
काठमाडौं। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)-१७ आर्थिक वर्ष २०८२/८३ बाट लागू गर्ने भएको छ।
प्राधिकरणले एनएफआरएस-१७ चालु आर्थिक वर्षदेखि लागू गर्न नसकेपछि कार्यान्वयनको अवधि एक वर्ष पछि धकेलेको हो।
इन्स्योरेन्स कम्पनीहरुले तयारी नपुगेको भन्दै चालु वर्षदेखि एनएफआरएस-१७ लागू गर्न नसकिने बताएका थिए। कम्पनी तयार नभएपछि प्राधिकरण कार्यान्वयनबाट पछि हट्न पुगेको थियो।
प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण नै २०८०/८१ देखि एनएफआरएस-१७ लागू गर्ने सर्तसहित स्वीकृति गरेको थियो।
एनएफआरएस-१७ कार्यान्वयनको प्रक्रिया अघि बढाएर जनशक्ति तयार गर्न निर्देशन दिए पनि प्राधिकरणले तोकिएको अवधिभित्र लागू गराउन सकेन।
प्राधिकरण २०८२ साउनदेखि लागू गर्न कम्पनी र अरु सरोकारवालाहरुसँग छलफलमा लागेको छ। प्राधिकरणले बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखामान बोर्ड, नेपाल बिमक संघ र नेपाल जीवन बिमक संघसँग छलफल गरेको छ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आगामी साउन १ गतेदेखि एनएफआरएस-१७ कार्यान्वयन गर्नका लागि कम्पनीहरुले गम्भीर भएर तयारी गर्नुपर्ने बताए।
‘एनएफआरएस-१७ लागू गर्न कठिन भए पनि कार्यान्वयन गर्नुपर्छ, गर्न सकिन्छ। यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ। नियामक निकाय सहयोग गर्न तयार छन्’, उनले भने।
इन्स्योरेन्स कम्पनीको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिताको स्तर सुधार गरेर अन्तर्राष्ट्रिस्तरको बनाउन एनएफआरएस-१७ लागू गर्न अनिवार्य भएको प्राधिकरणका अधिकारी बताउँछन्। तर, प्राविधिक जनशक्तिको अभावमा कम्पनीहरु सक्षम छैनन्।