योरेन्स कम्पनीले बिजनेस बढाउन सकेका छैन। नयाँ व्यवसायतिर ग्राहक तान्न नसकेपछि कम्पनीहरु पुरानै व्यवसाय जोगाउन प्रतिस्पर्धा गरिरहेका छन्।

‘इन्स्योरेन्सबीच हवाई बीमामा समेत अस्वस्थ प्रतिस्पर्धा देखिएपछि प्राधिकरणले पुलमार्फत बीमा गराउने व्यवस्था गर्ने तयारी गरिरहेको छ,’ प्राधिकरणका स्रोतले भन्यो, ‘संशोधनको मस्यौदा तयार भइसकेको छ। अब केही दिनमा लागू गर्दैछौं।’
प्राधिकरणका अनुसार गत भदौसम्म निर्जीवन बीमा व्यसायमा हवाई बीमाको योगदान ५.७१ प्रतिशत छ। दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० रुपैयाँ प्रिमियम संकलन गर्दा हवाई बीमाबाट ४४ करोड ९० लाख रुपैयाँ आर्जन गरेका छन्।
बीमाविद् रवीन्द्र घिमिरे कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा रोक्न पुलमार्फत बीमा गराउनु उपयुक्त हुने बताउँछन्। ‘कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले फ्रड र दाबी भुक्तानीको समस्या हुन्छ,’ उनले भने, ‘पुलमार्फत बीमा गराउँदा त्यसलाई रोक्न सकिन्छ। इन्स्योरेन्सको चरित्र नै पुल हो।’
पछिल्ला केही वर्षयता अर्थतन्त्रमा देखिएको शिथिलताका कारण इन्स्योरेन्स कम्पनीले बिजनेस बढाउन सकेका छैन। नयाँ व्यवसायतिर ग्राहक तान्न नसकेपछि कम्पनीहरुले पुरानै व्यवसाय जोगाउन प्रतिस्पर्धा गरिरहेका छन्।
अहिले १७ वटा जीवन बीमा र १८ निर्जीवन बीमा कम्पनी छन्। प्राधिकरणले दुई वर्षअघि कम्पनीहरुको चुक्ता पुँजी अढाइ गुणाले वृद्धि गरेर थप ७ लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको थियो।
२०७८ चैतमा गरिएको पुँजी बढाउने निर्णयका कारण मर्जर तथा प्राप्तिमा गएर एक दर्जन कम्पनीको अस्तित्व मेटियो। तर, पुँजी र शाखा विस्तार भए अनुसार कम्पनीको व्यापार बढ्न सकेन। अर्कातिर सानो व्यवसाय ठूला कम्पनीबाट लघुबीमा कम्पनीतिर ‘सिफ्ट’ हुँदै गएको छ।