राष्ट्रपति पौडेलले ९४ वर्षका दाजुका हातबाट टिका लगाए, ३ बजेदेखि सर्वसाधारणलाई लगाइदिने

रासस
२०८१ असोज २६ गते १३:२४ | Oct 12, 2024
राष्ट्रपति पौडेलले ९४ वर्षका दाजुका हातबाट टिका लगाए, ३ बजेदेखि सर्वसाधारणलाई लगाइदिने


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षका दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन्।

Tata
GBIME
NLIC

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरे।  राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैं  शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्।

आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ बजेदेखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र साढे ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने  कार्यक्रम छ।

सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ ।

यसैगरी दिउँसो साढे ३ देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम रहेको  सचिवालयले जनाएको छ ।

दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ ।

टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्व छ ।

दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ ।