सेयर बजारको फेरिंदो दृश्य, पाँच वर्षमा लगानीकर्ताको व्यापक इन्ट्री कसरी भयो सम्भव ?



सुनिल कुँवर
२०८१ असोज २६ गते १८:०१ | Oct 12, 2024
सेयर बजारको फेरिंदो दृश्य, पाँच वर्षमा लगानीकर्ताको व्यापक इन्ट्री कसरी भयो सम्भव ?

काठमाडौं । सेयर बजारको दायरा आधा दशकमा व्यापक विस्तार भएको छ। अनलाइन प्रणालीमा भएको विकास र नियामकीय नीतिले पाँच वर्षमै सेयर बजारको परिदृश्य बद्लिएको हो।

Tata
GBIME
Zonsen

डिम्याट खातालाई आधार मान्ने हो भने प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता ६४ लाख पुगेको छ। २०७५/७६ मा यस्तो संख्या १५ लाख १० हजारमा सीमित थियो।

प्राथमिक बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य हो। डिम्याट खाता भएपछि लगानीकर्ताले आइपीओ भर्न सक्छन्। अहिले अलाइनबाटै मेरो सेयरमार्फत लगानीकर्ताले आइपीओमा आवेदन दिने गरेका छन्। दोस्रो बजारमा सेयर कारोबारका लागि इन्ट्री गर्न पनि डिम्याट खाता चाहिन्छ।

अनलाइन प्रविधिको तिव्र विस्तारका कारण मेरो सेयर प्रयोगकर्ताको संख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा देखिन्छ। सीडीएससीका अनुसार पाँच वर्षमा मेरो सेयर प्रयोगकर्ताको संख्या ६ गुणाभन्दा बढीले वृद्धि भएको छ।

आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ६४ हजार सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेकामा यो संख्या अहिले ३६ लाख २० हजार पुगेको छ।

यस अवधिमा मेरो सेयर रजिस्टर्ड संख्या ५४ लाख ६३ हजार पुगेको छ। नेपाल धितोपत्र बोर्डले लिएको नीतिका कारण प्राथमिक बजारमा लगानीकर्ताको उपस्थिति व्यापक बनेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २०७५ देखि १० कित्ते नीति लागू गर्‍यो। आइपीओमा आवेदन दिनेलाई गोला प्रथाबाट कम्तीमा १० कित्ता पर्ने भएपछि लगानीकर्ताको आकर्षण बढ्न पुग्यो।

सेबोनले नै लगानी र बजारको दायरा विस्तार गर्न आइपीओमा आरक्षणको व्यवस्था गरेको छ। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७९ अनुसार आइपीओ निष्कासन गर्ने कम्पनीले कुल निष्कासनको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याउनु पर्छ।

त्यस्तै, संख्या अनुसार कर्मचारीलाई २ देखि ५ प्रतिशतसम्म आइपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था छ। यसबाहेक आयोजना प्रभावित बासिन्दाका लागि कुल सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर वितरण गर्नुपर्ने व्यवस्था छ।

ठूला कम्पनीको प्रवेश र प्रविधिको विकासले बजारमा लगानीको दायरासँगै लगानीकर्ताको सहभागlता अभुतपूर्व वृद्धि भएको एनआईएमबी क्यापिटलका सीइओ सचिन्द्र ढुंगाना बताउँछन्।

‘पछिल्लो केही वर्षमा बजारमा ठूला कम्पनीको इन्ट्री हुँदा लगानीकर्ताले आइपीओ भर्न पाए। इन्स्योरेन्स, उत्पादन क्षेत्रका कम्पनी, निफ्रा लगायतले ठूलो आइपीओ ल्याएपछि लगानीकर्ता पनि त्यसै अनुसार बढे,’ उनले भने, ‘कोभिड-१९मा अनलाइन कारोबारले व्यापकता पायो। प्रविधिको बढ्दो विस्तार र उपयोगले मानिसलाई झनै आकर्षित गर्‍यो।’

बजारमा सूचीकृत कम्पनीको संख्या पनि यो बीचमा निकै बढेको छ। हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७० पुगेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, हिमालयन रि-इन्स्योरेन्स, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स आयल लगायत दर्जनौं कम्पनी पछिल्लो केही वर्षमा थपिंदा लगानीकर्ताको बाहुल्यता पनि त्यसै अनुसार बढेको हो।

नेप्सेका अनुसार २०७६ असारसम्म अनलाइन लगानीकर्ता ११ हजार ७७६ रहेकामा अहिले २३ लाखभन्दा बढी पुगेको छ। २०७६ को अन्तिमतिर सुरु भएको कोभिड-१९का कारण त्यसपछि अनलाइनमार्फत कारोबारले फड्को मारेको हो।

लगानीकर्ताको सहभागिता पनि बजारमा यसै अवधिमा तिव्र बन्यो। जसकारण २०७८ भदौमा आइपुग्दा नेप्सेले रेकर्ड कायम गर्‍यो। सेयर बजारमा लगानीकर्ताको प्रवेश उत्साहजनक रहेको ब्रोकर बताउँछन्।

‘अहिले जनसंख्याको अनुपातमा दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या धेरै नै हो। पछिल्ला केही वर्षमै लगानीकर्ताको सहभागिता अत्यधिक वृद्धि भयो,’ इम्पेरियल सेक्युरिटीजका भक्तिराम घिमिरेले भने, ‘तर, जति आइपीओ भर्छन् त्यत्ति मानिसहरु दोस्रो बजारमा आउँदैनन्। बजार बुल हुँदा आइपीओ भर्नेहरु दोस्रो बजारमा आउने गरेको देखिन्छ।’

सेयर बजारलाई पुँजी परिचालन र लगानीको उपकरणको रुपमा लिइन्छ। त्यसैअनुसार लगानी गर्न चाहनेहरु बजारमा प्रवेश गर्छन् भने कम्पनीहरुले प्राथमिक बजारबाटै पुँजी संकलन गरेर व्यावसायिक दायरा विस्तार गर्दै लैजान्छन्।

तर, सेबोनमा कार्यकारी अध्यक्ष नहँदा गत पुसदेखि नयाँ कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति दिइएको छैन। दर्जनौं कम्पनीको आइपीओ निष्कासनको फाइल पेन्डिङमा छ।

‘आइपीओ र अन्य सार्वजनिक निष्कासनका लागि आवेदन दिएका कम्पनीको फाइल प्रक्रियामै छ। हामीले आन्तरिक रुपमा हेरिरहेका छौं। निष्कासनको काम अघि बढ्छ नै,’ सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने, ‘नयाँ कम्पनीको इन्ट्री र नियामकीय व्यवस्थाका कारण बजारमा लगानीकर्ताको संख्या केही वर्षमै उल्लेख्य बढेको छ।’