२८ वर्षदेखि बाइक उत्पादन गरिरहेको चिनियाँ ब्रान्ड जोनसेन, नेपालमा स्थापित गर्न चाहिन्छ राम्रै प्रयास

शुक्र गिरी
२०८१ असोज १८ गते ०९:०८ | Oct 4, 2024
२८ वर्षदेखि बाइक उत्पादन गरिरहेको चिनियाँ ब्रान्ड जोनसेन, नेपालमा स्थापित गर्न चाहिन्छ राम्रै प्रयास

काठमाडौं। नेपालमा अहिले युरोपेली र भारतीय ब्रान्डका बाइकहरुको ‘मार्केट सेयर’ सबैभन्दा ठुलो छ। एक दशक अगाडितिर चिनियाँ ब्रान्डका बाइकहरुले पनि नेपाली बजारमा आफ्नो एक खालको स्थान बनाएका थिए। तर पछि सर्भिस र स्पेयर पार्ट्स समयमा दिन नसक्दा केही ब्रान्ड मात्रै बजारमा टिक्न सके। चिनियाँ चारपांग्रे इभी ब्रान्ड नेपाली बजारमा स्थापित हुँदा दुई पांग्रे ब्रान्डहरु ‘रिभाइभ’ नै हुन सकेका छैनन्।

Tata
GBIME

यस्तो अवस्थाबीच यस अघि भारतीय ब्रान्ड हिरो बिक्री गर्दै आइरहेको ज्योति ग्रुप अन्तर्गतको कम्पनी स्यामुकापुले चिनियाँ बाइक नेपाली बजारमा भित्र्याएको छ। यो ग्रुपको एनजीएमले हिरोको लगभग ४० वर्षे यात्रा पुरा गरेको छ। अहिले उक्त ब्रान्ड यो कम्पनीसँग छैन। त्यही अनुभवका आधारमा कम्पनीले अहिले चिनियाँ बाइक बिक्रीमा हात हालेको हो।

जोनसेन चिनियाँ दुई पाङ्ग्रे ब्रान्ड हो। जसले सुरुवाती चरणमा अन्य बाइकहरुका लागि इन्जिन बनाउने गर्दथ्यो। पछि कम्पनीले आफ्नै बाइक बनाउन सुरु गर्‍यो। कम्पनीले यसरी बाइकहरु बनाउन थालेको लगभग २८ वर्षभन्दा धेरै भइसकेको छ।

कम्पनीले नेपाली बजारमा जोनसेन ब्रान्डको एडभेन्चरदेखि अफ रोडर र स्कुटरहरु पनि ल्याएको छ।

आज यही ब्रान्डको एउटा एडभेन्चर र अफ रोडरका दुईवटा मोडलका बाइकहरुसँग हामी टेस्ट राइडमा छौं।

थापाथलीबाट सुरु भएको यात्रा अन रोड हुँदै अफ रोडसम्मको थियो। गोदावरी नगरपालिकाको विकट भेगमा गणिने देउरालीसम्ममा हामीले जोनसेनलाई लग्यौं। काठमाडौंको गज्जबैको दृश्य देख्न सकिने यो भेगमा पुग्ने बाटो भने निकै अप्ठेरो र बिग्रिएको। जोनसेनले सहरसँगै अफरोडका लागि बनाएको बाइक भएकाले हामी यही अप्ठेरो यात्रामा निस्कियौं।

सहज बाटो हुँदै असहज सडकमा पुग्दा यात्रा भने कठिन भएन। बाइक अफ रोड र अन रोड दुवै प्रकृतिको भएकाले त्यस्तो केही अप्ठेराहरु भएको महसुस नभएको हो। राइडरलाई मात्र नभइ पछाडि बस्नेलाई समेत यात्रा ‘अन्कम्फर्टेबल’ भएन।

एडभेन्चर क्यारेरा २१६.५ सीसी पावरको थियो भने अफरोडर जेडएसमा१९६.४ सीसी क्षमताको छ। यसमा भएका इन्जिनहरु सबै एयरकुल्ड कार्बोरेटर हुन्। नेपाली बजारमा पछिल्लो समय लिक्वीड कुल्ड भएको एफआई इन्जिन आइसकेका छन्। तर चीनमा युरो सिक्स मापदण्डका अनुसार गाडीहरु निर्माण कमै मात्र हुने भएकाले यसको इन्जिन पनि त्यही अनुसार कार्बोरेटर एयर कुल्ड आएको हो।

अहिले नेपाली बजारमा इन्धनका अन्य बाइकहरुले बजार लिइरहेको अवस्थामा भने यो चिनियाँ ब्रान्डले इन्जिनको रिफाइनिङमा भने एकदम काम गर्नु पर्ने देखिन्छ। कारण यसबाट आउने आवाज।

अफरोडर जेडएसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टाको छ। एडभेन्चरमा ११० किलोमिटर प्रति घण्टाको छ। जसले अन रोडमा बाइक रेस गर्न कुनै समस्या भएन। स्पिडमा कुनै कमी लागेन।

यी दुवै बाइकमा अगाडि पछाडि डिस्क ब्रेक रहेका छन्। जसले गर्दा ब्रेकिङ सिस्टम ठिकै रहेको अनुभव भयो। तर, अहिले भएका प्राय सबै एडभेन्चर बाइकहरुमा एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस) हुन्छन्। यसमा त्यो सुविधा भने छैन। यसै पनि अफरोडमा बाइक राइड गर्दा प्राय राइडहरुले एबीएस अफ गर्ने गरेका छन्। यो नभएका कारण यसले हामीलाई राइडमा खासै अप्ठेरो पारेको जस्तो लागेन। 

केही कमजोरी भए भए बाइकहरु निकै कन्फर्टेबल छन्। लामो दूरीको यात्राका लागि भने बाइक ‘पर्फेक्ट’ नै छ।

सस्पेन्सन कस्तो छ भने जानी जानी खाल्डोमा बाइक कुदाउँदा यसले राम्रो काम गरेको थियो।

यी बाइकको मूल्य ‘बिल्ड क्वालिटी अनुसार राखिएको छ। बाइकको बिल्ड क्वालिटी भने चित्त बुझ्दो लागेन। बाइकको मूल्य साढे ३ लाख देखि सुरु भएर साढे ५ लाखसम्म पर्छ।

एडभेन्चरको ग्राउन्ड क्लियरेन्स २०० एमएमको रहेको छ। यस्तै, अफरोडरमा २४० एमएको ग्राउन्ड क्लियरेन्स छ। जसले गर्दा जस्तो अफ रोडमा पनि जान सकिन्छ। ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा नेपालको सडक अनुसार राम्रो नै मान्नुपर्छ। अरु बाइकहरुको पनि यही रेसियोमा ग्राउन्ड क्लियरेन्स हुन्छ।

बाइकको टायर साइज अगाडिको १९ इन्च र पछाडि १७ इन्चको रहेको छ। टायर साइजले पनि ग्राउन्ड क्लियरेन्सको कमी महसुस गर्न दिएन।

देउरालीबाट हिमाल खुल्दै जाँदा हामी फेरि छम्पी तिर ओरालो लाग्यौं। यतिबेलासम्म बाइकको ‘फ्यूल कन्जम्पसन’ राम्रै रह्यो। यो बाइकले एभरेजमा एक लिटर पेट्रोलमा ३५ किलोमिटरसम्मको माइलेज दिन्छ। फ्युल क्यापासिटी अफरोडरमा १२ लिटर र एडभेन्चरमा १६ लिटर छ। जसले गर्दा नेपालको जुनसुकै भेगमा ढुक्कसँग जान सकिन्छ।

लुक्स होस् या पर्फर्मेन्स, यी बाइकहरुले दिने कम्फर्ट भने राम्रै छ। तर, चिनियाँ दुई पांग्रे ब्रान्ड भन्ने बितिकै झट्टै विश्वास गरि हाल्ने अवस्था अटो बजार देखिएको छैन। जसकारण यो ब्रान्डलाई स्थापित गराउन स्यामुकापुले राम्रै प्रयास र लगानी गर्नुपर्ने देखिन्छ।