
काठमाडौं । आन्तरिक उडान तर्फ यात्रुहरुले विमानको इमरजेन्सी ढोका खोल्ने क्रम बढ्दा सुरक्षा चुनौती बढेको विमान संचालन कम्पनीहरुले जनाएको छ।
आज बिहान काठमाडौंबाट जनकपुर उडानका क्रममा रहेको बुद्ध एयरको विमानको इमरजेन्सी ढोका एक यात्रुले खोलेका थिए। जसकारण उडान प्रक्रिया अवरुद्ध भएर उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ।
‘आज बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो। अवतरण पछि एक यात्रुले आपतकालिन ढोका खोल्ने प्रयास गरे। सो ढोकाको बारे प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ,’ बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले भने।
सो जहाजलाई अहिले बुद्ध एयरको प्राविधिक टोलीले परीक्षण गरिरहेको छ।
कर्णका अनुसार यस्तो गतिविधिमा संलग्न यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ। आजको घटनामा संलग्न यात्रुलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।
अक्टोबर २ मा पनि विराटनगरबाट काठमाडौं आएको विमान र अक्टोबर ७ मा नेपालगंजबाट काठमाडौं आएको विमानमा पनि यस्तै घटना भएको थियो।
यस्तो गतिविधिमा संलग्न हुनेलाई १ देखि तीन वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको भन्दै बुद्ध एयरले यात्रुहरुलाई सचेत समेत गराएको छ। विमान कम्पनीले उडान सुरक्षामा खलल पुर्याउने यात्रुलाई उडानमा प्रतिबन्ध लगाउने गरेको छ।