काठमाडौं। यसपटक दसैंको पहिलो दिन अटो व्यवसायीहरुले ७०० भन्दा धेरै गाडी डेलिभरी गरेका छन्। भदौ दोस्रो साता नाडा अटो शोमा बुकिङ गराएका ग्राहकलाई सवारी बिक्रेताहरुले घटस्थापनाको दिन मात्र ७०० भन्दा धेरै गाडी डेलिभरी गरेका हुन्।
घटस्थापनालाई धेरैले शुभसाइत मान्ने भएकाले पनि त्यसदिन बिक्रेताहरुले ग्राहकको माग अनुसार गाडी डेलिभरी गरेका हुन्। कतिपयमा यो दिन गाडी किनेर पूजा गर्दा राम्रो हुने विश्वास छ। घटस्थापनादेखि निरन्तर गाडी डेलिभरी गर्ने काम भइरहेको बिक्रेताहरुले बताएका छन्।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एकैदिन १३२ वटा गाडी डेलिभरी गरेको छ। यसपालि सबैभन्दा धेरै गाडी एकैदिन डेलिभरी गर्ने कम्पनीमा साइमेक्स इंकले नाम लेखाएको छ। बीवाइडीले नाडा अटो शोपछि अहिलेसम्म ४७२ युनिट एटो थ्री र डल्फिन डेलिभरी गरेको जनाएको छ।
पोहोर एकैदिन सबैभन्दा धेरै गाडी डेलिभरी टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गरेको थियो। सिप्रदी ट्रेडिङले पोहोर दसैंमा एकैदिन १७६ युनिट गाडी डेलिभरी गरेको थियो।
सिप्रदीले यसपालि घटस्थापनाका दिन देशभरका शोरुमबाट १ सयभन्दा धेरै गाडी गाडी डेलिभरी गरेको छ। कम्पनीका प्यासेन्जर भेहिकलतर्फ सिनियर सेल्स म्यानेजर निर्मल खत्रीका अनुसारका अनुसार नाडामा बुकिङ गराएकामध्ये ग्राहककहाँ घटस्थापनाका दिन नयाँ गाडी डेलिभरी गरिएको हो।
नाडामा ४ हजारभन्दा बढी गाडी बुकिङ भएका थिए। अटो व्यवसायीहरुका लागि दसैं तिहार गाडी बिक्रीको मुख्य सिजन हो। उनीहरुले ग्राहकलाई आकर्षित गर्न छुट र सुविधाका अफर समेत ल्याएका छन्। कतिपय बिक्रेताहरुले नाडा अटो शोमा नयाँ मोडल सार्वजनिक गरेका थिए।
सिप्रदी ट्रेडिङले नाडा अटो शोलगत्तै नेपालका विभिन्न शहरमा १०० युनिट पन्च इभी डेलिभरी गरेको थियो। पन्च इभी नाडा अटो शोमा सार्वजनिक गरिएको हो।
बाढीपहिरोले सडक अस्तव्यस्त हुँदा गाडी डेलिभरीको काम प्रभावित भएको छ। सिप्रदी ट्रेडिङले दसैं अगाडि ५०० युनिटभन्दा धेरै पन्च इभी डेलिभरी गर्ने योजना बनाएकाकमा सडकको अवरोधले समस्या भएको खत्रीले बताए। कम्पनीले पन्च इभी अहिलेसम्म २५० युनिट भन्दा धेरै डेलिभरी गरिसकेको जनाएको छ।
कम्पनीले टियागो इभी लगायत गाडी पनि डेलिभरी गरिरहेको छ। काठमाडौं उपत्यकामा सिप्रदीले अहिलेसम्म १५०० भन्दा धेरै इभी बिक्री गरेको छ।
हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले असोज १७ गते १२३ युनिट गाडी डेलिभरी गरेको छ। पोहोर घटस्थापनाको तुलनामा यसपालि दोब्बरभन्दा बढी संख्यामा गाडी डेलिभरी गरेको कम्पनीका निर्देशक दीपक थपलियाले बताए। कम्पनीले पोहोर घटस्थापनाको दिन ५० युनिट गाडी डेलिभरी गरेको थियो।
यसपालि दसैंतिहारमा ७०० भन्दा धेरै गाडी डेलिभरी दिने कम्पनीको योजना छ। योजना अनुसार घटस्थापनापछि पनि उत्साहजनकरुपमा गाडी डेलिभरी भइरहेको थपलियाले बताए।
कम्पनीको नयाँ क्रेटा फेसलिफ्ट सबैभन्दा धेरै बिक्री भएको छ। नेपालमा एसेम्बल गरिएको भेन्यु पनि राम्रो संख्यामा बिक्री भएको कम्पनीले जनाएको छ।
त्यसो त कम्पनीले नाडापछि दसैं सुरु हुनुअघि एकैदिन ८० युनिटसम्म गाडी डेलिभरी गरेको तथ्यांक छ। ‘हामी अहिले बाढीले डुबानमा परेका गाडी मर्मतमा केन्द्रित छौं,’ थपलियाले भने, ‘बाढी नआउको भए दसैंको सेल्स बढ्ने थियो।’
सेरेसको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शोपछि ६८ वटा गाडी डेलिभरी गरेको छ। कम्पनीका बिजनेस हेड प्रसन्न पन्तले नाडापछि ६८ वटा सेरेस गाडी बिक्री गरेको र तीमध्ये अधिकांश घटस्थापनाका दिन डेलिभरी गरिएको जानकारी दिए।
अहिले चर्चामा रहेको डिपल पनि घटस्थापनाको दिन राम्रो संख्यामा बिक्री भएको छ। त्यो दिन ४४ युनिट डिपल डेलिभरी गरेको कम्पनीले जनाएको छ। नाडापछि डिपल गाडी ८५ युनिट बिक्री भइसकेको छ।
कियाले एक महिनामा १०० युनिट गाडी बिक्री गरेको छ। कम्पनीले इभीभन्दा इन्धन गाडी बढी बिक्री गरेको हो। नाडापछि सिट्रोन ३५ युनिट बिक्री भएको छ। यस्तै नेटा एक्स र भी ५५ युनिट तथा रिडारा ३० युनिट डेलिभरी गरिएको छ।
ओमोडा र जेको बिक्रेता एसपीजी अटोमोबाइल्सले घटस्थापनाको दिन १०० युनिट गाडी डेलिभरी गरेको छ। घटस्थापनाअघि तथा नाडा अटो शोपछि १०० युनिटभन्दा धेरै गाडी बिक्री गरेकामा धेरै गाडी अहिले बाटोमै रोकिएको कम्पनीले जनाएको छ।
नयाँ ब्रान्डलाई बाटोले बाधा
जेठ १५ गते बजेट सार्वजनिक हुनुअगाडि ३ हजारभन्दा धेरै गाडी आयात गरेका व्यवसायीहरुले बजेटपछि १६०० युनिट गाडी ल्याएका छन्। ४०० भन्दा धेरै गाडी भने बाढीपहिरोले सडक अवरुद्ध हुँदा बीच बाटोका अड्किएका छन्।
दसैं अगाडि डेलिभरी गर्ने योजनाका साथ मगाइएका गाडी सडकमा पहिरो गएपछि चीनतर्फ नै अड्किएका हुन्। अड्किएका अधिकांश गाडी नाडा अटो शोबाट नेपाली बजारमा भित्रिएका ब्रान्ड हुन्। नामी, लिपमोटर, अवतार, जिकर, एक्सपेङ जस्ता ब्रान्डका गाडी बिक्रेताले डेलिभरी गर्न सकेका छैनन्।
नाडा अटो शोमा सबैभन्दा धेरै नामी इभी बुकिङ भएका थिए। तर, बाटो अवरुद्ध भएपछि अहिले तातोपानी र रसुवा दुवै नाका बन्द अवस्थामा छन्। जसले गर्दा दसैं अगाडि नयाँ ब्रान्डका इभी बिक्री गर्ने अटो व्यवसायीको योजनामा ठेस लाग्न पुगेको छ।
नामी गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड पन्तले चीनतर्फका दुवै नाका बन्द भएका कारण व्यवसाय बिग्रिन पुगेको बताए। ‘हामीले दसैं अगाडि डेलिभरी गर्ने योजना बनाएर नामी इभी मगाएका थियौं। तर चीनतर्फको सडक अवरुद्ध भएकाले उतै अड्किए। जसले गर्दा हामीले अहिले डेलिभरी गर्न पाएनौं,’ उनले भने।