काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैंमा राम्रो बजार पाएको छ।
यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए।
उनले कर्णालीको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगंजलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए।
‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौं। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौं। जसको राम्रो प्रभाव परेको छ,’ अध्यक्ष कँडलेले भने।
चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगंजमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए। नेपालसँग सिमाना जोडिएका भारतीय भागहरुमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए।
वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो १५० रुपैयाँ देखि २५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो १६० भन्दा बढीमा बिक्री भइरहेका बताए। यस्तो बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगंजमा प्रतिकिलो ९० देखि १२० रुपैयाँ सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको उनले बताए।
यसपटक दसैंमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको हो। रासस