तोकिएको मूल्य भन्दा तोलामै १६ हजार सस्तोमा बिक्री भइरहेको छ सुन, कसरी भयो सम्भव?



अनन्तराज न्यौपाने
२०८१ असोज १३ गते ०६:१३ | Sep 29, 2024
तोकिएको मूल्य भन्दा तोलामै १६ हजार सस्तोमा बिक्री भइरहेको छ सुन, कसरी भयो सम्भव?

विराटनगर । शुक्रबार सुनको आधिकारिक मूल्य तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँ छ। तर, नेपालभरिका गहनापसल १ लाख ४५ हजारदेखि १ लाख ५० हजारका दरमै कारोबार गरिरहेका छन्।

Tata
GBIME
Zonsen

जेठ १५ यता आयात महसुलका कारण सुन भारतमा सस्तो भएपछि नेपालभरि भारतबाट भित्रिएको अनधिकृत सुन छ्याप्छ्याप्ती भएर घोषित मूल्यभन्दा कममै कारोबार भइरहेको हो। गत जेठ १५ गतेसम्म नेपालमा सुनको आयातमा १५ प्रतिशत महसुल थियो। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले महसुल २० प्रतिशत पुर्‍याए।

भारतमा पनि १५ प्रतिशत रहेकामा साउनमा भारतीय अर्थमन्त्री निर्मला सीताशरणले ल्याएको बजेटमार्फत ६ प्रतिशतमा झारियो। यसरी नेपाल र भारतमा सुनको आयात महसुलमा १४ प्रतिशतको अन्तर छ। यही अन्तरका कारण नेपालका अधिकांश सुनचाँदी पसल अनधिकृत सुन नै प्रचलनमा ल्याइरहेका छन् र तोलाको १ लाख ४५ हजारदेखि १ लाख ५० हजारसम्ममा कारोबार गरिरहेका छन्।

महसुलको ठुलो अन्तरका कारण नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रति तोला १५ देखि १६ हजारले सस्तो छ। दुई हप्ताअघिसम्म भारतीय बजारमा सुन तोलाको १ लाख ४२ हजारका हाराहारीमा थियो। यो सुन अनधिकृत कारोबार आयात भएर नेपालका गहना पसलमा १ लाख ४४ हजारमा बिक्री हुन्थ्यो। यसका कारण तोलाको १ लाख ४५ हजारमा कारोबार भएको हो।

यसैबीच अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाएपछि त्यहाँ सुनमा लगानी बढेको व्यवसायीको भनाइ छ। यसले गर्दा सुनको मूल्यमा वृद्धि हुन थालेको छ। मूल्यवृद्धिको अर्को कारण रुस–युक्रेन युद्धको निरन्तरता अनि लेबनानको आतंकवादी संगठन हिजबुल्ला र इजरायलबीच चर्केको सशस्त्र द्वन्द्व पनि भएको छ।

व्यापारीका अनुसार भारतमा सुनको पछिल्लो खुद्रा विक्री मूल्य तोलाको १ लाख ४७ हजारका हाराहारीमा छ। उक्त सुन नेपालका पसलले १ लाख ४९ हजारमा लिइरहेका छन्। र, वृद्धि भएको मूल्यमा सुन खरिद गर्ने पसलले १ लाख ५० हजारमा कारोबार गरिरहेका छन्।

सामान्यतया गहना पसलले सस्तो पाउँदैमा आफूलाई दैनिक चाहिनेभन्दा बढी सुन खरिद गर्दैनन्। किनकि सुनको मूल्यमा भन्दा बढी उनीहरू ज्याला र जर्तीमा खेल्ने गर्छन्।

‘सुनको मूल्यमा त भोलि अचानक ठुलो ह्रास पनि आउनसक्छ,’ एक व्यवसायीले भने, ‘त्यस बेला राम्रै नोक्सान लाग्छ। त्यसैले हामी सुनको मूल्यबाट भन्दा जर्ती र ज्यालाबाट नाफा आर्जन गर्ने प्रयत्न गर्छौं।’

विराटनगरको एक पुरानो गहनापसल महालक्ष्मी ज्वेलरीका सञ्चालक विमल बेगवानीले प्रति तोला १ लाख ४५ हजारमा कारोबार भइरहेको पुष्टि गरे।

व्यवसायी बेगवानीले बिजमाण्डूसँग भने, ‘हामीले सरकारसँग भारतबराबर महसुल बनाउन बारम्बार अनुरोध गरिरहेका छौँ। अर्थमन्त्रीबाट आश्वासन मात्र आउँछ। तर कार्यान्वयन हुँदैन।’

बेगवानीले दुवै मुलुकमा सुनको आयात महसुल समान नभएसम्म व्यापारमा जटिलता भइरहने उल्लेख गरे। व्यवसायीका अनुसार देशभरिकै पसलमा तोलाको १ लाख ६० हजारको रेट पनि चलेको छ । ग्राहकले यो रेटमा गहना बनाउने हो भने व्यवसायीले जर्ती ६ प्रतिशत मात्र काट्छन्। तर, १ लाख ४५ देखि १ लाख ५० हजारको रेटमा गहना बनाउँदा जर्ती १३ प्रतिशत लाग्छ।

सीमावर्ती बजार मात्र नभई राजधानी लगायत अन्य स्थानमा पनि भारतबाट अनधिकृत आयात भएको सस्तो सुनले नै बजार धानेको देखिन्छ। यही सुनका कारण केही पसलले तोलाको १ लाख ६० हजारमा कारोबार गरेर जर्ती घटाएको व्यवसायीको दाबी छ। कुनै पसलले पनि तोलाको १ लाख ४५ हजारमा गहना बनाएर ६ प्रतिशत जर्ती लिन नसक्ने उनीहरू बताउँछन्।

‘आखिर जताबाट कान छोए पनि उही कुरा हो,’ ती पसलले भने, ‘तोलाको १ लाख ६० हजारमा गहना बनाएर ६ प्रतिशत जर्ती काट्दा र १ लाख ४५ हजारमा बनाएर १३ प्रतिशत जर्ती काट्दा हुने मुनाफाको अंश उही हो।’

चुनौती दिँदै उनले थप भने, ‘नेपाल सरकारले सुनको महसुल भारत बराबर बनायो भने त्यसपछि ६ प्रतिशत जर्ती लिएर देखाऊन्। त्यति बेला मात्र बहादुरी गरेको ठहर्छ।’

विराटनगरलगायत सीमावर्ती बजारका व्यवसायीले १ लाख ६० हजारमा दरमा गहना बनाएर दिँदा जर्ती ६ प्रतिशत काटिरहेका छन्।

विराटनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष शशिभूषण साहले भारतले सुनको आयात महसुल ६० प्रतिशतले घटाएर असल कारोबारलाई प्रोत्साहन गरेको बताए।

अध्यक्ष साहका अनुसार भारतमा सुनको महसुल १५ प्रतिशत हुँदासम्म त्यहाँ वैध रूपमा आयात भएको सुनको कारोबार ३० देखि ४० प्रतिशत मात्र थियो। बाँकी सुन नेपाल, बंगलादेश, बर्मा, भूटान र चीन लगायतका छिमेकी देशबाट अनधिकृत पैठारी भएर पुग्थ्यो।

‘तर भारतीय अर्थमन्त्री सीताशरणले एकाएक महसुल कटौती गरेर सुनको व्यवसायलाई शतप्रतिशत वैध बनाएकी छन्। सुशासनको योभन्दा ठुलो नमुना अर्को के हुनसक्छ’, उनको भनाइ थियो।

बढ्यो भारुको बिक्री मूल्य

नेपालमा जेठ १५ यता अनधिकृतरूपमा सुनको आयात तीव्र भएपछि भारतीय रुपैयाँको बिक्री मूल्य पनि १६४ पुगेको छ।

जेठ १५ अघिसम्म आयात महसुल नेपालमा सस्तो र भारतमा महँगो भएकाले जेठ नेपालबाट भारततर्फ सुनको अनधिकृत निर्यात हुने गथ्र्यो। त्यसबेला भारतमा अनधिकृत रूपमा पुर्याइएको सुनको भारु आएर नेपालमा यसको मूल्य घटेको थियो। जसअनुसार भारु १ सयको सरकारी मूल्य नेरु १६० भए पनि यो मूल्य घटेर १५५ सम्म पुगेको थियो।

तर अब परिस्थिति ठिक उल्टो भएको भएको छ। विराटनगरका सटही काउन्टरले भारु १ सय विक्री गर्दा नेरु १६३ देखि १६४ सम्म लिन थालेका छन्। किनकि सुनका कारोबारीलाई भारतबाट सुन ल्याउन बढीभन्दा बढी भारु चाहिएको छ र यसको माग ह्वात्तै बढेको छ।

विराटनगर पारिको भारतीय बजार जोगबनीस्थित कलकत्ता क्लोथ स्टोरका सञ्चालक कमल तापडिया सिकन्दरका अनुसार अहिले जोगबनीका व्यवसायी भारु १ सयका लागि नेरु १६२ देखि १६३ रुपैयाँसम्म तिरिरहेका छन्। जबकि साउन ११ पहिले नेपाली १५८ रुपैयाँका दरले भारु फालाफाल पाइन्थ्यो।

जोगबनीको किराना पसल लक्ष्मी जनरल स्टोरका मनोज गुप्ता र मोबाइल सिमको रिचार्ज पसल जोगबनी नेटवर्कका सञ्चालक राजु साहले पनि नेरु १६३ का दरले भारु खरिद गरिरहेको बताए। नेपालका सीमापारिका भारतीय बजारमध्ये जोगबनीमा मात्र नेपाली मुद्रामा कारोबार गरिन्छ।