
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष छनोट प्रक्रिया अनिश्चित बन्न पुगेको छ। अध्यक्ष छनोट समितिका संयोजक प्रा. डा. शिवराज अधिकारी एक्कासी बिरामी भएपछि छनोट प्रक्रिया अनिश्चित बनेको हो।
अर्थ मन्त्रालयले सर्टलिस्टमा रहेका तीन जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि शुक्रबार बिहान ८ बजेका लागि बोलाएकामा छनोट समितिका संयोजक अधिकारी बिरामी भएपछि सेबोन अध्यक्षको नियुक्ति अनिश्चित हुन पुगेको हो।
अन्तर्वार्ता दिनका लागि सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की बिहानै मन्त्रालय पुगेका थिए।
समितिका सदस्य रहेका अर्थसचिव डा. रामप्रसाद घिमिरेले संयोजक अधिकारी डेंगु लागेर अस्पताल भर्ना भएका कारण अन्तर्वार्ता रोकिन पुगेको बताए। ‘छनोट समितिका संयोजक हस्पिटलाइज हुनुभएको छ। उहाँ निको नभएसम्म त कसरी अन्तर्वार्ता हुन्छ र? अब दसैंअघि सम्भावना देखिंदैन,’ अर्थसचिव घिमिरेले भने। असोज २४ देखि दसैं बिदा सुरु हुन्छ।
संजोजक अधिकारी एकाएक बिरामी परेका कारण दसैंअघि सेबोन अध्यक्ष नियुक्ति गर्ने अर्थमन्त्री विष्णु पौडेलको योजनामा ठेस लागेको छ।
‘अर्थमन्त्रीज्यूले शुक्रबार सिफारिस समितिबाट तीन जनाको नाम सिफारिस गर्न लगाएर सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्तिको निर्णय गर्न चाहनुभएको थियो। तर, सिफारिस समितिका संयोजक नै अस्पताल भर्ना भएपछि दसैंअघि नियुक्त गर्न सम्भव नहुने भयो,’ मन्त्रालय स्रोतले भन्यो।
मन्त्रालयले सेबोन अध्यक्ष नियुक्तिका लागि सर्टलिस्ट भएर अन्तर्वार्तामा यसअघि गयल भएका कार्की, अधिकारी र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइँलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि शुक्रबार बोलाएको थियो।
अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको रायपछि असोज ९ गते सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरी बाँकी तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएकामा चापागाइँ भने शुक्रबार पनि अनुपस्थित भएका थिए।
यसअघि दुई पटक अन्तर्वार्तामा बोलाउँदा समेत सर्टलिस्टेड तीन जनाले बंक हानेपछि छनोट समितिले नाम सिफारिस गर्न सकेको थिएन। कार्की, चापागाइँ र अधिकारी अन्तर्वार्तामा सहभागी नभएपछि सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अड्किन पुगेको थियो। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने अघिल्लो सरकारकै पालामा गत असार २ गते अन्तर्वार्ता दिनुका साथै कार्ययोजना प्रस्तुत गरेका थिए।
मन्त्रिपरिषद्मा तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा यसअघि तीन जना अन्तर्वार्तामै गयल भएका कारण नियुक्ति प्रक्रिया रोकिएको थियो।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले नियुक्ति गर्न कानुनी अड्चन नभएको राय दिए पनि छनोट समितिमा नै विवाद भएपछि प्रक्रिया रद्द भएको थियो।
प्रक्रिया रद्द गरेको विरोधमा अन्तर्वार्तामा सहभागी सन्तोषनारायण सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन नै छ।
सर्वोच्चले सुनुवाइका लागि माघमा पेसी तोकेको छ। त्यो बेलासम्म अध्यक्ष नियुक्त नगर्दा सेबोनका धेरै काम प्रभावित हुने भन्दै अर्थमन्त्री पौडेलले राय मागेपछि महान्यायाधिवक्ता रमेश बडालले प्रक्रिया अगाडि बढाउन मिल्ने पत्र पठाएका थिए।
सेबोन अध्यक्ष नियुक्तिमा कांग्रेस र एमालेको स्वार्थ मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो छ। नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि पूर्व अर्थमन्त्री वर्षमान पुनले सेबोन अध्यक्ष नियुक्तिमा स्वार्थ समूहको कुरा नमान्दा माओवादी नेतृत्वको सरकार ढलेको बताउँदै आएका छन्। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने दाउमा रहेका व्यापारिक समूह सेबोनमा आफू अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउने लबिइङमा छन्।
सेबोन गत पुस २१ देखि अध्यक्षविहीन छ। प्रतिनिधि सभाको अर्थ समितिले तत्काल अध्यक्ष नियुक्त गर्न साउन २४ गते सरकारलाई निर्देशन दिएको थियो।