नागढुङ्गा-नौबिसेको जाम छल्न सीतापाइला-धार्के सडक विकल्प, विस्तारको काम सुरु



बिजमाण्डू
२०८१ असोज २३ गते १४:३२ | Oct 9, 2024
नागढुङ्गा-नौबिसेको जाम छल्न सीतापाइला-धार्के सडक विकल्प, विस्तारको काम सुरु
पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटार क्षेत्रमा गुडिरहेका सवारीसाधन। तस्बिर : शंकर श्रेष्ठ/रासस

काठमाडौं। अहिले दसैंका लागि काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा-नौबिसे सडकको सट्टामा सीतापाइला-धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ।

Tata
GBIME
Zonsen

अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला-धार्के सडक भएर जाने गरेको पाइएको छ। नागढुङ्गा-नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरूले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

संघीय राजधानी काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुङ्गाको जाम छल्न सीतापाइला-धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन्। अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन संचालन हुने गरेका छन् भन्‍ने यकिन तत्थ्याङ्क नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्‍नति गरिनुपर्ने माग बढेको छ। नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौंतर्फको ५ किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकेको छ।

धार्के-सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला-रामकोट-भीमढुङ्गा-महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताए।

उनले भने, ‘यो सडक २४ किमीको छ, सीतापाइला-रामकोट-भीमढुङ्गा-महेशफाँट हुँदै धार्केमा जोडिन्छ, यसको स्तरोन्‍नतिसहित चाँडै कालोपत्र गर्न सके नागढुङ्गा-नौबिसे सडकको जाम कम हुनेछ।’

नागढुङ्गा-नौबिसेको जाम छल्ने यो वैकल्किप सडक भएको स्थानीयवासी बताउँछन्। यो सडक विस्तार भएर संचालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारी साधनको जाम कम हुने सहसचिव ढकालको भनाइ छ।

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको थियो। झन्डै १५ करोड रुपैयाँ खर्चिएर डीपीआर तयार गरिएको बताइएको छ। रासस