
सन् २०२४ को मार्चमा वर्ल्ड इकोनोमिक फोरमले विश्वभरका ९० युवालाई ‘योङ ग्लोबल लिडर’का रुपमा छान्यो। ४० वर्ष मुनिका उनै ९० युवाहरूमध्ये एक हुन् नेपालका उद्यमी लोकेश तोदी।
चेन्ज मेकर अर्थात् आफ्नो कारण देश र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने र नेतृत्व लिनसक्ने खुबी भएका युवाहरूलाई वर्ल्ड इकोनोमिक फोरमले हरेक वर्ष लिडरका रुपमा छनौट गर्छ। लोकेश अघि गगन थापा, छिरिङ लामा र निर्वाण चौधरी जस्ता आफ्नो क्षेत्रमा अब्बल युवाहरूले यो अवसर पाएका थिए। कमैले पाउने यो उपलब्धिलाई धेरै ठूलो स्वरले सुनाउनु रिलायन्स ग्रुपका निर्देशक तथा अवसर इक्विटीका अध्यक्ष लोकेशको स्वभाव भने होइन।
मध्यम र निम्न मध्यम वर्गीय नेपाली घरहरूमा निकै चल्तीमा रहेको यति कार्पेट उत्पादन गर्ने कम्पनी रिलायन्स ग्रुप लोकेशको पारिवारिक विरासत हो। तर यसमा प्रवेश गर्नुअघि उनले अमेरिकामा ठूला कम्पनीहरूका लागि काम गरेर आफूलाई प्रमाणित गरिसकेका छन्।
हजुरबुवा मदनलाल अग्रवालले शून्यबाट सुरु गरेको पारिवारिक व्यवसायमा आबद्ध हुन नेपाल फर्किनुअघि उनले सिकाइका धेरै चरणहरू पार गरे। ग्लोबल लिडरका रुपमा छानिनुलाई विश्वभरका फरक-फरक विधाबाट आएका आफूजस्तै अन्य धेरै युवाबाट थप सिक्ने मौकाका रुपमा लोकेशले लिएका छन्। उनकै भनाइमा लोकेश चुपचाप काम गर्नु र परिणाम निकाल्नुमा विश्वास गर्छन्।
उनले नै लिड गरेको अवसर इक्विटी नेपालकै पहिलो लाइसेन्सप्राप्त प्राइभेट इक्विटी फण्ड हो जसले विभिन्न परियोजनाहरूमा २०० करोडभन्दा बढी लगानी गरिसकेको छ।

लोकेशको पारिवारिक विरासत रिलायन्स ग्रुप नेपालले उत्पादन, ट्रेडिङ, उर्जा तथा वित्तीय सेवाको क्षेत्रमा काम गर्छ। उनले निर्देशकका रुपमा कार्पेट उत्पादन गर्ने कम्पनी यति पोलिकेमलाई नजिकबाट हेरिरहेका छन्। यस्तै उनले नै लिड गरेको अवसर इक्विटी नेपालकै पहिलो लाइसेन्सप्राप्त प्राइभेट इक्विटी फण्ड हो जसले विभिन्न परियोजनाहरूमा २०० करोडभन्दा बढी लगानी गरिसकेको छ।
लोकेश यल युनिभर्सिटीबाट एमबीए सकेर सन् २०१४ मा नेपाल फर्किएका हुन्। एक दशकअघि नै नेपाल फर्किएर पारिवारिक व्यापारमा आबद्ध भएका लोकेशले अमेरिकामा रहँदा फर्च्युन ५०० मा पर्ने विभिन्न कम्पनीहरू तथा इजरायलको अर्थ मन्त्रालयका लागि काम गरेका थिए। एनलाइसिस ग्रुपमा सिनियर एनालिस्टका इन्टेल, माइक्रोसफ्ट, बैंक अफ अमेरिका, जेपी मोर्गान, टोयोटा, ब्रिटिस पेट्रोलियममा आर्थिक विज्ञका हिसाबले सेवा दिएका लोकेश यतिबेला आफ्नो कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा उभ्याउने आकांक्षाका साथ काम गरिरहेको बताउँछन्।
++
लोकेशका हजुरबुवा मदनलाल अग्रवाल सुनसरीको धरान बजारमा पुर्ख्यौली व्यापार गर्थे। धरानमा मदनलालका पिता डेडराज कपडाको ठूलो पसल चलाउँथे। त्यो कारोबार होलसेल र खुद्रा दुवै प्रकारको थियो। उनको पसलमा कपडा लिन पूर्वी पहाडको धनकुटा, तेह्रथुम, खोटाङ र भोजपुरदेखिका व्यापारी तथा सर्वसाधारण आउथे। विराटनगरमा औद्योगिकीकरणको लहर चलेसँगै मदनलाल आफ्ना भाइहरूसँगै विराटनगर आएर उद्योग व्यापारमा सक्रिय भएका थिए। विराटनगर आएपछि मदनलालले आफ्ना भाइहरूसँग मिलेर एमसी ग्रुप स्थापना गरे।
मदन उनै हुन् जसको मारवाडी समुदायका व्यवसायीमा पहिलो पटक हुलाक टिकटमा तस्बिर अंकित छ। उनले विद्यालय र अस्पताल निर्माणजस्ता परोपकारी काममा ठूलो रकम खर्चिएका थिए।
एमसी ग्रुपका उद्योग ५० को दशकसम्म पूर्वमा विराटनगरदेखि पश्चिममा नेपालगंजसम्म खुलेका थिए। ट्रेडिङमा आउनुअघि उनीहरू कन्सट्रक्सन बिजनेसमा थिए। यो ग्रुपले विराटनगरमा नेपाल एयरलाइन्सको टिकेटिङ एजेन्टका रुपमा पनि काम गरेको थियो। विराटनगरमा भूपालमानसिंह कार्की परिवारसितको साझेदारीमा स्टिल उद्योग थियो भने काठमाडौंमा गोदाबरी मार्बल। नेपालगंजमा ठूलो राइस मिल पनि चलिरहेको थियो। काठमाडौंमा राजकमल स्पिनिङका नामले ऊनको अर्को ठूलो उद्योग थियो। यसबाहेक यस ग्रुपले जुट, खाद्यान्न र अन्य वस्तुको ठूलो परिमाणमा आयात-निर्यात व्यापार पनि गर्दथ्यो। दक्षिण एसियाली क्षेत्रमै पहिलो पटक नेपालमा पेप्सीकोलाको फ्याक्ट्री स्थापना गर्ने श्रेय पनि यही कम्पनीलाई जान्छ।


१९९८ मा हजुरबुवा मदनलाल बित्दा लोकेश सानै थिए। बिदामा बोर्डिङबाट घर आउँदा हजुरबुवाले सधैँ नातिनातिनालाई भन्थे- ‘तिमीहरू राम्रो पढ्नु, सधैँ राम्रो काम गर्नु।’
लोकेश आफ्ना हजुरबुवालाई अफ्ठेरोमा बाटो खनिदिने त्यस्ता व्यक्तिका रुपमा सम्मान गर्छन् जसका कारण आज नाती पुस्तालाई सहज हिडाइ सम्भव भएको छ।
पुस्तैनी व्यापारको विरासत थाम्ने अवसर लोकेश र उनको संयुक्त परिवारका सबै युवाहरूले सहजै पाएका त छन् तर आफूलाई प्रमाणित गर्न उनीहरूले लामै बाटो तय गर्नुपर्ने हुन्छ।
सानैदेखि बोर्डिङ गएकाले पढाइ सकेपछि अब बुवाआमासँग धेरै समय बिताउँछु भन्ने लोकेशले सोचेका थिए। तर उनलाई फर्किए लगत्तैदेखि नै कामको जिम्मेवारी आइलाग्यो।

वर्ल्ड इकोनोमिक फोरमले योङ ग्लोबल लिडरको रुपमा छान्नुलाई लोकेश अझ बढी जिम्मेवारी थपिएको महसुस गरेका छन्। उनी भन्छन्, ‘यात्रा भर्खरै सुरु भएको छ। काम गर्न धेरै नै बाँकी छ।’
++
लोकेश काठमाडौंको कमलपोखरीमा जन्मिएर त्यही संयुक्त परिवारमा हुर्किए। हजुरबुवाका २ दाजुभाइ अनि बुवाका ३ दाजुभाइ, ४ दिदी बहिनीको संयुक्त ठूलो परिवारमा धेरै ‘कजन’हरूसँग लोकेशको बाल्यकाल बित्यो। आइजे पायनियर र श्री दिवा स्कुलमा केही वर्ष पढेपछि १ कक्षा पढ्नका लागि लोकेश भारत पुगे।
नेपालमा त्यसबेला आन्तरिक द्वन्द्व थियो। त्यसले बच्चाहरूको पढाइमा असर परेको महसुस गरेपछि उनको परिवारका धेरै बच्चाहरू भारतमै शिक्षा लिन पुगेका थिए।
लोकेशले मसुरीको उडस्टक स्कुलबाट स्कुलिङ सकेपछि अमेरिकामा अर्थशास्त्र र राजनीतिशास्त्र विषयमा ग्र्याजुएसन सके। त्यसको ३ वर्ष उनले बोस्टनस्थित एनलाइसिस फर्ममा इकोनोमिक एनालिस्टका रुपमा काम गरे। यल युनिभर्सिटीबाट एमबीए सकेपछि सन् २०१४ मा उनी नेपाल फर्किदा दैनिक १८ घण्टासम्म लोडसेडिङको समय चलिरहेको थियो।
‘नेपालमा मन रमाएन भने अमेरिका नै फर्किने गरिको पढाइ र कामको अनुभव छँदैछ नि!,’ भनेर सोच्ने गरेको लोकेश सम्झन्छन्। सानैदेखि बोर्डिङ गएकाले पढाइ सकेपछि अब बुवाआमासँग धेरै समय बिताउँछु भन्ने लोकेशले सोचेका थिए। तर उनलाई फर्किए लगत्तैदेखि नै कामको जिम्मेवारी आइलाग्यो।
उनी फर्किनु एक वर्षअघि परिवारले हेटौंडामा एउटा डुबेको कम्पनी एभरेष्ट भिनायल किनेको थियो। उक्त कम्पनीलाई लयमा ल्याएर संचालन गर्ने जिम्मेवारीका साथ लोकेश सिधै हेटौंडा पुगे। पुरानो कम्पनीलाई नयाँ नाम दिइयो ‘यति पोलिकेम’। अनि लोकेशले आफ्ना साझेदारहरू तथा कर्मचारीसँग मिलेर यसलाई अघि बढाउन थाले।

‘घरको छानामा सोलार राखेर घर त उज्यालो बनाइएको थियो तर मैले कामको जिम्मेवारी लिएपछि कम्पनीमा केही राम्रो परिवर्तन गर्न नसकेसम्म मनै अँध्यारो भइरहने भयो।‘
लोकेश तोदी
वर्षको ७ महिना हेटौंडा नै बसेर कम्पनीलाई सहज संचालनको वातावरण बनाएका लोकेशले त्यसअघि अमेरिकामा बिताएको समयलाई बिर्साउने गरी आफ्नो काममा निकै ‘इन्जोय’ गरेको सुनाए।
पहिलो कम्पनी संचालनको अनुभव उनले यसरी सम्झिए, ‘अमेरिकाको चमकदमक देखेको मान्छे म फर्किँदा यहाँ पूरै लोडसेडिङको समय थियो। घरको छानामा सोलार राखेर घर त उज्यालो बनाइएको थियो तर मैले कामको जिम्मेवारी लिएपछि कम्पनीमा केही राम्रो परिवर्तन गर्न नसकेसम्म मनै अँध्यारो भइरहने भयो। त्यसैले म यहाँ आएको केही समयमै हेटौंडा पुगें। सुरुका डेढ वर्ष यति पोलिकेमको सेटअप र कम्पनी विस्तारका लागि सघाएँ। परिवार, साथीभाइ, पार्टनर सबै मिलेर हामीले त्यो प्रोजेक्ट राम्रोसँग अघि बढायौं।’

वर्ल्ड इकोनोमिक फोरमले योङ ग्लोबल लिडरको रुपमा छान्नुलाई लोकेश अझ बढी जिम्मेवारी थपिएको महसुस गरेका छन्।
योङ ग्लोबल लिडर क्लास २०२४ मा लोकश अन्य देशका प्रतिनिधिसँग

पारिवारिक व्यवसाय सम्हाल्दै गर्दा लोकेश वर्ल्ड इकोनोमिक फोरम अन्तर्गत ३० वर्ष मुनिका युवाहरू सहभागी हुन सक्ने ग्लोबल सेपर्समा पनि आबद्ध भए। सन् २०१५ मा यहाँ विनाशकारी भूकम्प गयो। त्यो समय करिब डेढ महिना त उनले भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा विभिन्न राहत र सहयोगको काममा बिताए।
उनीहरूले ग्लोबल सेपर्समार्फत त्यसबेला मेलम्चीको तिपनीमा बनाएको स्वास्थ्य केन्द्र अहिले बर्थिङ सेन्टरका रुपमा संचालनमा छ। नेपाल फर्किएको १० वर्षमा लोकेशले यहाँको वातावरण, समस्या र उत्साह जगाउने विभिन्न किसिमका घटना र संयोगहरूसँग जोडिने मौका पाए।
मानवता र करुणालाई कहिल्यै छोड्न नहुने सिद्धान्तका लोकेशमा पैसालाई भन्दा व्यक्तिगत सन्तुष्टि र सर्वजनको हितलाई महत्त्व दिनुपर्छ भन्ने भाव गहिरो गरी हुर्किँदै गयो।
++
लोकेशले आफ्नो मेन्टर मानेका उद्यमी मनोज केडियाले अवसर इक्विटी लिड गर्नका लागि लोकेशलाई उत्प्रेरित गरेका रहेछन्। ‘नयाँ कन्सेप्ट हो तिमीले सक्छौ’ भनेर भरोसा दिएपछि लोकेशले ‘बिग पर्पस’ राखेर काम गरौं भन्ने आँट गरे।
‘हामीले ठूलो साइजको फण्ड ५०० करोड रुपैयाँको टार्गेट दिमागमा राखेर सुरु गरेको प्रोजेक्ट हो। ४५६ करोड रेज भयो। अहिलेसम्म २०० करोड लगानी भइसकेको छ,’ लोकेशले भने।


अवसर इक्विटीको पैसा तत्काल लगानी गर्ने क्षमतालाई आफ्नो ‘स्टेन्थ’ मान्ने लोकेश प्राइभेट इक्विटीको बजार बढाउन चाहन्छन्।लोकेशलाई लाग्छ जीवनमा जे जस्ता अवसरहरू प्राप्त हुन्छन् त्यसैलाई ‘बेस्ट’ बनाउँदै अघि बढ्नुपर्छ।
उनका अनुसार अवसर इक्विटीमा नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ र कुमारी बैंकका साथै अन्य विभिन्न व्यापारिक घरानासम्बद्ध संस्थाहरूको सहभागिता छ। कम्पनीले सबैभन्दा पहिलो प्रोजेक्टका रुपमा हिमपर्वत हाइड्रो प्रोजेक्टमा लगानी गर्यो। रमेश कर्पको लिट्मस केवल, फ्रोजन फ्रेन्च प्राइज फर्स्ट च्वाइस फुड, भिजन इनर्जी हाइड्रो प्रोजेक्ट तथा मेवा इनर्जीमा अवसर इक्विटीले २०० करोड लगानी गरिसकेको लोकेशले जानकारी दिए।
अवसर इक्विटीको पैसा तत्काल लगानी गर्ने क्षमतालाई आफ्नो ‘स्ट्रेन्थ’ मान्ने लोकेश प्राइभेट इक्विटीको बजार बढाउन चाहन्छन्।लोकेशलाई लाग्छ जीवनमा जे जस्ता अवसरहरू प्राप्त हुन्छन् त्यसैलाई ‘बेस्ट’ बनाउँदै अघि बढ्नुपर्छ।
उनी हरेक चुनौतीहरूमा प्रचुर सम्भावना देख्छन्। भक्तपुरमा यतिको फ्याक्ट्री जल्दा त्यसलाई नयाँ रुपमा सिमरामा बनाइयो। अवसर प्राइभेट इक्विटीको सुरुवातमा २ वर्ष पूरै डेडिकेटेड भएर त्यसमै लागेका लोकेश प्रत्येक मानिसमा फरक-फरक इनर्जी लेभल र भाइब्स हुन्छ भन्नेमा विश्वास गर्छन्।
उनले भने, ‘हाम्रो निकै राम्रो ब्राण्डिङ भएको यतिको फ्लोरिङ बिजनेसलाई ग्रो गर्नुछ। हाम्रो कार्पेटमात्र होइन पीभीसी कार्पेट, आर्टिफिसियल लेदर अनि आर्टिफिसियल ग्रास सानो-सानो परिमाणमा निर्यात पनि भइरहेको छ। तर म यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न चाहन्छु। मलाई केही नयाँ काम थाल्न र त्यसलाई सफल बनाउन मन पर्छ किनभने कामले दिने सन्तुष्टि साँच्चै रमाइलो हुन्छ।’
यति ब्राण्डको जत्तिकै विश्वास अवसर इक्विटीले पनि आर्जन गर्ने बाटोमा अघि बढिरहेकोमा उनी उत्साहित सुनिन्छन्।
++
लोकेशको घरमा ब्रेकफास्ट टेबलबाट सुरु भएको व्यापारको कुराकानी दिनभर नै चलिरहन्छ। अढाई वर्षे छोरीलाई स्कुल ड्रप गरेपछि दिनभर उनी काममै व्यस्त हुन्छन्। दैनिक ४ घण्टा उनी देश विदेशका वित्तीय बजार रणनीतिहरूबारे जानकारी लिन्छन्। विश्वचर्चित उद्यमी व्यवसायीहरूको बायोग्राफी पढ्न पनि लोकेशलाई मन पर्छ। पछिल्लो समयमा उनलाई बाराक ओबामाको बायोग्राफीले प्रभावित बनाएको रहेछ।
‘बिलेनियर बन्न मन लाग्नेका लागि पैसा मोटिभेटिङ फ्याक्टर हुन्छ तर मलाई पैसाले ड्राइभ गरेन। पैसाले आफूलाई ड्राइभ गर्ने नभई कसरी त्यो पैसालाई सदुपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण बनिदियो। बरु मलाई फ्यामिली भ्यालु बढी मूल्यवान लाग्यो।’

व्यावसायिक घरानामा जन्मिएका र उद्यममै हुर्किएका लोकेशलाई ‘बिलेनियर’ क्लबले भने कहिल्यै छोएन। कताकता हजुरबुवा मदनलालको परोपकारी छविको प्रभाव नाती लोकेशमा पनि परेको भान हुन्छ।
क्रिकेटका फ्यान लोकेश सानोमा सचिन तेन्दुलकर जस्तै बन्न चाहन्थे। उमेरको एक छेकोमा उनलाई लाग्यो विश्वभर सबैले चिनेका बिल गेट्स जस्तो पो बनुँ कि! तर उमेरसँगै परिपक्वता बढ्दै गयो। सम्झँदै जाँदा लोकेशलाई पैसामा त्यो ‘मोटिभेटिङ फ्याक्टर’ कहिल्यै पनि भएन।
‘बिलेनियर बन्न मन लाग्नेका लागि पैसा मोटिभेटिङ फ्याक्टर हुन्छ तर मलाई पैसाले ड्राइभ गरेन। पैसाले आफूलाई ड्राइभ गर्ने नभई कसरी त्यो पैसालाई सदुपयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण बनिदियो। बरु मलाई फ्यामिली भ्यालु बढी मूल्यवान लाग्यो,’ उनले सुनाए।

उनलाई यति पोलिकेमको बजार बिक्रीका हिसाबले मात्र नभई उद्योगकै रुपमा पनि अन्तर्राष्ट्रिय बजारमा लैजानु छ।
आफू कसरी ‘बेस्ट’ बन्ने र आफ्नो काममा कसरी ‘बेस्ट’ गर्ने भन्ने मात्र सधैँ लागिरहने उनी बताउँछन्। अमेरिकामा प्रोफेसनल करियरमा जमिसकेका लोकेश सबै छोडेर नेपालमै काम गर्न फर्किनुलाई जीवनकै टर्निङ प्वाइन्टका रुपमा लिन्छन्। लामो समय परिवारभन्दा टाढा बिताएका लोकेश ‘परिवारभन्दा ठूलो शक्ति र सुख अन्यत्र कतै हुन्न’ भन्छन्।
उनी अब नेपालमै बसेर आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना बनाइरहेका छन्। अबको १० वर्षमा आफ्नो प्राइभेट इक्विटी फण्डलाई नेपालमा मात्र नभई विदेशमा समेत ‘नामी’ बनाउने उनको लक्ष्य हो। उनलाई यति पोलिकेमको बजार बिक्रीका हिसाबले मात्र नभई उद्योगकै रुपमा पनि अन्तर्राष्ट्रिय बजारमा लैजानु छ।
उनका अनुसार कुनै पनि कम्पनीका लागि नम्बर १ हुने वा धेरै पैसा कमाउने भन्दा पनि ग्राहकका लागि विश्वसनीय ब्राण्ड बन्ने, सहुलियत र सुलभ उत्पादनहरू दिने भन्ने मोटिभ हुनुपर्छ।
‘नाफा कमाउनु व्यापारको सिद्धान्त त हो तर आफ्नो प्रोडक्टलाई लिएर सधैँ फेयर हुनैपर्छ।‘

नम्बर वानमा पुग्ने महत्वाकांक्षाले कहिल्यै लोकेशलाई खुशी बनाएन। भन्छन्, ‘मलाई त आफूले सिके जानेका कुराहरूको प्रयोगले समाजलाई केही योगदान दिन सकुँ र आफ्ना कम्पनीका सबै कर्मचारी र कामदारप्रति न्याय गर्न सकुँ भन्ने लाग्छ।’
आखिर उद्यमीहरूका लागि आफूसँग जोडिएका सबै कामदारहरूको ‘ह्याप्पीनेस’ले नै बढी म्याटर गर्छ।
‘मानिलिउँ कसैले आफ्नो घरमा नाम चलेको हिसाबले यति कार्पेट राख्छ र पहिलो दिनमै त्यो कार्पेट च्यातियो भने हामीमाथिको विश्वास कहाँ पुग्ला,’ उनी भन्छन्, ‘नाफा कमाउनु व्यापारको सिद्धान्त त हो तर आफ्नो प्रोडक्टलाई लिएर सधैँ फेयर हुनैपर्छ।’