
काठमाडौं। बाढीपहिरोले राजमार्गको यात्रा जोखिमपूर्ण भइ त्यसले आन्तरिक उडानमा बढेको चाप थेगिनसक्नु भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा विमानस्थलमा न्यारोबडी जहाजमार्फत सेवा दिने विकल्प अघि सारेको छ।
मन्त्रालयले उडान संख्या थप्दा पनि हवाई टिकटको हाहाकार भएपछि यात्रुहरुलाई गन्तव्यमा पुग्ने सहज व्यवस्थाका लागि न्यारोबडी जहाजमार्फत सेवा दिने विकल्प अघि सारेको हो।
एटीआर र बम्बार्डियर जहाजमार्फत सेवा दिंदै आएका बुद्ध, यती र श्री एयरलाइन्सले यात्रुको चाप थेग्न नसकेपछि मन्त्रालयले आन्तरिक उडानमा न्यारोबडी जहाज प्रयोग गराउन खोजेको हो। बुद्ध र यती एयरले उडान गर्दै आएका जहाज ७२ सिट क्षमताका हुन् भने श्री एयरलाइन्सले ८० सिट क्षमताको जहाजमार्फत सेवा दिंदै आएको छ।
मन्त्रालयले पोखरा र भैरहवामा आन्तरिक उडानका लागि प्रयोग गर्न चाहेको न्यारोबडी जहाज १५८ सिट क्षमताको हो।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले दुई विमानस्थलमा न्यारोबडी जहाजमार्फत उडानका लागि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससँग छलफल गरेका छन्।
आन्तरिक उडान गरिरहेका कम्पनीले यात्रुको चाप थेग्न नसकेका कारण ठूला जहाजमार्फत सेवा दिन चाहेको मन्त्री पाण्डेले बताए।
‘दसैंको मुखमा आएको विपत्तिले राजमार्गहरु अवरुद्ध हुन पुगे। यसले गर्दा हवाइ उडानमा धेरै नै चाप पर्यो। उडान संख्या थप गर्दा पनि धान्न नसकिने अवस्था भयो। एक साताअघि ने टिकटको हाहाकार भएको अवस्था छ। त्यसैले यात्रुहरुलाई आफ्नो गन्तव्यमा जान सहज होस भनेर न्यारोबडी जहाज चलाउन खोजिएको हो,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले नेपाल वायुसेवा निगम (एनएसी) र हिमालय एयरलाइन्ससँग एक चरणको छलफल गरिसकेका छौं।’

मन्त्री पाण्डेको प्रस्तावमा एनएसी र हिमालय एयरलाइन्स दुवै सकारात्मक देखिएका छन्। उनीहरुले अन्तर्राष्ट्रिय उडानको तालिका नबिग्रने गरी पोखरा र भैरहवामा सेवा दिनका लागि तयार रहेको बताएका छन्।
‘एयरलाइन्सहरुबाट दुईवटा कुरा आएको छ। एउटा अन्तर्राष्ट्रिय उडान प्रभावित गर्न नहुने कुरा आएको छ,’ मन्त्री पाण्डेले भने, ‘अर्को न्यारोबडी जहाज उडान गर्दा विमानस्थलको प्राविधिक पक्ष पनि अध्ययन गर्नुपर्छ भनेका छन्।’
जहाजको सिट क्षमता १५८ भए पनि काठमाडौंबाट जाँदा कति यात्रु बोक्ने र फर्किंदा कति जना चढाउन पाउने भन्नेबारे कम्पनीहरुले अध्ययन गरिरहेका छन्।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मन्त्रीको प्रस्ताव कार्यान्वयन गर्न कम्पनीले प्राविधिक पक्षमा अध्यन सुरु गरेको बताए। ‘राज्यमा विपद्ले निम्त्याएको अप्ठेरो अवस्थामा सहयोग गर्नु हाम्रो पनि कर्तव्य हो। त्यसैले मन्त्रीले आग्रह गर्नासाथ हामीले प्राविधिक पाटोमा अध्ययन थालेका छौं,’ श्रेष्ठले भने, ‘जहाँबाट यात्रुको माग धेरै आउँछ, त्यहाँ उडानका लागि हामी तयार छौं।’
एनएसीका प्रवक्ता रमेश पौडेलले पनि फूलपातीको दिन वा त्यसको भोलिपल्टमध्ये एक दिन उडान गर्ने विषयमा छलफल चलिरहेको बताए। ‘मन्त्रीले भनेपछि हामीले नाइनास्ती गर्ने कुरा हुँदैन। त्यसमा पनि अहिले विपत्तीले अप्ठेरो पारेको अवस्था छ। हामीले फूलपाती वा त्यसको भोलिपल्ट भैरहवामा उडान गर्ने विषयमा छलफल गरिरहेका छौं,’ पौडेलले भने।