बेफुर्सदी बीनाका लागि रिटायरमेन्ट केवल शब्द मात्र, भन्छिन् ‘असल लिडरले डिक्टेट गर्दैन’

भावना शर्मा
२०८१ असोज ६ गते ०९:१८ | Sep 22, 2024
बेफुर्सदी बीनाका लागि रिटायरमेन्ट केवल शब्द मात्र, भन्छिन् ‘असल लिडरले डिक्टेट गर्दैन’


  • ‘तपाई कम्पनी ज्वाइन गर्नुस् न!,’ कसैले गिन्नीलाई प्रस्ताव गर्‍यो।
  • अनकनाउँदै उनले भनिन् : मलाई लाग्दैन म यसका लागि रेडी छु।
  • उताबाट फेरि प्रस्ताव आयो : इन्टरभ्यू त दिनुस्!
  • गिन्नीले उत्तर दिइन् : एकपटक श्रीमानसँग सल्लाह गर्छु है।

गिन्नीले घर पुगेर त्यो दुविधा श्रीमानसँग बाँडिन्। उनको क्षमता र योग्यताको स्मरण गराउँदै गिन्नीलाई श्रीमानले कामका लागि उत्प्रेरित गरे। असाध्यै नर्भस हुँदै गिन्नीले आफ्नो करियर सुरु गरिन्।

Tata
GBIME
NLIC

हाम्रै वरिपरि सुनिने जस्तो लाग्दैन त यो संवाद?

तर, यो संवाद हो अमेरिकाको लिडिङ टेक कम्पनी आइबीएममा काम गर्नुअघि ‘नर्भस’ भएकी एक इन्जिनियर गिन्नी रोमेटीको। जोसँग क्षमता, योग्यता, डिग्री अनि परिवारको साथ सबैथोक थियो, तर पनि आइबीएममा सिस्टम इन्जिनियरका रुपमा सन् १९८१ मै प्रवेश गर्दाताका उनले निकै दबाब महसुस गरिरहेकी थिइन्।

गिन्नी उनै हुन् जो पछि गएर आइबीएमको १०० वर्षको इतिहासमै पहिलो महिला सीइओ बनिन्। ८ वर्ष नेतृत्व सम्हाल्दा उनले कम्पनीलाई जुन उचाइ दिलाइन् त्यसको चर्चा आज पनि उस्तै छ। सन् २०१२ मा कम्पनीको नेतृत्व लिन उनलाई ठ्याक्कै ३१ वर्ष लाग्यो। अनि ४ दशक लामो करियरमा उनले कम्पनीका लागि असाध्यै बोल्ड निर्णयहरु लिइन् जसले आइबीएमलाई विश्व आइटी बजारमा अझ बढी स्थापित बनाउन सक्यो।

उनले आफ्नो कार्यकालमा कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मानिएका डिलहरु गरिन्। उनकै निर्णयमा कम्पनीले ‘रेड ह्याट’ लगायत विभिन्न ६५ वटा कम्पनीहरु अधिग्रहण गर्‍यो। उनकै नेतृत्वमा हो आइबीएमले क्लाउड कम्प्युटिङ र एआईलाई ‘नेक्स्ट लेभल’मा लैजान सकेको।

अनि सुरुवातमा त्यति ‘नर्भस’ सुनिएकी गिन्नीमा त्यतिबिघ्न ‘बोल्डनेस’ कहाँबाट आयो त?

‘कुनै पनि व्यक्तिको जीवनमा त्यो सिफ्ट सम्भव छ यदि हरेक परिस्थितिबाट सिक्ने र त्यो सिकाइलाई निरन्तरता दिने बलियो आकांक्षा राखेर अघि बढिन्छ भने,’ आफूले जगाएको आत्मविश्वास र शक्तिका सन्दर्भमा गिन्नीले अवकाशपछिका अनुभवहरु साझा गरेको किताब ‘गुड पावर-लिडिङ पोजेटिभ चेन्ज इन आवर लाइभ्स, वर्क एण्ड वर्ल्ड’मा भनेकी छन्।

६७ वर्षकी अमेरिकी महिला गिन्नीको करियर इन्ट्रीताकाको त्यो ‘नर्भसनेस’लाई समवयी बीना राणा नेपाली समाज र यहाँका महिलाहरुको परिस्थितिसँग जोडेर हेर्छिन्। उस्तै हाराहारीको उमेर अनि उस्तै संघर्ष र उत्प्रेरणाका कथा।

‘ठ्याक्कै त मिल्छ, होइन र?’

बीनासँग पढाईको अब्बल डिग्री थियो। क्षमता थियो। बलियो पारिवारिक सपोर्ट पनि थियो। तैपनि करियरको भोक मेट्न उनले बुहारी बनेको एक दशक त कुर्नै पर्‍यो।

बीना सुस्तरी भन्छिन्, ‘विश्वका जुनसुकै कुनामा हेरौं न, महिलाहरुको कथा र भोगाइ साझा नै हुन्छ। वर्ग जुन होस्, समाज जस्तो होस्। हाम्रो संघर्ष ढुंगाको काप फोरेर उम्रिने पीपलको जस्तै हो।’

नेपालमा घरानिया भनिने शाह र राणा परिवारसँग जोडिएकी बीनाले पनि अमेरिकामा एकल आमासँगको सामान्य र संघर्षपूर्ण बाल्यकाल भोगेकी उनै गिन्नीको जस्तै ‘नर्भसनेस’ लिएर करियरमा होमिएकी थिइन्। बीनासँग पढाईको अब्बल डिग्री थियो। क्षमता थियो। बलियो पारिवारिक सपोर्ट पनि थियो। तैपनि करियरको भोक मेट्न उनले बुहारी बनेको एक दशक त कुर्नै पर्‍यो।

सन् १९८९ मा तत्कालीन ग्रीनलेज (हालको स्ट्याण्डर्ट चार्टर्ड) बैंकमा ‘इन्ट्री लेभल’बाट प्रवेश गरेकी बीनालाई धेरै भोगाइ, अनगिन्ती सिकाइ र खारिएको अनुभवपछि तीन दशक लामो बैंकिङ करियरबाट अवकाश लिँदा ‘टप म्यानेजरियल लेभल’मा पुर्‍यायो। स्ट्याण्डर्ड चार्टर्ड बैंकको ह्युमन रिसोर्सेस एण्ड कर्पोरेट अफेयर्स विभागलाई १५ वर्षभन्दा बढी समय ‘लिड’ गरेर सन् २०१७ मा बाहिरिएकी उनी बैंकको म्यानेजमेन्ट कमिटी मेम्बर समेत बनिन्।  

उनले कोर बैंकिङ र कर्पोरेट वर्ल्डबाट बिदा लिएको ७ वर्ष नाघिसक्यो तर अहिले पनि उनले गिन्नीले भने झैं ‘पाइला पाइलामा सिकाइको मन्त्र’ छाडेकी छैनन्। उनी बुटवल पावर कम्पनीकी निर्देशक हुन्। न्यूरो लिडरसिप इन्स्टिच्युटकी सर्टिफाइड कोचसमेत हुन्।

सन् २०१८ मा विश्वका १०० टप ग्लोबल एचआर माइन्ड्स अवार्ड समेत पाएकी बीनाले हाल प्रबन्ध निर्देशकका रुपमा हुमशिखा कन्सल्टेन्सी र सिनियर कन्सल्ट्यान्टका रुपमा डोल्मा कन्सल्टिङमार्फत मानव संसाधन तथा व्यवस्थापन क्षेत्रमा आफ्नो योगदान जारी नै राखेकी छन्। बीना जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्षका रुपमा विभिन्न सामाजिक अभियानमा पनि सक्रिय छिन्।

‌‌++

बोल्दा केही बिग्रने पो हो की के बोल्दा के कसो हुने हो भन्ने जस्ता डरले मलाई सधैं घेरिरहने। बिगार्नु भन्दा त चुपचाप बस्नु ठिक भन्ने लाग्दै गयो अनि मैले त बोल्नै छोडें।’

दाङको कोइलाबासमा सम्पन्न शाह परिवारमा जन्मिएकी बीना कक्षा १ देखि नजिकैको भारतीय सहर लखनउमा पढिन्। उद्यमी बुवा रणबहादुर शाहले आफूले चाहेजति पढ्न नपाएकाले आफ्ना ६ सन्तानलाई राम्रो शिक्षा दिने सपना देखेका थिए। चार छोरी र दुई छोरालाई बुवाले लखनउको राम्रो बोर्डिङ र कलेज पढाए।

परिवारकी माइली छोरी बीनाले पढ्नकै लागि सानैमा घर छाडिन्। लखनउको ला मार्टिनियर गर्ल्स स्कुलमा भर्ना हुन जाँदा उनलाई आमाको काख छोड्नुको पीडा निकै थियो। खाने, बस्ने अनि बालसुलभ चञ्चलतामा ‘कम्प्रमाइज’ गर्दै कडा अनुशासन र सिकाइमै बिते होस्टलका दिनहरु।

तर, बोर्डिङमा बस्दाको फाइदा के भयो भने सानैदेखि बीनाले फरक फरक स्वभावका साथीभाईहरुसँग मिलेर बस्न सिकिन्। मानिसहरुलाई बुझ्ने र मिलाएर लैजाने शैली जानिन्। लोरेटो कन्भेन्टमा इन्टरमिडियट अनि लखनउ विश्वविद्यालयअन्तर्गतको इजाबेला थोबर्न कलेजबाट ग्र्याजुयसन सक्दा बीनाले काँचो माटोबाट खारिएको सुन्दर भाँडाको आकार लिइसकेकी थिइन्।

‘अहिले प्रविधिले दुरी भन्ने कुरै मेटियो। अमेरिका यूरोप पुगेका सन्तानसँग चाहेकै समय मुखै हेरेर कुरा हुन्छ। तर पनि साना बाबुनानीलाई स्कुल पठाउँदा बाबुआमाले सयौं किसिमले सोच्नुपर्छ। सम्झनुस् त ६ दशकअघिको समय आमाबुवाले हामीलाई कति मुटु मिचेर घरबाट पर पठाउनुभयो होला। घरमै बसेको भए त कम्फर्ट जोन इन्जोय गर्न पाइन्थ्यो पनि होला!,’ उनले भनिन्।

अहिले पछाडि फर्किएर हेर्दा बीनालाई १ कक्षादेखि नै घर छोड्नुपर्दाको पीडा भन्दा त्यसको सार्थकता बढी महत्त्वपूर्ण लाग्छ।

भन्छिन्, ‘हामी जे बन्यौँ त्यही शिक्षाले त बन्यौँ।’

कोइलाबासबाट सानैमा लखउनको स्कुल पुगेकी बीना त्यहीको कलेजबाट ग्रयाजुएसन सकेर फर्केपछि राम्ररी घरमा बस्न नभ्याउँदै काठमाडौंको सभ्रान्त राणा परिवारकी जेठी बुहारी बन्न आइपुगिन्। शामसन राणासँग बिहे गरेर काठमाडौं आएपछि बीनाको जीवनमा फेरि अर्को ‘सिफ्ट’ आयो।

सानैदेखि बोर्डिङ स्कुलमा बसेकी बीना परिवारमा नहुर्किएकाले समाजले तोकिदिएको ‘परम्परागत बुहारीको भूमिका’मा ‘फिट’ हुन सक्छु कि सक्दिन भन्ने ‘नर्भसनेस’ले छोप्यो। बुहारीले निर्वाह गर्नुपर्ने चालचलन नजान्ने हो कि भन्ने सोच्दा सोच्दै उनी केही समयसम्म त ‘लाटै’ भइन्। डर अरुले केही भन्ला कि भन्ने थियो। बुहारी भएपछि तिमी धेरै ‘केयरफुल’ हुनुपर्छ है भनेर सिकाउने आफन्तहरुका कारण अझ बढी अत्यास भएको थियो बीनालाई।  

‘बोल्दा केही बिग्रने पो हो की के बोल्दा के कसो हुने हो भन्ने जस्ता डरले मलाई सधैं घेरिरहने। बिगार्नु भन्दा त चुपचाप बस्नु ठिक भन्ने लाग्दै गयो अनि मैले त बोल्नै छोडें,’ आफ्ना नर्भसनेसका दिनहरु अहिले सुनाउँदै गर्दा भने बीना हाँसिरहेकी थिइन्।

बीनाको चुपचाप बस्ने र केही नबोल्ने बानीलाई उनका ससुरा इमराल्ड राणाले नियालिरहेका रहेछन्। ‘प्रोग्रेसिभ’ सोच राख्ने भएकाले बाधा उनैले फुकाइदिए।

‘तिमीलाई जे फिल हुन्छ त्यो भन्नु। हामीलाई पनि थाहा हुन्छ तिमीलाई नयाँ घरमा के कस्तो महसुस भइरहेको छ,’ ससुराको त्यो भनाइले बीनालाई ‘कम्युनिकेसन’को कति ठूलो भूमिका हुन्छ भन्ने सिकायो।

‘म कुनै प्रिभिलेजले माथि पुगेको होइन। निरन्तर खटेर सिकेर जानेर नै अघि बढेकी हुँ।मैले लेट ज्वाइन गरें तर पनि ग्रोथ राम्रो सँग लिएँ। लेट ज्वाइन गर्दा काम गर्न सकिन्न भन्नु सोचमै समस्या हो।’

त्यसपछि बीनाले आफ्ना कुराहरु परिवारमा राख्न थालिन्। प्रोग्रेसिभ ससुरा पढेलेखेकी बुहारी घरमा बस्नु हुँदैन करियर बनाउनुपर्छ भन्थे। घरमै बसेर उनले आफूलाई ‘अपस्किल’ गर्ने कामहरु जारी राखिन्। भर्खरै कम्प्युटरमा पहुँच भएको थियो बीनाले घरमै बसेर कम्प्युटरका नयाँ नयाँ सिकाइहरु हासिल गरिन्।

‌‌++

करियरलाई लिएर परिवारको साथ हुँदा हुँदै पनि नसोचेका स्वास्थ्य अड्चन बीनाको जीवनमा आइदियो। तीनतीन पटकको ‘मिसक्यारेज’ले बीनालाई प्रोफेसनभन्दा पनि प्रार्थनातर्फ डोर्‍यायो। पहिलो सन्तान जन्मिएपछि बल्ल बीनाको जीवनमा एकैपटक धेरै घाम उदाए झैं उज्यालो भयो। त्यसअघि भोगेका दुःखका सिलसिला बिर्सन उनी आफैंले आफूलाई गरेको प्रतिबद्धता थियो,’बच्चा स्कुल नजाउन्जेलसम्म फूल टाइम आमा बन्छु।’

जब छोरा ५ वर्ष पूरा भयो अनि मात्र बीनाले आफ्नो करियरका लागि समय निकालिन्।

बीनाले पढाइलगत्तै पारिवारिक जिम्मेवारी उठाइन् अनि बच्चा हुर्काएपछि बैंकको जागिर सुरु गरिन्। आवेदन दिएपछि जाँच लिइयो। त्यसमा पास भएपछि बैंकमा उनको इन्ट्री त भयो तर नेपालमा भर्खर भर्खर खुलेको अन्तर्राष्ट्रिय स्तरको बैंक थियो ग्रीनलेज। बैंकमा कसरी काम गर्ने बीनालाई कुनै आइडिया थिएन। नयाँ वातावरण, साथीभाई कोही चिनेजानेको थिएनन्।

त्यति बेला बैंक पुरै कम्प्युटराइज्ड सिस्टममा गइसकेको थिएन। लेजरमा लेख्नुपर्थ्यो। दिनभर म्यानुअल्ली काम गरेपछि बेलुकी भने त्यसलाई कम्प्युटरमा उतार्नुपर्ने। त्यति ठूलो अफिस तर एउटा फ्लोरमा एउटामात्र कम्प्युटर। कम्प्युटरमा यति लामो लाइन हुन्थ्यो कि घरबाट अफिस आउने समय त हुने फर्किने समयको टुंगो नहुने। काममा हरेक दिनको सिकाइ र कलिगहरुको सपोर्टले बीना सिपालु बन्दै गइन्। बीना ग्रीनलेजका सुरुवाती दिनहरु सम्झिँदा अझै रमाइलो मान्छिन्।

‘कसरी आफ्नो अप्ठ्यारो परिस्थिति एक्सप्लेन गर्दा टिचरले जस्तै गरेर सिकाउने साथीभाईहरु थिए। गज्जबको टिमवर्क थियो!,’ उनले भने, ‘म कुनै प्रिभिलेजले माथि पुगेको होइन। निरन्तर खटेर सिकेर जानेर नै अघि बढेकी हुँ।’

उनी थप भन्छिन्, ‘मैले लेट ज्वाइन गरें तर पनि ग्रोथ राम्रो सँग लिएँ। लेट ज्वाइन गर्दा काम गर्न सकिन्न भन्नु सोचमै समस्या हो। सिक्ने प्रतिबद्धता भयो भने कुनै समस्या हुँदैन। हाम्रो कस्तो माइन्ड सेट भइदियो भने मेरो परिवार भयो बच्चा भयो अब मैले कसरी काम गर्न सक्छु र भन्दै सोचाइले नै आफैंलाई लक गरिदिने। तर मेरो अनुभवले भन्छ आफ्नो डिटरमिनेसन भयो भने बुहारी बन्नु वा आमा बन्नुले करियर थाल्न फरक पार्दैन।’

‌‌++

सानो बेलाको सिकाइ उनलाई बैंकमा काम गरुन्जेल र अहिले पनि काम लागिरहेछ। विविध स्वभावका मानिसहरुसँग डिल गर्न र व्यवस्थापन गर्न उनले स्कुलदेखि नै जानेकी थिइन्। सबैलाई मिलाएर अघि बढ्न सक्ने खुबी भएकी बीनाको विचारमा नेतृत्व लिने भनेको उदाहरणीय रुपमै सबैलाई लिड गरेर रोलमोडल हुने हो जुन उनले बैंकमा तीन दशक गरिन्।

लिडरले अधिकार पाउनासाथ तलकालाई डिक्टेट गर्ने हुँदै होइन। नेतृत्वले त सधैं कोच हुने हो। मेन्टर हुने हो। भेदभाव नगरी समान अवसर दिलाउन पहल गर्ने पनि हो।

नेतृत्व गर्ने सबैको आआफ्नो स्टाइल हुन्छ। बीनाको स्टाइल हो -आफूसँगै टिमलाई पनि ग्रो गर्दै लैजाने। जे हासिल गर्न चाहेको हो त्यसबारे आफूभन्दा तलकालाई बुझाउने रणनीति लिने र साथै काम गरेर नतिजा निकाल्ने। त्यसैले लिडरसिपमा कम्युनिकेसन र टिमवर्क महत्त्वपूर्ण हुन्छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सुत्केरी बिदा लम्ब्याउन तथा महिला र पुरुष दुवैलाई काममा आउँदा आफ्ना साना बच्चा लिएर आउने सुविधा दिलाउन बीनाले निकै पहल गरेकी थिइन्। ३ महिनादेखि ३ वर्षका बच्चालाई ल्याएर राख्ने ठाउँको व्यवस्था गर्नुपर्छ भन्ने टोलीको लिडर उनै बीना थिइन्। यो सुविधाले नै बैंकमा महिलाहरुको करियर दिगो हुन सहयोग पुगेको उनलाई लाग्छ। त्यसपछि त बैंकमा महिलाको म्यानेजेरियल लेभलमा उपस्थितीको प्रतिशत बढ्दै गयो। राजीनामा घट्दै गयो। पुरुषहरुले पनि अफिसमा बच्चा लिएर आउन थाले।  

उनी भन्छिन्, ‘लिडरले अधिकार पाउनासाथ तलकालाई डिक्टेट गर्ने हुँदै होइन। नेतृत्वले त सधैं कोच हुने हो। मेन्टर हुने हो। भेदभाव नगरी समान अवसर दिलाउन पहल गर्ने पनि हो।’

‌+++

रिटायरमेन्ट भन्नु कहाँ फुर्सद लिनु रहेछ र ! बीनाको अनुभवमा बुढो हुँदै गएपछि रेस्पोन्सिबिलिटी जान्छ भन्नु गलत रहेछ। उनी यतिबेला आफ्नी ८९ वर्षकी सासु र डेढ वर्षका नातिनातिनासँग धेरै समय बिताउँछिन्। आफ्ना सन्तानको ग्रोथको समयमा उनीहरुलाई पर्याप्त सहयोग गर्नुलाई उनले आफ्नो जिम्मेवारी ठानेकी छन्। त्यसबाहेकको कन्सल्टिङ वर्क त छँदैछ। अनि सामाजिक कर्म पनि।

त्यसमाथि उनले कहिल्यै नछोडेको कुरा हो सिकाइ । अहिले पनि उनी लिडरसिप र स्किल डेभलपमेन्टका कुराहरु सिक्न कम्प्युटरमा केही न केही सर्च गरिरहेकै हुन्छिन्। भन्छिन्, ‘म हरेक दिन नयाँ सिकाइमा विश्वास गर्छु।’

तर सिक्दै जाने हो, म गर्न सकिहाल्छु नि भनेर प्रतिबद्ध भएर लाग्नुपर्छ। हामीले आफैंलाई पुस गर्ने हो। ब्यारियर ब्रेक गर्ने हो।

हाम्रो समाज महिलाप्रति अनकन्सियस बायस छ। पुरुषको तुलनामा महिलाहरु प्रसस्तै सामाजिक दायित्वमा अल्झिएका हुन्छन्। अनि आफैं अलमलमा परिन्छ।

स्ट्याण्डर्ड चार्टर्ड हुँदै समुदायलाई योगदान गर्नुपर्ने नियम अनुसार कर्मचारीले तीन दिन पाउने ‘पेड लिभ’ले उनलाई उत्साहित बनाउँथ्यो। उनी समुदायका ससाना सहयोगका काममा अघि बढ्थिन्। त्यो बानी आजसम्म पनि छुटेको छैन बरु अझ बृहत् भएर फैलिएको छ। ६ वर्ष अघि जोन्टामा आबद्ध भएदेखि नै उनले जोन्टाका ६१ जना टिम मेम्बरसँग मिलेर समाजमा सकारात्मक परिवर्तन ल्याउने कामहरु गरिरहेकी छन्।

१०० वर्ष पुरानो अन्तर्राष्ट्रिय संस्था जोन्टा नेपालमा भने १२ वर्ष अघि मात्र स्थापना भएको हो। यसमा फरक फरक समुदायका प्रोफेसनल महिलाहरु आबद्ध छन्। डाक्टर, उद्यमी, पाइलट, विषयविज्ञ जस्ता फरक फरक क्षेत्रका महिलाहरु आबद्ध संस्थाले महिला सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको अभियानहरुमा सघाउँदै आएको छ।

उनी भन्छिन्,’हाम्रो समाज महिलाप्रति अनकन्सियस बायस छ। पुरुषको तुलनामा महिलाहरु प्रशस्तै सामाजिक दायित्वमा अल्झिएका हुन्छन्। अनि आफैं अलमलमा परिन्छ। तर सिक्दै जाने हो, म गर्न सकिहाल्छु नि भनेर प्रतिबद्ध भएर लाग्नुपर्छ। हामीले आफैंलाई पुस गर्ने हो। ब्यारियर ब्रेक गर्ने हो।’

+++

जोन्टाले चन्द्रागिरीको मसिने गाउँका ९० घरपरिवारलाई नमुना गाउँ बनाउने अभियानका लागि ‘एडप्ट’ गरेको ४ वर्ष भइसकेको छ। काठमाडौंबाट एक घण्टामै पुगिने भए पनि मसिने गाउँमा न बाटो राम्रो थियो न त एउटा स्वास्थ्य चौकी नै। तामाङहरुको बस्तीमा पसेर स्रोतमा पहुँच नभएका र अवसरबाट बञ्चित महिलाहरुलाई आत्मनिर्भर बनाउने योजना आफैंमा चुनौतीपूर्ण थियो।

तर, जोन्टाले थालेको पहलले आज मसिने गाउँ फेरिँदै गएको छ। उनीहरु यो गाउँलाई मोडल गाउँका रुपमा विकास गरिरहेका छन्। यही गाउँलाई गरेको परिवर्तनका कारण जोन्टाका विश्वभरका ११ सय ३३ क्लबहरुमध्ये जोन्टा क्लब अफ काठमाडौंले पोहोर मात्रै टप ६ क्लबमा पर्दै ‘एक्सिलेन्स इन सर्भिस एण्ड एड्भोकेसी अवार्ड’ जित्यो।

‘अचेल गाउँका कति दिदीबहिनीहरु स्कुटर हाँकेर उकालो ओरालो गर्न थालिसके!,’

यसो भन्दा बीनाको अनुहारमा गज्जबको आत्मसन्तुष्टि झल्कियो।

जोन्टाले मसिने गाउँमा पहिलोपटक स्वास्थ्य चौकी स्थापना गर्‍यो। त्यहाँको स्कुलमा शौचालय बनायो। एउटा पनि स्वास्थ्य चौकी नभएको गाउँमा अब ढुक्कैसँग हेल्थ असिस्टेन्ट बसेर बिरामी जाँच्छन्। विज्ञ डाक्टरहरु गएर बेला बेला हेल्थ क्याम्प संचालन भइरहन्छ। त्यहाँको स्कुलमा लाइब्रेरी बनाउने योजना पनि उनीहरुले बनाइरहेका छन्।

काठमाडौंको दरबार हाइस्कुलमा जोन्टाले बनाएको नमुना लाइब्रेरीकै उदाहरण दिँदै बीनाले पछि पारिएका अन्य समुदायका स्कुलहरुमा पनि नमुना लाइब्रेरी बनाउन आफूहरुले पहल गरिरहेको जानकारी दिइन्।

जोन्टाले दरबार हाई स्कूलमा बनाएको लाइब्रेरी। तस्विर : जोन्टा क्लब अफ काठमाडौं।

कृषि विज्ञ लगेर सिकाउँदै अदुवा र बेसारबाट गाउँमा सुरु भएको सामुदायिक खेती र टनेलका उत्पादनहरु कालीमाटीको तरकारी बजारसम्म आउन थालेको छ। जोन्टाले गाउँका उत्पादनहरुलाई बजारसँग ‘लिंक’ गरिदिएको छ। खेतीपाती र पशुचौपायाबाट हुने आम्दानी राख्न महिलाहरुले बैंकमा खाता खोलेका छन्।

मसिने गाउँलाई परिवर्तन गरेर मोडल गाउँ बनाउने र यही मोडल अरु कुनै दुर्गम गाउँमा लागू गर्नु आफूहरुको लक्ष्य रहेको बीनाले बताइन्।

‘अचेल गाउँका कति दिदीबहिनीहरु स्कुटर हाँकेर उकालो ओरालो गर्न थालिसके!,’यसो भन्दा बीनाको अनुहारमा गज्जबको आत्मसन्तुष्टि झल्कियो।

मसिने गाउँमा खोलिएको स्वास्थ्य चौकी

एउटा उमेर हुन्छ जहाँ सफलताको मापन पोजिसन वा पैसामा गरिन्छ। तर यो समय बीना त्यस्ता ठाउँहरुमा आफ्नो सफलता खोजिरहेकी छन् जहाँ आफ्नो कारण अरुलाई सानै भए पनि खुशी दिन सकिन्छ।