नेपाललाई भारतीय लगानीकर्ता चाहिएको भए दुई पटक सोच्नुस्, पुँजी ल्याएपछि केही दिइरहनुपर्छ, पूर्वराजदूतको विचार

बिजमाण्डू
२०८१ असोज १० गते १६:११ | Sep 26, 2024
नेपाललाई भारतीय लगानीकर्ता चाहिएको भए दुई पटक सोच्नुस्, पुँजी ल्याएपछि केही दिइरहनुपर्छ, पूर्वराजदूतको विचार


यदि हामी विकासशील राष्ट्रहरुले पश्चिमा राष्ट्रहरुबाट निजी पुँजीको रुपमा क्लाइमेट फाइनान्स भित्र्याउन सकेनौं भने एकदम गाह्रो हुनेवाला छ। हामी सबै पुँजीको अभाव झेलिरहेको अर्थतन्त्रमा छौं। त्यो यथार्थ हो। हेजिङको विषयदेखि राजनीतिक जोखिमलगायत त त्यसमा छँदैछन्। तपाईंहरु प्रयोग गर्नुहुन्छ नि ‘भूराजनीति’ भन्ने शब्द, धन्न मैले प्रयोग गरिनँ, तपाईंहरुले नै उच्चारण गरिदिनु भयो।

Tata
GBIME
NLIC

पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय अखबारहरु पढ्नु भयो भने सबैले अमेरिका, जापानका बैंकहरुको ब्याजदरबारे लेखेका छन्। यो विषयले निकै महत्त्व बोक्यो किनभने यही हो भूराजनीति। नेपालभित्रै तपाईंहरुले आवश्यक आवाज बुलन्द पार्न सक्नु भयो कि भएन भन्ने कुरा महत्त्वपूर्ण हो। 

नेपालको जलविद्युत सम्भावना कतिखेर विकसित हुन्छ भने जतिखेर तपाईंहरु ‘मेगा इकोनोमी’ बनेर उत्पादित सबै बिजुली आफैं खपत गर्नसक्नु हुन्छ, त्यो अहिलेको अवस्थामा कठिन देखिन्छ। अर्को भनेको उत्पादित बिजुली भारततर्फ बेच्ने। बंगलादेश लगायतका देशमा बिजुली पुर्‍याउने कुरा पनि ठिकै छ तर, भारत नै नेपालको लागि बिजुलीको सबैभन्दा ठूलो बजार हो।

नेपालमा तपाईंले बनाउने सबथोकको बजार भनेकै भारत हो। नेपालमा उद्योग लगाएका सबैलाई यो एकदम राम्रोसँग थाहा छ भन्नेमा मलाई कुनै शंका छैन। यसलाई स्वीकार्नै पर्छ। हामीलाई नेपालको बिजुली भारत निर्यात गर्न किन २० वर्षभन्दा बढी लाग्यो? त्यसमा पनि त भूराजनीति सल्बलायो होला त, तर त्यसलाई चिरेर हामी अघि बढ्यौं त। 

अरुण जलविद्युत परियोजना अघि बढेकोमा मलाई एकदम खुसी लागेको छ। यो परियोजना सफल भए नेपाल र भारतबीच व्यापार नाफा भयो भनेर कसले गुनासो गर्छ त्यो हेरौंला। यसले नेपाल र भारतबीचको व्यापारमा व्यापक परिवर्तन ल्याउन सक्छ।

मैले आफ्नो जीवनकालभर किन भारततर्फ व्यापार नाफा भइरह्यो भन्ने प्रश्नको जवाफ दिइरहेको छु। आफूसँग भएको क्षमतालाई उच्चतम ढंगले उपयोग गर्न सक्नुपर्छ। चाहे दिल्लीमा होस् वा काठमाडौंमा जीवनशैली यही सिद्धान्तमा अघि बढाउनुपर्छ। तर, मसँग एउटा प्रश्न छ। तपाईंहरुलाई भारतको पनि पुँजी चाहिएको छ, स्टेट बैंक अफ इन्डिया जो हाम्रो ठूलो प्लेयर पनि यहीँ छ। तर, यो सजिलो काम होइन, किनभने हामी पनि पुँजी अभाव झेलिरहेको अर्थतन्त्र हौं। 

नेपाललाई जलविद्युतमा भारतीय लगानीकर्ताको खाँचो परिरहेको भनिन्छ। नेपालको जलविद्युत निर्माणमा भारतीय ऊर्जा उत्पादकहरुको साथ खोजेको भनिन्छ। तपाईंहरुलाई साँच्चिकै भारतीय लगानीकर्ता चाहिएको छ? दुई पटक सोच्नुस्। यो एकदमै सहजरुपमा हुँदैन भन्नेमा स्पष्ट हुनुस्। अरुलाई राम्रो गर्छु भनेर हुने होइन। तपाईंहरुले बुझ्नुस् कोही लगानीकर्ता भारतबाट नेपालमा लगानी गर्न आउँछ भने तपाईंहरुले लामो समयसम्म केही न केही दिइरहनुपर्छ।

जब हामी भारतमा व्यापारको कुरा गर्छौं, अमेरिका, युरोपलगायतका देशका ठूला कर्पोरेसनलाई भारत ल्याउन कहाँ सजिलो छ र ! कुराकानीले मात्रै कहाँ सम्भव हुन्छ र ! त्यसमा पनि भूराजनीतिजस्तै इकोनोमिक पावर पनि ठ्याक्कै एउटै हुन्छ। पावर ब्यालेन्स कै कुरा आउँछ।

नेपालले अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या के हो थाहा छ, म भारतको दृष्टिकोणबाट भन्छु। नेपालमा ‘इज अफ डुइङ बिजनेस’भन्दा ‘कस्ट अफ डुइङ बिजनेस’ एकदमै बढी छ। जब हामी ठूलो हुँदै थियौं, डाबर, आइटीसी, युनिलिभर लगायतका कम्पनीमा जागिर खाने सपना देख्थ्यौं। यिनै कम्पनी जब ठूलो हुँदै गए उनीहरुले नेपाललाई आफ्नो पहिलो लगानी गन्तव्यको रुपमा छाने। आजको दिनमा तन्नेरी स्टार्टअप जसले राम्रो गर्छ उसले आफ्नो लगानी गन्तव्यको रुपमा ‘एट्लान्टिक ओसियन’ क्षेत्रलाई छान्छ। सिलिकन भ्यालीलाई चुन्छन्। त्यति धेरै राम्रो गर्न सकेनन् भने दुबई र सिंगापुरलाई आफ्नो लगानी गन्तव्य बनाउँछन्। 

यो एकदमै जटिल र कठिन काम हो। तपाईं नेपालीहरुले बुझ्नुपर्छ, तपाईंहरुको आफ्नो स्वार्थ हुन्छ। आफ्नो आवश्यकता हेर्नुहुन्छ। तपाईंहरुले कोसँग डिल गर्दैछु भन्ने प्रश्न सधैं रहिरहन्छ। त्यो प्रश्न भनेकै ‘लेभरेजे’ हो। त्यसैले तपाईंहरु आफैंले निर्णय लिनुपर्छ, यदि त्यस्ता लगानीकर्ता सही छन् भन्ने लाग्यो भने मलाई विश्वास गर्नुस् उनीहरुले नेपालमा धेरै कुरा भित्र्याउन सक्छन्।

उनीहरुले प्रविधि, पैसा वा आफ्नो विज्ञता मात्रै होइन उनीहरुले भूराजनीतिक सुविधा पनि सँगै लिएर आउँछन्। त्यो पक्षबाट पनि नेपालले सोचेर आफूलाई तयार गर्नुपर्छ। नेपालका लागि ऊर्जा क्षेत्र नै सबैभन्दा उत्तम देखिएको छ। यसले नेपाललाई खोजेकोजस्तो आउटपुट दिन सक्छ।   

नेपालका लागि यस्तो समय आएको छ जसमा आफूले फोर्सफुल्ली गर्न सक्ने क्षेत्रमा नजर घुमाउनु अत्यन्त जरुरी देखिन्छ। भारतबाट सुरु गरे हुन्छ किनभने तपाईंहरुले राम्रोसँग चिन्नुहुन्छ र कम्फर्टेबल हुनुहुन्छ।

तपाईंहरुले कहिल्यै सोच्नुभएको छ, नेपालले आफ्ना दूतावासहरुमा काउन्सिलरभन्दा पनि यस्तो डेडिकेटेड व्यक्ति राखोस् जसले लगानीकर्ता खोज्न सकोस्। धेरै देशहरुले यो काम गरिरहेका छन्।

भारतले ‘इन्डिया इन्भेष्टमेन्ट सेन्टर’ स्थापना गरेको थियो। तर, त्यसले काम गर्न नसकी खारेजी भयो। अब फेरि भारत सरकारले विश्वभर ‘इन्भेष्ट इन्डिया’ अभियान सुरु गर्दैछ। काउन्सिलर (इकोनोमिक) राख्ने होइन, जसको काम सहुलियत व्यापार वा नि:शुल्क व्यापारका कठिन एजेन्डामा नेगोसिएट गर्छन्। 

मन्त्रालयहरुसँग छलफल गर्‍यो अनि काम सकियो, न त उसले कुनै व्यापारी वा सम्भावित लगानीकर्ता चिनेको छ। त्यस्ता व्यक्ति खोजेर राख्नुस्। नयाँ दिल्लीमा मात्रै राख्ने होइन। दिल्लीको बाह्रखम्बा रोडदेखि विदेश मन्त्रालय धाउने व्यक्ति राख्ने होइन। बैंङ्लोर, हैदराबाद, चेन्नईसहितका सहरसहित टाढा टाढाका अरु धेरै देशमा त्यस्ता सम्पर्क सूत्र तयार पार्नुस्। लखनउ, उत्तराखण्ड, बिहार नछुटाउनुस्। यी तीन ठाउँ नेपालका लागि तुरुन्तै काम बन्न सक्ने सम्भावनाहरु हुन्। भारतमा उपलब्ध हरसम्भव अवसरहरु टिप्न नछुटाउनुहोस्।

 गत वर्ष मात्रै भारत संसारकै सबैभन्दा ठूलो आबादी भएको देश बन्यो। मान्छेले भन्लान् ‘उस से क्या फरक है, इतना ज्यादा लोग!’ यस्तो दृष्टिकोण राख्नेहरुले जेसुकै भनुन् तर भारत आज यो मामलामा सबैभन्दा माथि छ न कि अरु कुनै देश। अन्य मामलामा अरु देश त्यसरी सबैभन्दा माथि पुग्लान्। नेपालसँग भारतको प्राकृतिक सम्बन्ध छ जुन अरु कुनै पनि देशसँग छैन। त्यो फाइदा नेपाललाई छ।

आजको दिनमा भारत पाँचौं शक्तिशाली अर्थतन्त्र भएको मुलुक हो। भारतलाई तेस्रो शक्तिशाली अर्थतन्त्र बन्न अब कुनै पनि कारणले रोक्न सक्दैन। भारतले खाँदै, निदाउँदै गरेपनि त्यो स्थान हासिल गर्छ। किनभने भारतको औसत आर्थिक वृद्धिदर ७.५ देखि ८ प्रतिशत छ। सम्भावना उच्च छ। मैले त के देख्छु भने नेपाली लगानीकर्ताले भारतमा लगानी गरेको। नेपाली लगानीकर्ताहरु एकदमै सार्प हुने र मेहेनत गर्ने हो भने त्यो पनि सम्भावना रहन्छ।   

अब अर्को क्षेत्र नेपालले ठूलो उपलब्धी हासिल गर्न सक्ने भनेको पर्यटन हो। म मंगलबार अबेर मात्रै काठमाडौं ओर्लिएको हुँ। ५ वर्षपछि म काठमाडौं आएँ। मलाई एकदमै खुसी लाग्यो किनभने मैले एकदमै सफा काठमाडौं देख्न पाएँ। धेरै मान्छेहरुले कसको कारणले हो भन्छन् तर, म त्यसमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु।

अर्को कुरा भनेको एकदमै व्यस्त काठमाडौं देख्दा खुसी लाग्यो। हुन त एकथरी मान्छेले भन्लान् सवारीसाधन बढ्दा प्रदूषण बढ्यो तर म भने बढीभन्दा बढी आर्थिक गतिविधि भइरहेको देख्दा खुसी भएँ। कोरोना महामारीलाई चिरेर नेपाल धेरै अघि बढ्न खोजिरहेको मैले पाएँ। त्यो प्रेसरलाई सधैं कायम राखिराख्नुस्। यसले नै भविष्यमा राम्रो काम हुँदैछ भनेर सन्देश दिन्छ। 

म तपाईंहरुलाई आफ्नै क्षेत्रमा के भइरहेको छ भन्छु। काठमाडौंको पुरानो क्षेत्र ठमेल। कसैले मलाई भन्यो यो संसारको सबैभन्दा ठूलो बार भएको क्षेत्र हो। म त के भन्छु भने ठमेल सबैभन्दा लामो बार भएको क्षेत्र भयो भने के फरक पर्‍यो र। त्यसमा आफ्नो जिम्मेवारी र नैतिकता भुल्नु भने हुँदैन। यदि यस्तो भयो भने सबैभन्दा ठूलो ग्राहक को हुन्छ थाहा छ? कुनै शंका छैन, भारतीय नै हुनेछन्। भारतीय नै हुन् जोसँग धेरै पैसा छ र नेपाल घुम्न आउने रहर उच्च छ। भारतीयसँग नेपाल आएर खर्चिने र बस्ने क्षमता छ। पर्यटनलाई ‘टेकन फर ग्रान्टेड’ गर्नु भएन। कसरी त्यतिकै छोड्न सकिन्छ। 

तपाईंहरु कसरी भन्न सक्नुहुन्छ नेपाल एयरलाइन्सले दैनिक ४ वटा उडान काठमाडौंबाट दिल्ली गर्थ्यो अहिले जम्मा एउटा मात्रै गर्छ भनेर। कहिलेकाहीँ त त्यो एउटा पनि हुँदैन। तपाईंहरुले यसलाई जसरी पनि फेर्नैपर्छ।

भारतीयहरु नेपालमा बिहे भोज, क्यासिनो वा मन्दिर दर्शन गर्न मात्रै आउने होइन, उनीहरुसँग खर्चिन सक्ने पैसा धेरै छ त्यसलाई नेपाल ल्याउनेमा सोच्नुस्। त्यसरी खर्चिन सक्ने वर्गलाई लक्षित गर्दै भारत पुग्नुस्। मैले व्यापार कसरी गर्नुपर्छ भनेर भन्न खोजेको होइन, यसमा काम गर्न  सकिन्छ भनेर भनेको हो। यो नेपालले तुरुन्तै गरेर आफ्नो आर्थिक हैसियत उठाउन सक्ने ‘टु डु लिस्ट’ भित्रै पर्नुपर्छ। 

त्यसैगरी, शिक्षामा धेरै गर्न सकिन्छ। मसँग दिल्लीमा एउटा कम्पनी छ १०-१२ वर्ष पुरानो। कोचिङ क्लासका लागि यो एकदमै राम्रो भएको छ। आइआइटीलगायतका प्रसिद्ध शैक्षिक संस्थामा भर्ना परीक्षाका लागि कोचिङ निकै लोकप्रिय बनेको छ। म विगत ८-९ महिनादेखि नेपालमा काम गर्ने कोही छ भनेर खोज्दैछु, तपाईंहरु पनि आफ्नै शैक्षिक संस्था होलान् त्यसमा केही छैन। मैले भन्न खोजेको यसमा पनि ठूलो अवसर सृजना गर्न सकिन्छ। 

त्यसैले नेपालले व्यापार गर्न सजिलो वातावरण निर्माण गर्नुको विकल्प छ। चाहे त्यो जग्गा अधिग्रहण, कर, कर्पोरेटलगायत अरु पक्षमा के कस्ता सहजीकरण गर्न सकिन्छ त्यो विश्लेषण गर्नुपर्छ। ‘इज अफ डुइङ बिजेनेस’का लागि आवश्यक पक्षमा विचार पुर्‍याउनुपर्छ। त्यो नेपाल आफैंले गर्ने हो। नेपाललाई लगानीको आकर्षक गन्तव्य वा घुम्ने गन्तव्य बनाउन नियमनको पाटोमा के गर्दा सहज हुन्छ त्यसमा सोच्न र काम गर्न ढिलो गर्नै हुँदैन। 

अहिले यस्तो समय हो विश्वभर अनेक किसिमका तनाव आइपरेका छन्। तर, दक्षिण एसिया त्यसमा पनि भारत र नेपाल यस्तो गन्तव्य हुन् जहाँ स्थिरता छ। कुनै किसिमको तनाव छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकाल चलाउँदै हुनुहुन्छ। यो यस्तो सरकार हो जसले आर्थिक वृद्धिलाई ‘पम्प’ गरिरहेको छ। भारतलाई आकर्षक लगानीको गन्तव्य बनाउने काम भारत सरकारले गरिरहेको छ। त्यसका लागि नेपालले पनि आफैं काम गर्नुपर्छ।

(नेपालका लागि भारतका पूर्वराजदूत मञ्जिव सिंह पुरीले बुधबार नेपाल-भारत उद्योग वाणिज्य संघको साधारण सभामा व्यक्त गरेको विचारको सम्पादित अंश)