काठमाडौं। सामान्य अवस्थामा काठमाडौं-विराटनगरको एकतर्फी हवाइ भाडा हो- ५७०० रुपैयाँ।
तर, वायुसेवा कम्पनीहरुले अहिले ९९०० रुपैयाँ भाडा उठाइरहेका छन्। सबै हवाई सेवा कम्पनीले बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि भाडा दोब्बर भन्दा बढी लिएका छन्।
शुक्रबार बिहानदेखि अविरल परेको पानीका कारण जताततै बाढीपहिरोले काठमाडौं जोड्ने सबै स्थलमार्ग बन्द छन्। यस्तो मानवीय संकटका बेलामा वायुसेवा कम्पनीहरुले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाएका छन्।
यसरी भाडा वृद्धि काठमाडौं-विराटनगरको मात्र होइन, सबैतिरको बढाइएको छ। दसैं बिदा सुरु भएपछिका लागि खुलेको हवाई टिकटमा पनि भाडा यो स्तरको महँगो छैन, जस्तो अहिले मानवीय संकटका बेला पुर्याइएको छ।
काठमाडौंबाट बाहिरिन अहिले हवाई मार्गबाहेक अर्को उपाय छैन। यही संकटको फाइदा उठाउँदै कम्पनीहरुले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरेका हुन्।
विपद्मा हवाई भाडा महँगो बनाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई डाकेको छ।
प्राधिकरणले वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघसँग सदस्य रहेका सबै वायुसेवा कम्पनीलाई आकस्मिक बैठक बोलाएको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।
‘अहिले काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने अधिकांश सडकमार्ग बाढी र पहिरोका कारण पूर्णरूपमा प्रभावित छ। यही मौकाको फाइदा उठाउँदै अस्वाभाविक भाडा लिन थालेको पाइएको छ,’ ती कर्मचारीले भने,’विपतको समयमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व समेत भुलेर भाडा राख्नु गलत हो। हामीले यसमा हस्तक्षेप गर्नेछौं।’